नेकपाको सरकारले उपत्यकाको प्राचीन आदिम साम्यवादी संस्थाको रूपमा रहेको जनताको सामूहिक गुठी सबै सरकारीकरण गर्ने, गुठीको काम सरकारवाट मनोनित कर्मचारीहरूले गर्ने, गुठीको सम्पति सरकारले बनाएको गुठी प्राधिकरणले बेचविखनसमेत गर्न पाउने प्रावधानसहितको विधेयक संसद्मा दर्ता गरायो
उपत्यका बाहिरका धेरै जनसमुदायमा गुठी नभए पनि आफ्नो संस्कृति, जात्रा, पर्व आदि सबै चल्ने हुन्छ । तर, उपत्यकाभित्र गुठीविना यहाँका बहुसंख्यक जात्रा, संस्कृति, पर्व आदि केही पनि चल्दैन । उपत्यकाका नेवार समुदायका लागि गुठी भनेको प्राण बराबर नै हो । गुठी र नेवार समुदायका बीचको सम्बन्ध वुझ्न पहिला नेवार समुदाय भनेको के हो भन्ने वुझ्नु पर्दछ ।
नेवार समुदाय भनेको कुनै एक जात होइन । यो कुनै एक धर्म मान्ने सम्प्रदाय पनि होइन । यस समुदायमा हिन्दू तथा बौद्ध धर्म मान्ने दुवैथरी छन् । नेवा मुस्लिम भनेर मल्लकालदेखि बसोवास गरिरहेका मुस्लिम धर्मावलम्बीहरू पनि नेवार समुदायमा छन् । नेवार हिन्दूहरूलाई राजा जयस्थिति मल्लले चार जातमा बाँडेको इतिहास धेरैलाई सम्झना हुनु पर्दछ । नेवार समुदायको हिन्दूहरूमा चार जात अहिले पनि विद्यमान छ ।
नेवार भनेका पृथ्वी नारायण शाहले उपत्यका कब्जा गर्नुभन्दा अगाडि उपत्यकामा रहेका नेवारी भाषा बोल्ने सबै जनता हुन् । पृथ्वी नारायण भन्दा अगाडि यहाँ जो–जो बसोवास गर्न आए, ती नेवार भए । नेवारलाई नेवारहरू नेवा भन्छन्, जसको पूरा अर्थ नेपाल वासी हो । किर्तिपूरलाई नेवारहरू किपू भन्छन, नारायणलाई नारां भन्छन, त्यस्तै गरी नेपालवासीलाई छोटकरीमा नेवा भनिएको हो । नेवार भनेको उपत्यकामा बसोवास गर्ने त्यो वेलाका किराँत, लिच्छवि, मल्ल राज्यकालका बासिन्दाहरू हुन् ।
नेवार समुदायमा गुठीको चलन व्यापक हुनुको कारण यहाँको सभ्यता विकासको आदिम साम्यवादी पृष्ठभूमि नै हो । लिच्छवि र मल्ल राजाहरू तथा उनीहरूसँगै अन्य समुदायहरू भारतवाट आएको इतिहास सिद्ध तथ्य हो । भारत र नेपाल पनि प्राचीनकालमा आदिम साम्यवाद थियो भन्ने इतिहासमा प्रमाणित विषय हो ।
भारतको प्राचीन समाजमा जमीनको स्वामित्व सामूहिक थियो भन्ने विषयमा माक्र्सले पनि कयौं ठाउँमा लेखेका छन् र अन्य इतिहासकारहरूले पनि स्वीकार गरेको विषय हो । भारतमा आदिम साम्यवाद थियो भन्ने कुरा महाभारतको यस श्लोकले पनि स्पष्ट गर्दछ । महाभारतमा भनिएको छ, ‘न वै राज्यम् न राजा न च दण्ड न दाण्डिक आसित्, धर्मेण एव सर्वा प्रजा परस्परम् रक्षन्ति स्म ।’ अर्थात्, प्राचीन कालमा न राज्य थियो, न राजा थिए, न दण्ड थियो, न दण्ड दिने कुनै थिए, धर्मको माध्यमवाट सबै प्रजाले परस्परमा रक्षा गर्दथे ।
मार्क्सको आदिम साम्यवादको परिभाषाभित्र महाभारतको यो भनाइ ठ्याक्कै मिल्दछ । उपत्यकामा अष्टमातृका, नवदुर्गा, कुमारी पूजाजस्ता चलन छ । राजाले कुमारीसँग वर्षको एकपटक अनिवार्य रूपमा पूजाआजासहित खड्ग साटेपछि मात्रै राजा पदमा कायम रहने परम्परा आदिले यहाँ आदिम साम्यवादमा रहने माक्र्सले भनेको मातृसत्तात्मक समाज थियो भन्ने पुष्टि हुन्छ ।
गुठी शब्द संस्कृतको गोष्ठिबाट बनेको हो । आदिम साम्यवादी प्राचीन समाजमा समाजका विभिन्न कामहरू विविध नामका गोष्ठिहरू (गुठीहरू)को माध्यमबाटै हुने गर्दथे भन्ने इतिहासमा प्रमाणित कुरा हो । त्रिविले प्रकाशित गरेको र प्रशिद्ध इतिहासकार धनबज्र बज्राचार्यले संम्पादन तथा अनुवाद गर्नु भएको ‘लिच्छविकालिन अभिलेखहरू’ पुस्तकमा आजभन्दा १५ सय वर्ष अगाडिका शिलालेखहरूमा गोष्ठिहरू (गुठीहरू)को वर्णन रहेको छ । ती शिलालेखहरूमा पानी गुठी, प्रवहण (पारवहन अर्थात यातायात गुठी), मल्ल युद्ध गुठी (मनोरन्जन गुठी), बाजा गुठी, वेदअध्ययन गुठी, धूप गुठी, बत्ती गुठी, झन्डा ध्वजा गुठी, औषधालय गुठी, आदिको उल्लेख गरिएको छ ।
अहिले मठ मन्दिरमा भेटी चढाएजस्तै विभिन्न सामाजिक तथा परोपकारी कामका लागि अक्षयकोष खडा गर्न नगद दान दिएजस्तै परापूर्वकालमा जग्गा जमिन दान दिने प्रचलन थियो । जुनवेला मुद्राको प्रचलन थिएन, त्यसवेला देवीदेवताको पर्व पूजा जात्रा चलाउन वा मठमन्दिर, देवस्थल आदि जस्ता धार्मिकस्थल वा अन्य सामाजिक परोपकारी र सांस्कृतिक कार्यका लागि जग्गा दान दिने प्रचलन स्वाभाविक थियो ।
परोपकारी भावना भएका मान्छेहरू समाजमा प्रशस्त भएका कारण गुठीको जग्गा जमिन धेरै थियो । त्यही जग्गा जमिनको आयस्ताले धर्म, संस्कृति, परम्परा तथा परोपकारी काम अघि बढिरहेको थियो । गुठीको सम्पत्तिमा आँखा लगाउनु भनेको सात गाई र सात कन्या मारेजस्तै महापाप हो भन्ने कुरा जनजनको दिमागमा थियो । तर, नेपाल एकीकरणपछि जब तत्कालीन राजा रणबहादुर शाहले गुठीको सम्पत्तिमा आँखा लगाए, तब राजाले त गुठीको सम्पत्तिमा बद्मासी गरे भने हामीले किन नहुनू ? भन्दै केही आपराधिक स्वभावका मानिसहरू सतहमा प्रकट भए ।
समाजका विभिन्न कामहरू सामूहिक रूपमा गर्ने संस्था भएकोले गुठी भनेको आदिम साम्यवादी संस्था हो । यो सामन्तवादको उपज होइन । यो नेपाल उपत्यकाको आदिम साम्यवादी समाजको उपज हो । यसको जड यति मजबुत भयो कि नेपाल उपत्यकामा सामन्तवादको चरम अवस्थामा पनि यो कायम रहन सक्यो । जमिनमाथिको सामुहिक स्वामित्वलाई क्रमशः नष्ट गर्दै व्यक्तिगत स्वामित्वमा लग्न थालिए पनि गुठी चलाउनका लागि जमिन दान गर्ने र आर्थिक कोष बनाउने चलन कायम रह्यो । गुठी र गुठीको सम्पतिलाई धार्मिक तरिकाले संरक्षण गरेर यसलाई अझ मजबुत बनाउने काम भयो । गुठीको सम्पतिलाई देवश्व भनियो र यसको अपचलन गर्नुलाई महापाप भन्दै राज्यले पनि अपराध घोषित ग¥यो ।
पृथ्वी नारायण शाहले उपत्यकाका राज्यहरू कब्जा गरे पनि गुठीलाई कब्जा र नष्ट गर्ने हिम्मत गरेनन् । तर, राजा रणबहादुर शाहले पहिलोपटक गुठी तहसनहस बनाउने प्रयास गरे । उनले गुठी सम्पति कब्जा गरे । जसलाई गुठी हरण भनियो । तर, त्यो काममा उनी पूर्ण सफल हुन सकेनन् । राणा शासनकाल र पछि महेन्द्र तथा वीरेन्द्र कालमा गुठीलाई कमजोर बनाउन यसको सम्पति र संस्कृतिमाथि अनेक तरिकाबाट हस्तक्षेप भयो । तर, पनि यो टिकिरह्यो ।
राजा महेन्द्रले गुठी संस्थान बनाएर ठूला गुठीहरू सबै सरकारीकरण गरे । वीरेन्द्रले गुठीको जमिन निजीकरणको वाटो खोलिदिने गरी कानुन संशोधन गरे । एकातिर गुठी चलाउन आम्दानी हुने जमिनलाई निजीकरण गर्न दिने र अर्कातिर गुठी चलाउन सरकारले बजेटको व्यवस्था नगरेर गुठीलाई कमजोर र नष्ट गर्ने प्रयास सामन्ती नायकहरूले थाले । सरकारी गुठीका जमिन भू–माफियाहरूले गुठी संस्थान र अन्य सरकारी निकायका भ्रष्टहरूको सहयोगमा कब्जा गर्ने अभियान नै चल्यो । गुठी संस्थान गुठीको सम्पति र संस्कृतिको रक्षक भन्दा पनि भक्षक भएर निस्क्यो ।
पञ्चायती सामन्ती नाइकेहरूको कानुनमा जनताको सामूहिक स्वामित्वमा रहेका कयौँ गुठीलाई निजी गुठी भनेर जनता कै हातमा रहन दिएको थियो । वास्तवमा त्यो निजी होइन कि परम्परादेखि रहेको सामूहिक गुठी नै हो । सर्वसाधारण जनताको गुठी हो । नेवारहरूको सबै जात्रा पर्वदेखि जन्म मृत्युसम्मका सबै संस्कारमा गुठी अनिवार्य हुने गर्दछ । जनताले विद्रोह गर्ने डरले जनताका सबै गुठी सामन्ती राजाहरूले छुने हिम्मत गरेका थिएनन् ।
तर, नेकपाको सरकारले उपत्यकाको प्राचीन आदिम साम्यवादी संस्थाको रूपमा रहेको जनताको सामूहिक गुठी सबै सरकारीकरण गर्ने, गुठीको काम सरकारबाट मनोनित कर्मचारीहरूले गर्ने, गुठीको सम्पति सरकारले बनाएको गुठी प्राधिकरणले बेचबिखनसमेत गर्न पाउने प्रावधानसहितको विधेयक संसद्मा दर्ता गरायो । सो विधेयकको दफा ३(३), दफा २३, दफा २४ र दफा ६४ ले स्पष्ट रूपमा यो अपराधिक कार्य गरेको छ । यो भनेको रणबहादुर शाहको गुठीहरण भन्दा पनि नांगो ज्यादति हो ।
(पूर्वमन्त्री श्रेष्ठको फेसबुकबाट)
प्रतिक्रिया