सुरु भयाे सडक सुशासन अभियान

विराटनगर । सडक दुर्घटना न्यूनीकरण गर्न मोरङको धनपालथान गाउँपालिकामा बुधबारदेखि सडक सुशासन अभियान सुरु गरिएको छ । हुलाकी राजमार्गअन्तर्गत कर्सिया बजारक्षेत्रमा सडक दुर्घटना बढेपछि धनपालथान गाउँपालिकाले यो अभियान सुरु गरेको हो ।

नेपाल प्रहरी, राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोगमा गाउँपालिकाले अभियान सुरु गरेको हो । पहिलो चरणमा कर्सिया बजारको दायाँबायाँ रहेका टहरा तथा फुटपाथ पसल तथा सडकमा राखिएको निर्माण सामग्री हटाउन सुरु गरेको छ ।

यसैगरी सवारी साधन व्यवस्थित गर्न तथा बाटो काट्दा कसरी काट्ने विषयमा सचेतना फैलाउँदै कर्सियामा लाग्ने गुद्री हाटबजारलाई व्यवस्थित बनाउन अभियान सुुरु गरेको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए । पशुचौपाया जथाभावी नछाड्न, अत्यधिक गतिमा सवारी साधन नचलाउन तथा सडकको दायाँबायाँ निश्चित मापदण्डभित्र निर्माण सामग्री नराख्न भन्दै गाउँपालिकाले माइकिङसमेत गरेको छ ।

सबैको सहयोगले मात्र अभियान सफल हुने भएकाले अभियानमा सबैलाई जुट्न अध्यक्ष सिंहले आग्रह गरे । प्रदेश–१ का प्रदेश सांसद ज्ञानेश्वर राजवंशीले सडक दुर्घटना न्यूनीकरण गर्न सुरु गरिएको अभियानालाई निरन्तरता दिनु आवश्यक रहेकोमा जोड दिए । सडक दुर्घटना न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालय मोरङ तथा कर्सिया प्रहरीको समेत अभियानमा सहभागिता रहेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले नेपाल प्रहरीले हुलाकी राजमार्गअन्तर्गत पर्ने रंगेली र सुनवर्सी नगरपालिकामा पनि सडक सुरक्षा अभियान सुरु गरेको भन्दै राजमार्गमा लाग्ने हाट बजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । कर्सिया बजारमा अध्यक्ष हरिलाल सिंह, प्रदेस सांसद ज्ञानेश्वर राजवंशी, प्रहरी निरीक्षक कविन्द्र कार्की, बजार व्यवस्थापन समेतका अध्यक्ष तथा वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधिहरूले अनुगमनगरी फुटपाथमा रहेका पसल, निर्माण सामग्रीसमेत हटाएका थिए ।

प्रतिक्रिया