जापानमा भूकम्प, १६ जना घाइते

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएको र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् । जापानको मौसम विज्ञान विभाले सुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ ।

समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो । जापानको राजधानी टोकियोबाट ३०० किलोमिटर उत्तरी निगातामा भूकम्पको केन्द्र रहेपनि भूकम्पको धक्का राजधानीमा पनि अनुभव गरिएको थियो ।

प्रधानमन्त्री शिन्जो आबेले भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सरकार पूर्ण सतर्क अवस्थामा रहेको बताउँदै ठूलै क्षमताको परकम्प आउने सम्भावनातर्फ विशेष चनाखो रहन नागरिकहरु समक्ष आह्वान गरेका छन् । टेलिभिजन र अनलाइनहरुमा निगाता समेतका स्थानमा घरहरु बेस्सरी हल्लिएका र घरभित्रका सामान छताछुल्ल भएका दृश्यहरु राखिएका छन् ।

भूकम्प गएको केही समय विद्युत आपूर्ति समेत बन्द गरिएको थियो । गत जुन महिनामा ओशाका क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट पाँच जनाको ज्यान जानुका साथै ३५० जनाभन्दा बढी घाइते भएका थिए । सन् २०११ मार्च ११ मा ९ म्याग्नीच्यूडको भूकम्पबाट सिर्जित सुनामीले प्रशान्त महासागरीय मुलुकहरुमा हजारौंको ज्यान गएको थियो ।

जापानको निगाता पनि भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त क्षेत्रमा पर्दछ । सन् २००४ मा ६.८ म्याग्नीच्यूडको भूकम्पबाट ६८ जनाको मृत्यु भएको थियो । जापान भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त राष्ट्र हो ।

प्रतिक्रिया