फ्रान्स र नर्वे नकआउट चरणमा

एजेन्सी, अमेरिका । फ्रान्स र नर्वे फिफा महिला विश्वकपको नकआउट चरणमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा फ्रान्सले नाइजेरियालाई स्तब्ध बनाउँदा नर्वेले दक्षिण कोरियालाई निराश र्पायो । फ्रान्सले नाइजेरियालाई १–० ले हरायो । विवादास्पद खेलमा फ्रान्सले दुई पटक पेनाल्टी हान्ने मौका पाएको थियो । भिभियान असेईलाई फल गरेका कारण फ्रान्सले पेनाल्टी पाएको थियो । यो पेनाल्टी पोस्टमा लाग्न पुग्यो ।

तर नाइजेरियाकी गोलकिपर चियामाका सिट्ठी बज्नुभन्दा नै अघि बढेपछि फ्रान्सले अर्को पटक पेनाल्टी हान्ने मौका पायो । जसलाई रेनार्डले गोलमा परिणत गरिन् । पराजयको बाबजुत नाइजेरियाको नकआउट चरणमा पुग्ने आशा अझै कायमै छ । उत्कृष्ट उपविजेताका रूपमा नाइजेरिया प्रिक्वार्टरफाइनलमा पुग्न सक्नेछ । शतप्रतिशत जित निकाल्दै फ्रान्स समूह ‘ए’ को विजेता बनेको छ । एसियाली टिम दक्षिण कोरिया एउटा पनि खेल नजिती घर फर्किएको छ ।

अन्तिम खेलमा दक्षिण कोरिया नर्वेसँग २–१ ले पराजित भयो । नर्वेविरुद्धको यही गोल नै दक्षिण कोरियाको पहिलो तथा अन्तिम गोल बन्न पुग्यो । उसले कुल आठ गोल खाएको छ । नर्वेले दुवै गोल पेनाल्टीमा गरेको थियो । खेलको पाचौँ मिनेटमा क्यारोलिजन ह्यान्सेन र ५१औँ मिनेटमा इसाबेल हलोभ्सेनले पेनाल्टीमा गोल गर्दै नर्वेलाई दुई गोलको अग्रता दिलाए । यओ मिन जीले ७८औँ मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काइन् । तर, थप गोल हुन नसक्दा दक्षिण कोरिया पराजित भयो भने नर्वे समूह उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो ।

प्रतिक्रिया