लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ को प्रेम

पाँचथर । पूर्वी नेपालमा लिम्बू भाषीले झण्डै एक दशकदेखि राज्यको लगानीबिना कक्षा १ देखि ७ सम्म र ११, १२ मा लिम्बू भाषा पठनपाठन गराएर भाषा र संस्कृतिप्रति प्रेम देखाइरहेका छन् । आफ्नो भाषा र लिपिलाई जोगाउन राज्यपक्षबाट कुनै पनि लगानीबिना विद्यालयमा पठनपाठन गराइरहेका छन् ।

लिम्बू भाषाको विकासका क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहेका मलिसा याक्थुङबा लिम्बू भाषालाई सरकारले योग्यताको भाषा बनाउनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘समुदायले प्रयोग गर्ने भाषा किन नहोस् त्यो राज्यको सम्पदा हो । त्यसैले यसको संरक्षण गर्ने प्रमुख दायित्व पनि राज्यकै हो । राज्य स्तरबाट प्रभावकारी ढंगले संरक्षण हुन् नसक्दा कतिपय भाषा हराएर जाने अवस्थामा पुगेका छन् । सरकारले लिम्बू भषालाई योग्ताको भाषा बनाउनुपर्छ ।’

लिम्बू भाषालाई सरकारले योग्यताको भाषा नबनाए पनि लिम्बू भाषासेवीको पहलमा वि.सं २०६७ देखि कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन हुँदै आएको छ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डकाअनुसार हालसम्ममा २ सय ८० विद्यार्थीले कक्षा ११ र १२ उत्तीर्ण गरेका छन् । कक्षा ११ र १२ उतीर्ण गरेका एक विद्यार्थी दीपक नेम्वाङले भने, ‘आफ्नो भाषा र लिपिलाई जोगाउन भाषा अति आश्यक छ । आफ्नो मातृभाषा र लिपिलाई प्राथमिता दिनुपर्छ भनेर भाषा अध्ययन गरिरहेको छु ।’

लिम्बू भाषा पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ मा रहेको सत्यहाङमा मावि, कुम्मायक गाउँपालिकाका–१ मा रहेको पृथ्वी मावि र इलामको लारुम्बा–२ मा रहेको सरस्वती माविमा कक्षा ११ र १२ मा पठनपाठन भइरहेको छ । जिल्लाका विभिन्न विद्यालयमा कक्षा १ देखि ७ सम्मसमेत लिम्बू भाषा पठनपाठन भइरहेको छ । लिम्बू भाषा लिम्बू समुदायका लागि मात्र नभएर अन्य समुदायका विद्यार्थीले पनि अध्ययन गरिरहेका छन् । लिम्बू भाषामा विद्यार्थीले राम्रो अंकसमेत प्राप्त गरिरहेका छन् ।

सत्यहाङमा माविका लिम्बू भाषा शिक्षक एसबी लिम्बू भन्छन्, ‘पाँचथरमा ४१ प्रतिशतभन्दा बढी लिम्बू जातिको बसोवास रहेकाले प्रायः गरेर लिम्बू भाषा उपलब्धिमूलक रहेको छ । यसलाई वैधानिकता दिनतर्फ सरकार अगाडि बढ्नुपर्छ ।’

नेपालको संविधान, २०७२ को धारा ३१ को शिक्षासम्बन्धी हकको उपधारा ५ ले नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम मातृभाषामा शिक्षा पाउने र शैक्षिक संस्था खोल्ने हक दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मातृभाषामा शिक्षा दिने विद्यालयलाई अनुमति दिने र नियमन गर्ने जिम्मा स्थानीय सरकारलाई छ ।

फाल्गुनन्द गाउँपालिकाले भने लिम्बू भाषा पठनपाठन गराउन आठ शिक्षक नियुक्त गरेको छ । एक तामइग (तामाङ) भाषाको शिक्षक नियुक्त गरेर पठनपाठन सुुरु गरेको छ । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा लिम्बू जातिको जनसंख्या तीन लाख ८७ हजार तीन सय छ भने तीन लाख ४१ हजारभन्दा बढीले लिम्बू भाषामा बोल्ने गर्दछन् ।

प्रतिक्रिया