बुटवल । प्रदेश–५ का सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । प्रदेशमा १ सय ९ स्थानीय तह छन् । प्रत्येक स्थानीय तहमा बैंक अनिवार्य हुनुपर्ने नेपाल सरकारको नीति छ । सोही नीतिअनुसार सबै स्थानीय तहमा बैंक पुगेको हो ।
जेठबाट रोल्पाको सुनछहारी गाउँपालिकाका एसबिआई बैंकले कारोबार सुरु गरेसँगै प्रदेशका १२ वटै जिल्लाका १ सय ८ स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । सुनछहारी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगरले जेठबाट बैंक आएर अहिले कारोबार सुरु गरेको बताए ।
गत चैतमा मुलुकका वित्तीय संस्था नपुगेका १ सय १६ स्थानीय तहमा सहजै बैंकहरू जान नमानेपछि नेपाल राष्ट्र बैंकले २७ वटा वाणिज्य बैंकलाई स्थानीय तह भागबन्डा गरी आफ्नो शाखा सञ्चालन गर्न निर्देशन दिएको थियो । गत आर्थिक वर्षको असार मसान्तभित्रै बैंकले शाखा खोलिसक्नुपर्ने निर्देशनअनुसार प्रदेशका अन्य सबै स्थानीय तहमा बैंक स्थापना भई वित्तीय कारोबारसमेत सुरू भएको छ ।
गुल्मीको सत्यवती गाउँपालिकामा गत साउनमा पहिलोपटक बैंक पुगेको हो । नेपाल क्रेडिट एन्ड कमर्स बैंकले आफ्नो शाखा खोलेपछि बैंकिङ कारोबारका लागि स्थानीय तम्घास वा रिडी पुग्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बैंक स्थापना भएपछि पालिकाका आर्थिक कारोबार सहजरूपमा सञ्चालन भएको बताए । जिल्लागत रूपमा रूपन्देहीमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाका १ सय ४० शाखा छन् । प्रदेशमा आव ०७४÷७५ को अन्त्यसम्म बैंक नभएका १० स्थानीय तहमध्ये नौ तहमा वाणिज्य बैंकका शाखाहरू सञ्चालनमा आएका छन् ।
धेरै स्थानीय तहमा बैंक पु¥याउने प्रदेश–५ बैंक तथा वित्तीय संख्याका हिसाबले राज्यका सात प्रदेशमध्ये तेस्रो स्थानमा छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार प्रदेशमा ८ सय २ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । अघिल्लो वर्ष सोही अवधिमा नौ सय शाखा रहेका थिए । अन्तर बैंकिङ मर्ज तथा एक्विजिसन भएका कारण बैंक तथा वित्तीय संस्थाको संख्या घट्न गएको हो ।
मंसिर मसान्तसम्म ‘क’ वर्गका ४ सय ७६, ‘ख’ वर्गका २ सय ९७ र ‘ग’ वर्गका २९ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा छ । चलायमान आर्थिक गतिविधिका कारण रूपन्देही जिल्लामा वित्तीय संस्था धेरै भएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख अशोककुमार पौडेलले बताए ।
प्रतिक्रिया