सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकलाई कतिपय व्यक्तिहरूले रणबहादुर शाहको नीतिसँग तुलना गर्न थालेका छन् । धेरैजसो नेपाली इतिहासकारले ‘बहुलट्टी र सन्की’ राजाका रूपमा प्रस्तुत गरेका रणबहादुर शाहका पालामा भएको गुठी र बिर्ता हरणको सम्झना गर्दै धेरैले अहिलेको गुठी विधेयकलाई त्यससँग तुलना गरेका हुन् ।
१८६२ सालमा भएको बिर्ता र गुठी हरणमा रणबहादुरको वा भीमसेन थापा कसको हात धेरै थियो भन्नेमा इतिहासकारबीच मतभेद पाइन्छ । गुठी विधेयकको विवाद अहिले बाहिर आएपछि धेरैले नेपालको इतिहासमा ‘बासठ्ठीहरण’का रूपमा चिनिने उक्त घटनालाई स्मरण गरिरहेका छन् । त्यसकै उदाहरण दिँदै कतिपयले त अहिलेको केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई ‘रणबहादुरको अर्को रूप’ का रूपमासमेत चित्रित गर्न थालेका छन् ।
रणबहादुर शाहलाई नेपालको इतिहासमा सबैभन्दा बढी विवादित राजाहरूमध्ये एकका रूपमा लिने गरिन्छ । पृथ्वीनारायण शाहका नाति उनी पिता प्रतापसिंह शाहको मृत्यु भएपछि अढाई वर्षको हुँदा नहुँदै राजगद्दीमा बस्न पुगेका थिए । १८३२ सालमा जन्मिएका उनले गद्दीमा बसेको करिब–करिब १८ वर्षपछि मात्र शासनसत्ता आफ्नो हातमा लिएको इतिहासकारहरूले लेखेका छन् ।
इतिहासकार बाबुराम आचार्यले विभिन्न पुस्तकमा लेखेअनुसार रणबहादुर शाहले १८५१ वैशाखमा नयाँ भारदारी सभा गठन गरेर शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसअघि उनकी आमा राजेन्द्रलक्ष्मी र काका बहादुर शाहले नायवी शासन चलाएका थिए । त्यसबीच उनले तत्कालीन परम्पराविपरीत गएर एकजना मिश्र थरकी ब्राह्मण विधवा महिला कान्तिवतीसँग विवाह गरे र उनैबाट जन्मिएका पुत्र गिर्वाण युद्धविक्रमलाई युवराज घोषणा गरे ।
त्यसले दरबारियाबीच विभिन्न मतभेद उत्पन्न गराएको इतिहासकारहरूले लेखेका छन् । रणबहादुरले अन्ततः १८५५ सालमा आफ्ना १७ महिनाका छोरालाई राजगद्दी सुम्पेर सन्यास लिएर कान्तिवतीसहित बनारस जाने निर्णय गरेका थिए । तर, त्यसको पाँच वर्षपछि १८६० सालमा भीमसेन थापासहित बनारसबाट नेपाल फर्किएर उनले शासनसत्ता आफ्नो हातमा लिने कोसिस गरेको इतिहासकारहरूले लेखेका छन् । त्यसक्रममा मूलकाजी दामोदर पाँडेलगायतका मानिसहरूलाई सुरुमा कैद गरेर पछि हत्या गरिएको थियो ।
त्यसपछि नै नेपालको सत्तामा शक्तिशाली व्यक्तिका रूपमा भीमसेन थापाको उदय भएको हो । नेपाल आएपछि रणबहादुरले आफ्नै छोराबाट मुख्तियारी अर्थात् राजप्रतिनिधिको उपाधि लिए । र, अहिले विभिन्न व्यक्तिहरूले गुठी विधेयकसँग तुलना गरेको गुठी र बिर्ताको हरण उनले आफू राजा भएका बखत नभएर छोराबाट मुख्तियारी लिएका बखतमा गरेका थिए ।
त्यसवेला सैन्य सेवाको उच्च तहमा रहेका व्यक्ति, भीमसेन थापाका आफन्त, थापा खलक, अन्य केही प्रभावशाली व्यक्ति र उनीहरूका आफन्तबाहेक धेरैको बिर्ता र गुठीहरण भएको इतिहास छ । कतिपयले रणबहादुरले ब्राह्मण महिलासँग विवाह गर्दा ब्राह्मणहरू रुष्ट भएको र उनीहरूकै कारण आफू सत्ताच्युत हुनुपरेको झोँकमा उनले त्यस्तो गरेको लेखेका छन् ।
तर, त्यसवेलाका विभिन्न प्रमाणका आधारमा त्यो कुरा पुष्टि नहुने देखिएको इतिहासकारहरूको मत छ । रणबहादुर शाहले नेपाल आएर शासन सम्हालेपछि नेपाल र ब्रिटिस(भारतसँग सम्बन्ध बिग्रिएको भन्ने विवरणहरू विभिन्न पुस्तकमा पाइन्छन् । त्यसकारण जुनसुकै वेला हमला हुन सक्ने स्थिति बनेकोले रणबहादुरले नेपाली फौजलाई बलियो पार्न ’ब्राह्मणहरूको बिर्ता र देवी देवताको गुठी हरण गरेको’ इतिहासकार चित्तरञ्जन नेपालीको दाबी छ ।
उनले आफ्नो पुस्तक ‘श्री ५ रणबहादुर शाह’ मा लेखेका छन्, ‘त्यसबखतको सरकारी कोषको साधारण आयबाट मात्र फौजलाई पुनर्गठन गरी सुसंगठित गर्न तथा नयाँ ढंगबाट तालिम दिलाउन आवश्यक खर्च पुग्दैनथ्यो (पृ. ७५) ।’ नेपालीले आफ्नो पुस्तकमा शाहको कदमको बचाउ गरेका छन् । उनी लेख्छन्, ‘त्यस बखतको अधिकांश जग्गा या त देवदेवताको गुठीमा या ब्राह्मणहरूको बिर्तामा दरिएको हुन्थ्यो । सोही बिर्ताहरण गर्ने उनले विचार गरे ।’
पक्षपात
रणबहादुर शाहले त्यसबेला सबैखाले बिर्ता र गुठीको हरण भने गरेका थिएनन् । उनले छानेर केहीको बिर्ता र केही गुठी हरण गरेको नेपालीकै यो लेखाइबाट पनि पुष्टि हुन्छ –‘त्यस बखत अरू काजी सरदारहरूको पनि बिर्ता नभएको होइन, तर पनि फौज सम्बन्धी काममा खर्च गर्नका निमित्त हरण गर्ने जुन उद्देश्य थियो, त्यसबाट काजी, सरदार आदि फौजका उच्च पदाधिकारीहरूकै बिर्ता हरण गरेमा सो उद्देश्य पूरा हुनुको साटो उल्टो प्रतिक्रिया पर्न जाने सम्भावना भएकाले उनीहरूको बिर्तालाई नछोइकन केवल ब्राह्मणहरूको बिर्ता र देवदेवताको गुठी मात्र हर्ने निर्णय गरिएको होला, जुन कि वीरताका आधारमा अर्जित पनि थिएन (पृ. ७५) ।’
अझ नेपालीले त ‘ब्राह्मणहरूले खुसी मनले दिन राजी भएपछि रणबहादुरले त्यस्तो कदम चालेको’ दाबीसमेत गरेका छन् । तर, त्यसरी हरण भएको बिर्ताको पछि सट्टाभर्ना दिइएको प्रमाणहरू भेटिएको इतिहासकारहरूले लेखेका छन् । १८६२ मा रणबहादुरले हरण गरेको बिर्ता र गुठी जग्गाको जंगबहादुरको सिफारिसमा राजा राजेन्द्र विक्रम शाहले १९०३ मा सट्टाभर्ना गरिदिएको त्यसवेलाको लालमोहरमा उल्लेख छ ।
नेपालीकै पुस्तकमा प्रकाशित उक्त लालमोहरको नक्कलमा लेखिएको छ– ‘६२ मा हरण भयाका तिमिहेरूका विर्ता र (देव देवता) का गुठी षेत पाषाको मध्येश पहाडका वैरान पर्ती वाझा जमिनमा हाम्रा हुकुमले लाल मोहर भै बंद भयाका जग्गा र गौचर सन्धी सर्पन पन्र्या जग बाहिरका जगामा सट्टा लिनु भनी जगा अवाद गर्नालाई यथाशक्ति रुपैया बक्स्यौ’. (पृ. ७६(७७) ।’
योजना रणबहादुर कि भीमसेन थापाको ?
कतिपय इतिहासकारका अनुसार नेपालमा त्यसवेला रणबहादुर शाहमा शासनसत्ताको खासै अधिकार नभएकाले उक्त कदमको सबै योजना मुख्तियार भीमसेन थापाले बनाएका थिए । इतिहासकार बाबुराम आचार्यले त्यस्तै संकेत गर्दै ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा लडाइँका लागि सैन्य शक्ति बलियो बनाउन भीमसेन थापाको योजनामा ‘बासट्ठीहरण’ भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘लडाइँका निमित्त मोर्चा खोल्ने तथा बिर्ताहरूको अपहरण गर्ने काम पनि ’जनरल’ भीमसेन थापाले गरेका थिए र पक्षपात पनि यिनबाट नै भएको थियो । तर, यसको दोष जति त्यतिवेला स्वामी महाराज रणबहादुर शाहमाथि थोपरिएको थियो । यथार्थमा यतिवेला स्वामी महाराज रणबहादुर शाहमा न कसैलाई बिर्ता दिनसक्ने अधिकार रहेको थियो, न त अपहरण गर्नसक्ने अधिकार नै यिनमा रहेको थियो (पृ. ३४५) ।’
त्यसवेला भीमसेन थापाले किन यस्तो गराउनुपर्यो भन्नेमा आचार्यले पनि सैन्य बल कमजोर भएर नै त्यस्तो गरिएको लेखेका छन् । उनका अनुसार, ‘विसं. १८६२ मा कागँडा राज्यमाथि आक्रमण गर्नका निमित्त थप सैनिकहरू पठाउन सैनिकहरूको संख्यामा वृद्धि गर्नुपर्ने आवश्यकता अनुभव हुन आएको’ थियो । त्यसवेला सैनिकलाई मासिक रूपमा नगद तलब दिने चलन थिएन । त्यसको सट्टा ’खान्गीका रूपमा जग्गाहरू दिने प्रचलन चलिआएको’ आचार्यले लेखेका छन् ।
उनका अनुसार, ‘राज्यको विस्तारको साथसाथै सैनिकहरूको संख्या पनि निरन्तर बढाउँदै ल्याउन आवश्यक हुँदा राज्यका सम्पूर्ण रैकर जमिनहरू खान्गीहरूका रूपमा वितरण गरिसकिएका थिए । आचार्यले लेखेका छन्, ‘जगेडा रैकर जमिनहरू प्रायः छदैँ थिएनन् । यस परिस्थितिमा बिर्ताका रूपमा वितरण गरिएका जमिनहरू अपहरण गर्नुभन्दा बाहेक अर्को विकल्प नेपाल सरकारसँग बाँकी थिएन । यसैले ब्राह्मणहरूको ‘कुश(बिर्ता)’ तथा देवदेवीका गुठीहरूसमेत–‘पछि फिर्ता गर्ने’ शर्तमा जफत गरिए । यसरी अपहरण गरिएका बिर्ता तथा गुठी जग्गाहरू सबै नै रैकरमा परिणत गराई सैनिकहरूलाई खान्गीहरूका रूपमा दिइएका थिए ।’
उसवेला पनि आन्दोलन
रणबहादुर शाहको पालामा पनि गुठी र बिर्ता खोस्दा आन्दोलन भएको इतिहासकारहरूले लेखेका छन् । नेपालको अथ–राजनीतिका इतिहासकार एवं म्यागसेसे पुरस्कार पाउने प्रथम नेपाली नागरिक महेशचन्द्र रेग्मीलाई उद्धृत गर्दै त्यसवेला पनि बिर्ता र गुठी खोसिनेहरूले विरोध जनाएको भूमीसम्बन्धी अध्येताहरूले उल्लेख गरेका छन् ।
अंग्रेजी भाषामा नेपाली अर्थ–राजनीतिक इतिहासका धेरै पुस्तक लेखेका उनले त्यसवेला विशेषगरी, बिर्तावालाहरूले विरोध जनाएको लेखेको अध्येताहरूले उल्लेख गरेका हुन् । उनको पुस्तक ‘अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री, १८६८(१८४६’ मा ‘बासठ्ठीहरण’विरुद्ध पश्चिम नेपालको तनहुँलगायतका पहाडी जिल्लाहरूमा विरोध भएको उल्लेख गरिएको अध्येताहरूले लेखेका छन् ।
‘ल्यान्ड पोलिटिक्स एन्ड कन्फ्लिक्ट इन नेपाल ः रियालिटिज् एन्ड पोटेन्सियल्स् फर एग्रेरियन ट्रान्सफरमेसन’ नामक पुस्तकमा जगत बस्नेतले रेग्मीको उक्त पुस्तकलाई उद्धृत गर्दै ‘पश्चिम नेपालका पहाडमा हिंसात्मक झडपहरू भएको’ लेखेका छन् । त्यस्ता विरोधीहरूलाई तह लगाउन ‘सरकारले कडा रवैया अपनाएको र विरोध गर्नेहरूका नाइकेलाई हतकडी लगाएर काठमाण्डू ल्याइएको’ उक्त पुस्तकमा उल्लेख छ (पृ. २४) ।
रेग्मीको पुस्तक उदृत गर्दै बस्नेत लेख्छन्, ‘सन् १८०५ (विसं. १८६२) मा पश्चिम पहाडका ब्राह्मण बिर्तावालाहरूले गरेको विरोध यति तीव्र भयो कि सरकारले उनीहरूलाई राहदानी नलिइकन काठमाण्डू प्रवेशमा रोक लगायो ।’ तर कतिपय इतिहासकारहरू बिर्ताहरण विरोधी गतिविधि बढेपछि काठमाण्डू आउन त्यसबेलाको सरकारले राहदानी लिनुपर्ने व्यवस्था गरेको भनिएको कुरासँग सहमत छैनन् ।
उनीहरूका अनुसार त्यस्तो व्यवस्था काठमाण्डूबाट बाहिर जाने र काठमाण्डूमा आउने दुवैका लागि गरिएको थियो र यो बासठ्ठीहरणसँग मात्र सम्बन्धित छैन ।’
कति जग्गा हरण गरियो ?
रणबहादुर शाहका वेलामा कति बिर्ता र गुठी हरण गरियो भन्नेबारे इतिहासकार महेशचन्द्र रेग्मीले विवरणहरू संकलन गरेको पाइन्छ । उनले प्रकाशित गर्ने रेग्मी रिसर्च सिरिजको सन् १९७९ डिसेम्बर १ मा प्रकाशित अंकमा त्यसको विस्तृत विवरण उपलब्ध छ ।
उक्त विवरणअनुसार नेपालका विभिन्न स्थानमा गरेर कुल सात लाख ७४ हजार ८४ मुरी धानखेत बराबरको बिर्ता र गुठी सरकारले हरण गरेको थियो । काठमाण्डू उपत्यकाभित्र मात्र गुठी र बिर्ता गरि ३३ हजार १ सय ९० मुरी धानखेत हरण भएको थियो । त्यसमध्ये बिर्ताको २३ हजार ४ सय १३ र गुठीको ९ हजार ७ सय ७७ मुरी धानखेत हरण भएको तथ्यांक छ ।
त्यस्तै, काठमाण्डू पूर्व सिन्धुपाल्चोकतर्फ, तामाकोसी(दूधकोसी क्षेत्र, दूधकोसी(अरुण क्षेत्र अर्थात् माझकिराँत, नुवाकोट क्षेत्र, त्रिशूली–गण्डकी क्षेत्र, गण्डकी–दरौँदी क्षेत्र, मर्स्याङ्दी क्षेत्रलगातयमा पनि बिर्ता र गुठी हरण भएको उक्त विवरणमा उल्लेख छ । रेग्मीले कतिपय जिल्लाहरूको भने जिल्लागत विवरणसमेत त्यसमा समावेश गरेका छन् । (बिबिसीबाट)
प्रतिक्रिया