चेपुवामा पत्रकारहरू

नरेन्द्रमान श्रेष्ठ

एकताका नेपाली चलचित्रका महानायक राजेश हमालको नांगो फोटो कामनामा छापिएको थियो । आफ्नो नाङ्गो फोटो जनआस्था साप्ताहिकमा छापेको कारणले नायिका शीर्षा कार्कीले आत्महत्या गरेको चर्चा चलेको थियो । त्यसैगरी, विगतकी हट ग्लामर नायिका तुलसा सिलवालले आफ्नो नाङ्गो वक्षलाई हातले छोपेको फोटो त्यसवेलाको कुमारी म्यागेजिनमा छापिएको थियो ।

पछिल्लो समयमा सरकार, दलका नेतादेखि अभिनेतासम्मको कोप भाजनमा परिरहेका छन् पत्रकारहरू । सरकारले ससदमा पेस गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकले प्रेस स्वतन्त्रतामाथि धावा बोलेको छ । पत्रकारहरूले विधेयकको विरोध गरेका छन् । अर्कोतर्फ विभिन्न राजनीतिक दलहरूका नेतादेखि अभिनेता कलाकारहरूले समेत पत्रकारितामाथि नै प्रश्न खडा गरेका छन् । पत्रकारहरूलाई होच्याउन थालेका छन् । एकातिर मिडिया काउन्सिलको विधेयकले सरकार पत्रकारहरूबीच जुहारी नै चलेको छ भने अर्कोतर्फ कलाकार र पत्रकारहरूको बीचमा पनि जुहारी जारी छ ।

कतिपय नेताहरूले पत्रकारद्वारा भ्रष्टाचारको विषय उठाइँदा पत्रकारलाई नै प्रमाण ल्याउन भन्ने गरेका छन् । नेताहरूलाई यति पनि थाहा भएन कि, प्रमाण पत्रकारले होइन सरकारले, प्रशासनले, राज्यले ल्याउने हो । त्यसैगरी, कतिपय चलचित्रकर्मीहरूले आफ्नो चलचित्रको समीक्षा राम्रो गरेन भनेर पत्रकारहरूलाई नानाथरी गाली मात्रै होइन भौतिक आक्रमणसमेत गरेको देखिएको छ । । त्यसो त कतिपय वरिष्ठ भनिने पत्रकारहरूका कारणबाट पनि पत्रकारिता क्षेत्र बदनाम भइरहको छ । उदाहरणका लागि ‘यस विषयमा घण्टौ बहस गर्न सक्छु भनेर अतिथिहरूलाई जनता जान्न चाहन्छ’ भनेर छेउ न टुप्पोको प्रश्न गरेर टेलिभिजनमा अन्तरवार्ता लिने सञ्चारकर्मीहरू पनि नेपालमा नभएका होइनन् । आर्थिक लोभमा परेर सत्य तथ्यलाई बंग्याउने र गलत चलचित्र र चलचित्र निर्देशकको प्रशसा गर्ने पत्रकारहरू पनि नभएका होइन ।

त्यसैगरी, कतिपय हास्यकलाकारहरू पनि कम्तीका छैनन । हिन्दी चलचित्रहरूको राम्रो समीक्षा गर्नेले नेपाली चलचित्रको राम्रो समीक्षा नगरेको भनेर समीक्षकलाई कुन संस्था वा व्यक्तिबाट परिचालित छ भनेर पनि आरोप लगाउने हास्यकलाकारहरू पनि नभएका होइनन् कलिउडमा । यी यस्ता भनाइले कतिपय कलाकारहरूमा बौद्धिकताको कमी रहेको पनि अनुमान लगाउन सकिन्छ । त्यसो त केही निर्माता निर्देशकले चलचित्रको समीक्षामा आफ्नो अपमान गरेको भएको भनेर मानहानिको मुद्दामा पत्रकारलाई थुनामा पनि राख्ने गरेको देखिन्छ ।
पत्रकार, त्यो पनि चलचित्र पत्रकार र कलाकारको सम्बन्ध कस्तो हुन पर्छ भन्ने प्रश्न निकै पेचिलो बन्ने गरेको छ ।

यो सम्बन्ध सामान्यतया सुमधुर हुनपर्छ । कलाकारहरूलाई पत्रकारहरू पनि चाहिन्छ भने पत्रकारहरूलाई कलाकारहरू पनि चाहिने हुन्छ । तर, पनि कहिलेकाही चलचित्र पत्रकारहरू र कलाकारहरूबीच जुहारी नै चल्ने पनि गरेका छन् । तर, यो जुहारीलाई यसलाई सामान्य नै मान्नुपर्ने हुन्छ । कहिले पत्रकारहरूले कलाकारको व्यक्तिगत सम्बन्धको विषयलाई मिडियामा ल्याइदियो भनेर कहिले कलाकारको नाङ्गो फोटो पत्रिकामा छाप्यो भनेर हंगामा हुने गरेको छ । एकताका नेपाली चलचित्रका महानायक राजेश हमालको नांगो फोटो कामनामा छापिएको थियो । आफ्नो नाङ्गो फोटो जन आस्था साप्ताहिकमा छापेको कारणले नायिक शीर्षा कार्काीले आत्महत्या गरेको चर्चा चलेको थियो । त्यसैगरी, विगतकी हट ग्लामर नायिका तुलसा सिलवालले आफ्नो नाङ्गो वक्षलाई हातले छोपेको फोटो त्यसवेलाको कुमारी म्यागेजिनमा छापिएको थियो । यसले पनि त्यसवेला कलाकार र पत्रकारहरूबीच जुहारी नै चलेको थियो । आरोप प्रत्यारोप समेत भएको थियो ।

नायिका, निर्माता, निर्देशक झरना थापा र चलचित्र समीक्षकहरू बीच जुहारी नै चलेको थियो । झरणा थापाले निर्देशन गरेको छोरी सुहाना थापाको डेब्यु चलचित्र ‘ए मेरो हजुर ३’ को समीक्षा राम्ररी गरिदिएन भनेर चलचित्र समीक्षकहरूप्रति आक्रोश पोखेकी थिइन् । दर्शकहरूले रूचाएको, सिनेमा हलमा दर्शकहरू भरिभराउ भएको चलचित्रको समीक्षा राम्रो गरेन भनेर चलचित्र समीक्षकहरूको खेदोसमेत खन्नु अस्वाभाविक नहोला । तर, फ्लप सिनेमालाई राम्रो छ भनेर नलेखिदिएबापत समीक्षकको खेदो खन्नु अन्याय हो । सिनेमा हलहरूमा दर्शक कति छन् अथवा कति दर्शकहरू चलचित्र हेर्न आए भनेर मात्रै चलचित्रको समीक्षा गर्ने होइन । चलचित्रका विविध पक्ष हेरेर समीक्षा गर्ने हो । कहिलेकाहीँ समीक्षकहरूलाई नराम्रो लागेका चलचित्रहरू दर्शकहरूलाई राम्रो लाग्छ । कहिलेकाहीँ समीक्षकहरूलाई राम्रो लागेको चलचित्र दर्शकहरूलाई नराम्रो लाग्न पनि सक्छ । यो भनेको दर्शकहरूको रूचिको विषय हो यति कुरा त चलचित्र निर्देशकहरूले बुझ्नु त प¥यो नी, होइन र झरना जी ? त्यसो त कतिपय चलचित्रकर्मीहरूमा बौद्धिकताको अभाव रहेको जस्तो पनि देखिन्छ ।

चलचित्रका दर्शकहरूको पनि आ आफ्नै रूचि हुन्छन् । समीक्षकहरूको पनि चलचित्रहरूको समीक्षा गर्ने आ–आफ्नै तरिकाहरू हुन्छन् । चलचित्रलाई दर्शकहरूले रूचाइ दिए, सिनेमा हलहरूमा दर्शकहरूको लाइन लाग्यो भन्दैमा समीक्षकहरूले चलचित्र एकदम राम्रो छ भनेर भन्न पनि त सक्दैनन नि । कुशल समीक्षकहरूले एउटा पक्षलाई मात्र हेरेर चलचित्रको समीक्षा गर्देनन् भन्ने कुरा नबुझ्ने चलचित्रकर्मीहरूको भीड छ हाम्रो मुलुकमा । कलिउड चलचित्र क्षेत्रमा धेरैजसो मान्छेहरू पढेर भन्दा पनि परेर चलचित्रकर्मी बनेका छन् । कलिउडमा अध्ययन अध्यापन तालिम लिएका बौद्धिक चलचित्रकर्मीहरूभन्दा विनातालिम, विनाअध्ययन चलचित्र क्षेत्रमा काम गर्दा गर्दै अनुभवले निर्देशक बनेकाहरूको बाहुल्यता छ । यसकारणले पनि निर्देशकहरू अरूको चलचित्रको नक्कल गरी गरी चलचित्रहरू बनाउने गरिरहेका छन् ।
पढेका, तालिम लिएका, कतिपय चलचित्रकर्मीहरू ओझेलमा परेको देखिन्छ । विगतमा पनि विदेशको चलचित्र तालिम केन्द्रहरूबाट तालिम लिएकाहरू समेत ओझलमा परेको बताइन्छ । विगतमा चलचित्रसम्बन्धी तालिम लिने इन्स्टिच्युटहरू नेपालमा थिएनन् ।

चलचित्रसम्बन्धी तालिम लिन भारतको पुना पुग्नु पथ्र्यो । त्यसवेला पुना फिल्म एण्ड टि भि इन्स्टिच्युटबाट चलचित्रसम्बन्धी तालिम लिएर आएकाहरू नै ओझलमा परेको देखिन्छ । चलचित्रसम्बन्धी तालिम लिन विदेशमा पुग्नुपर्ने विगतको जस्तो अवस्था अहिले छैन । अहिले नेपालमा नै धेरै चलचित्रसम्बन्धि तालिम दिने इन्स्टिच्युटहरू छन् । तर, पनि पछिल्लो समयमा पनि अध्ययन गरेका तालिम लिएका चलचित्रकर्मीहरू ओझलमा नै छन् । तालिम प्राप्त चलचित्रकर्मीहरू एक दुई चलचित्रमा देखिएपछि हराउने गरेका छन् ।। कतिपय निर्माता निर्देशकहरूले त आफ्ना सन्तानलाई हिरो, हिरोनी बनाउनकै लागि चलचित्रमा लगानी गर्ने गरेको पनि देखिएको छ । यसकारणले पनि होला कलिउडमा आफ्नो चलचित्रको राम्रो समीक्षा गरेनन् भनेर समीक्षकहरूमाथि खनिएका । चलचित्रहरूको समीक्षा हलिउड, बलिउडमा पनि हुने गरेका छन्, तर बलिउडका चलचित्रकर्मीहरूले आफ्नो चलचित्रको राम्रो समीक्षा गरेन भनेर चलचित्र समीक्षकहरूलाई गाली गर्दैनन् । बलिउड चलचित्रहरूको नक्कल नेपाली चलचित्र बनाउने अनि जस्ताको तस्तै लेख्दा समीक्षकको खेदो खन्ने प्रवृत्ति देखिएको छ ।

प्रतिक्रिया