स्वास्थ्य कर्मचारीको समायोजन वर्षापछि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समायोजन टुंग्याएर सूची पठाए पनि स्वास्थ्यले तत्कालै पत्र नपठाउने भएको छ । समायोजनको सूचीमध्ये केहीमा पुनः समस्या देखिएको र वर्षा पनि नजिकिँदै गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती समस्या समाधान गरेपछि मात्र कर्मचारीलाई पत्र पठाउने तयारी गरेको हो ।

यसअघि नै सामान्यबाट आइतबार सूची आएपछि स्वास्थ्यले सोमबारबाट नै पत्र पठाउने योजना बनाएको थियो । तर, सूचीमा केही समस्या देखिएपछि पत्र दिने काममा ढिलाइ हुने भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार पुनः एकपटक ट्याली र अध्ययन गर्नुपर्ने देखिएकोले तत्काल पत्र वितरण गर्ने योजना स्थगित भएको हो । उनले भने, ‘अब केही दिन लाग्छ होला, हामी अध्ययन र छलफल गर्छौ त्यसपछि मात्रै पत्र वितरण गर्छौ ।’ उनले आर्थिक वर्षको अन्त्य र वर्षात्को समय भएका कारण स्वास्थ्य संस्थामा कर्मचारीको उपलब्धता लगायतका विषयलाई मध्यनजर गर्दै पत्र सम्बिन्धत कर्मचारीलाई कार्यरत संस्थामा नै चिठी पठाइने जानकारी दिए ।

मन्त्रालय स्रोतले गुनासा सम्बोधन भएको भनिए पनि अहिलेको सूची झनै नमिलेको हुनाले पत्र वितरण गर्ने कार्यक्रम स्थगित गरिएको हो । प्रवक्ता श्रेष्ठका अनुसार शत प्रतिशत त राम्रै भएर आएको छ, तर केही नराम्रोलाई पनि राम्रो गर्ने योजना छ । उनले अहिले समायोजन विग्रिएपनि पुनः गुनासा लिने र समाधान गर्ने योजनामा मन्त्रालय लागेको बताए । समायोजनपछि चिठी लिन केही स्वास्थ्यकर्मीहरू मन्त्रालयमा आएको भएपनि समायोजनको चिठी मन्त्रालयमा नपाइने स्पष्ट पारे । उनले अध्ययन सकेपछि समायोजनको चिठी कर्मचारीको कार्यरत संस्थामै एकमुष्ट रूपमा जाने बताए ।

समायोजनमा देखिएको समस्या समाधान गर्न सोमबारै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको नेतृत्वमा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सहसचिव, कानुनका उपसचिव लगायतको टोली छलफलमा बसेको थियो । स्वास्थ्यमा २७ हजार ३ सय ३ जनाको समायोजन सूची सार्वजनिक भएको थियो । तर, उक्त सूचीमा त्रुटि भएको भन्दै १३ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका थिए । सरकारले कर्मचारीलाई वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्न समय दिएको थियो । उक्त अवधिमा गुनासो दर्ता गराएका कर्मचारीको एक–एक विवरण केलाउँदै सामान्यले ७ हजार ७ सय ४० गुनासालाई जायज ठहर गरेको थियो ।

यता अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्की, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वलकुमार शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका सहअध्यक्ष ओम उपाध्याय, राष्ट्रिय स्वास्थ्यकर्मी संघको सचिव हिमालय तिवारीलगायतले स्वास्थ्य मन्त्रालय पुगेर लिष्ट सार्वजनिक गर्न माग गरेका थिए ।

प्रतिक्रिया