ल्हासामा ‘बेल्ट एण्ड रोड’ को चर्चा

काठमाडौं । चीनको स्वायत्त प्रदेश तिब्बतले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’लाई तिब्बतबाट नेपाल हुँदै दक्षिण एसियासँग जोड्न उपयोगी हुने बताएको छ । तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’मा बोल्ने विशेषज्ञले समेत दक्षिण एसियासँग जोड्न प्रमुख प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

३७ देशका १६० विज्ञहरू सम्मिलित मञ्चले तिब्बतको विकासका बारेमा समेत अध्ययन गरेको थियो । बेलायत, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड, नेपाल र लक्जम्बर्गलगायत ३७ देशका एक सय ६० जना विशेषज्ञ विद्वानहरू, अधिकारीहरू, पत्रकारहरू सहभागी भएका थिए । समारोहको उद्घाटन गर्दै तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले यो अवधारणा तिब्बत मात्र नभई नेपालसँगै दक्षिण एसियाका लागि विकासको बाटो भएको उल्लेख गरे । उनले इतिहासमा चीन र नेपालबीचमा हिमालय कहिल्यै पनि अवरोध नभएको, नदीका हरेक बहावले सञ्चारको काम गरेको र हिमालका प्रत्येक पाइला मित्रताका बरन्डा रहेको भन्दै नेपालसँगको ऐतिहासिक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेका थिए ।

१३औँ शताब्दीमा नेपालका प्रख्यात कलाकार अरनिको तिब्बत आएर बृहत् सुनौलो टावर बनाएको भन्दै उनले अरनिको तिब्बतबाट बेइजिङ गएर आजीवन चीनमा बसी हान, मंगोलियन तथा तिब्बती समुदायको कला सिर्जना गरेको इतिहासले पनि दुई देशबीचको मित्रताको महत्व दर्शाएको औँल्याए । सो मञ्च अप्रत्यक्ष रूपमा चीन नेपाल सहकार्यमा केन्द्रितजस्तो देखिन्थ्यो । अन्य देशका विज्ञले पनि बिआरआईमा तिब्बतको भूमिका शीर्षकमा बोल्दा प्रायः सबैले नेपालको प्रसंग उठाएका थिए । सबैको भनाइको निचोड चिनियाँ रेललाई हिमालय पार गराएर नेपाल पु¥याउनुपर्ने भन्ने थियो ।

नेता छीले पनि सिगाच्छे पुगेको रेललाई चीनले नेपाल जोड्ने लक्ष्य राखेको र यो अपरिहार्य रहेको बताए । विज्ञहरूले कार्यक्रमका दौरान ल्हासा र लिन्झी सहरका घर घर, विद्यालय, कारखाना तथा सामाजिक कल्याण केन्द्रको अवलोकन भ्रमण गरेका थिए । उनीहरूले तिब्बतमा भएका अभूतपूर्व आर्थिक उपलब्धि र वातावरण संरक्षणको क्षेत्रमा प्राप्त सफलतालाई आत्मसात् गर्न पाएको प्रतिक्रिया दिएका छन् । ‘तिब्बतमा त्यस्तै पूर्वाधारहरूको विकास भएको छ । खासगरी, तिब्बत र अन्य क्षेत्रबीच सम्पर्क राख्न सडक र राजमार्ग निर्माण भएका छन । सबै सहर गाउँहरू स्तरीय सडक सम्पर्कबाट जोडिएका छन् । साँच्चै नै यो ठूलो उपलब्धि हो’, भ्रमणपछि सहभागी विशेषज्ञको भनाइ थियो ।

उनीहरूले तिब्बतले दिगो विकासका लागि प्राकृतिक वातावरणलाई सही ढंगबाट संरक्षण गरेको उल्लेख गर्दै ६० वर्षको प्रजातान्त्रिक सुधार खुलापनका कारण अहिले तिब्बत भ्रमण गर्न विदेशीको घुइँचो लागेको विश्लेषणसमेत गरे । खासगरी, ‘बेल्ट एन्ड रोड’ का कारण अहिले तिब्बत थप खुल्ला भएको मात्र हैन, विकासको तीव्र गतिमा अगाडि बढिरहेको छ । चीन र दक्षिण एसियाबीच सञ्चारका क्षेत्रमा समृद्धि ल्याउन तिब्बतले सधाझैँ सक्रिय भूमिका निर्वाह गरिरहने छ । कार्यक्रममा सहभागीहरूले तिब्बत र दक्षिण एसियाबीच इतिहासको उद्भव देखि नै महत्वपूर्णं सांस्कृतिक सम्बन्ध रहँदै आएको भन्दै त्यसलाई विकासमा प्रयोग गर्नुपर्नेसमेत उल्लेख गरेका छन् । सन् २०१३ मा राष्ट्रपति सी जिनपिङद्वारा प्रस्तावित ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ ले दक्षिण एसियासँग सम्वाद आदान प्रदान गर्नका लागि तिब्बलाई सक्रिय भूमिका निभाउन ऐतिहासिक अवसर प्रदान गरेको छ ।

प्रतिक्रिया