खोकनामा जेसुम

ललितपुर । कला, साहित्य तथा संगीतमार्फत स्थानीय पर्यटन प्रवद्र्धन तथा संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ आयोजित जेसुम यात्री खोकना पुगेका छन् । उनीहरूले खोकनाका पुरातात्विक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई चित्र, कविता तथा गीतमा प्रस्तुत गरे । हरेक महिना हुँदै आएको ‘जेसुम यात्रा’ को आठौँ शृंखलामा करिब दुई दर्जन स्रष्टा खोकना पुगेको संयोजक अनिता लामाले जानकारी दिइन् ।

स्यार्टडे प्लेन एअरमा आबद्ध करिब देड दर्जन चित्रकारले खोकनाका रमणीय स्थललाई क्यानभासमा उतारे । खोकनाको सांस्कृतिक वैभवलाई चित्रमा उतारेर यसमो महत्वलाई बढाउन कलाकारले काम गरेको सहभागी चित्रकार दीपेन्द्रमान बनेपालीले बताए । खोकना सांस्कृतिक, पुरातात्विक तथा सामाजिक रूपमा निकै सम्पन्न भएको कलाकार राकेशचन्द्र श्रेष्ठले बताए ।

खोकनालाई ०७२ सालको भूकम्पले निकै तहसनहस बनायो । साथै फास्टट्रयाकको कहरले समेत खोकनावासीलाई वेलावेलामा निराश बनाइरहेको वडासदस्य श्याम महर्जनले भने, ‘खोकनालाई कहिले प्रकृतिले सतायो, कहिले सरकारले ।’ सरकारले विकास परियोजनाको काम अघि बढाउँदा पुरातात्विक सम्पदा झल्किने बस्तीको वास्ता नगरेको प्रति उनले चिन्ता व्यक्त गरे ।

उनले बदलिँदो खोकनाप्रति चिन्ता जनाउँदै भने, ‘मल्ल राजा नरेन्द्र देवका पालामा भारतको असम चेरापुन्जीबाट मत्स्येन्द्रनाथ ल्याउँदा वाग्मतीछेउको प्राचीन बस्ती कुदेशबाट माथि सारिएको यो ऐतिहासिक बस्ती अहिले सरकारले अघि सारेको फास्ट ट्रयाक, बाहिरी चक्रपथ र वाग्मती करिडोरले चाल्नो जस्तो छिद्रैछिद्रा बनाउन खोजेको छ ।’

स्थानीय बुद्धिरत्न डंगोलले कलाकार र कविलाई १६ सय वर्षअघिको भग्नावशेषतर्फ लग्दै भने, ‘यहाँको ऐतिहासिक महत्वलाई बचाउन र संरक्षण गर्ने चुनौती हामीमाझ छ ।’ खोकनाकै विषयमा केन्द्रित रही कवि अनिता लामा, गणेश बुढा, विश्वासदीप तिगेला, रमेश कँडेल, धर्मानन्द भट्ट, फूलमान बल, मोहन संग्राम, बिगेन्द्र वाइबालगायतले कविता लेखे ।

त्यस्तै, खोकनाका विभिन्न स्थानमा पुगेर कलाकार दिवेश प्रधान, दीपेन्द्रमान चित्रकार, चन्द्रा श्रेष्ठ, तथागत गौतम, राकेशचन्द्र श्रेष्ठ, विकास बिशंखे, कला लिम्बू, राजेन्द्र याकामी, कान्छाकाजी भासिमा, केदार माक, झलक केसी, लक्ष्मीप्रसाद खोतेजा, सौरभ कोइराला, सर्जन ढकाल, अनिल खड्का र पुण्यराम तामाङले बनाएका चित्रलाई घुम्ती प्रदर्शनीसमेत गरे । त्यसैगरी, कृष्णभक्त डंगोल, नरेन्द्रराज डंगोलदेखि वडासदस्य ज्ञानभक्त डंगोल र सञ्चारकर्मी स्वयम्भू डंगोलले स्थानीय कला, संस्कृति तथा पुरातात्विक सम्पदाका विषयमा प्रकाश पारे ।

वडाअध्यक्ष रवीन्द्र महर्जनले ०७२ सालको भूकम्पले खोकनाकम झन्डै ६ सय घर भत्किएको जानकारी दिए । उनका अनुसार अहिले पुरानै सम्पदा झल्किने गरी घरका झ्यालढोका र संरचना बनाउन वडाले सहयोग र प्रोत्साहन गरिरहेको छ । जेसुम यात्रामा तयार पारिएका चित्राकृतिको एकैपटक प्रदर्शनी गरिने संयोजक अनिता लामाले जानकारी दिइन् ।

प्रतिक्रिया