सहरी बाढी, खानेपानी समस्या र समाधान

कृष्णभक्त दुवाल

ललितपुर महानगरपालिकाको कार्यालय पुल्चोकदेखि पूर्व पाटन दरबार क्षेत्र पुग्ने सडकमा पानी परेपछि आएको भेल पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा भाइरल बन्यो । पानी परेसँंगै सडकमा एक्कासी भेल बग्दा वरपरका पसलका सामानहरू बगाएर लगेको र ती सामान टिप्न व्यस्त दृष्यसहितको भिडियो सामाजिक सञ्जाल फेसबुकबाट धेरैले सेयर गरे ।

ललितपुरको यो बाटोको मात्रै होइन, काठमाडौं उपत्यकामा पानी परयो कि सडकहरूमा सहरी बाढी (अर्वान फ्लोड) आउनु सामान्यजस्तै भएको छ । अलिकति पानी परयो कि धेरैतिरका सडकहरूमा बाढी आउँंछ यसरी नै, मानौँ ती सडक होइनन् खोला हुन् । सहरी सडहरूमा यसरी पानी जम्ने दुर्दशा हिजोआज चुनौती बन्दै आइरहेको छ ।

 

पानी पहिला पनि पथ्र्याे । तर, त्यतिवेला यस्तो समस्या थिएन । किनकि त्यतिवेला धेरै खुल्ला ठाउँंहरू थिए । ती खुल्ला ठाउँंहरूले जमिनबाट पानी सोसेर केही भाग जमिनमुनि जान्थे । केही भाग ढलबाट वग्थे । त्यसैले अहिलेजस्तो बाटोबाट भेल बग्दैनथे ।  अहिले पानी प¥यो कि बाटोमा पानी जम्ने मात्रै नभई भेल बग्ने समस्या दिनदुगुणा रात चौगुणा चर्काे बन्दै गइरहेको छ । यसो हुनुको मुख्य कारण पानी सोस्न सक्ने खाली ठाउँंको अभाव हुनु हो । भएका खाली ठाउँंमा पनि कंक्रिट अनि पानी नसोस्ने ब्लकको प्रयोग हुनु हो ।

साथसाथै ढुंगा छाप्दा केही इन्च सिमेन्ट राखेर पानी नसोस्ने बनाउनु पनि हो । सबैतिर घर तथा भौतिक संरचनाहरू बन्नु पनि अर्काे कारण हो । जताततैका सडकमा कालोपत्रे हुनु पनि थप कारण हो । घर आँंगन, बाटो छेउको पेटीमा गरेको ढलान अथवा पानी नसोस्ने पेभर (व्लक) को प्रयोग हो । यसो हुँंदा पानी सीधै जमिनमुनि नगई सडकबाट बग्दा यस्तो नयाँं समस्या उब्जेको हो । बाटोमुनि बिछ्याएको ह्युमपाइपको सिमित पानी बग्ने क्षमताका कारण पानी बाटोमै जम्मा हुने गरेको हो ।

 

काठमाडौं उपत्यकामा एकातिर पानीको समस्या विकराल छ अर्काेतिर वर्षा भयो कि सहरी सडक बाढीले हैरान छ । आकाशबाट पानी पर्दाको यो सहरी बाढी र खानेपानी समस्यालाई मिलाउन सके सुनमा सुगन्ध हुने थियो ।

 

काठमाडौं उपत्यकामा एकातिर खानेपानीको समस्या विकराल छ । अर्काेतिर वर्षा भयो कि सहरी सडकमा पानी जम्ने समस्याले हैरानी दिन्छ । आकाशबाट पानी पर्दाको यो सहरी बाढी र खानेपानी समस्यालाई मिलाउन सके सुनमा सुगन्ध हुने थियो । यो असम्भव पनि होइन । यसका लागि धेरै बजेट आवश्यक हुने पनि होइन । बरु थोरै चेतना भए पुग्ने थियो ।

काठमाडौंमा खानेपानी वितरणको जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को तथ्यांकलाई केलाउने हो भने उपत्यकामा दैनिक खानेपानीको माग ३७ करोड लिटर छ । यद्यपि, केयुकेएलले मागको चार भागको एक भाग मात्रै हाराहारीमा पानी वितरण गर्न सकिरहेको छ । तथ्यांक हेर्ने हो भने आपूर्ति सुख्खामा दैनिक नौ करोड ५० लाख र बर्खामा १६ करोड ५० लाख लिटर भइरहेको छ । यो माग र आपूर्तिबीचको खाडल जमिनमुनिको पानीले नै पूर्ति गरिरहेको छ ।

अध्ययनअनुसार काठमाडौं उपत्यकामा जमिनमुनिबाट दैनिक पाँंच करोड ८६ लाख लिटर पानी निकाल्ने गरेको छ । जबकि दिगोरूपमा निकाल्न मिल्ने पानी दैनिक दुई करोड ६३ लाख लिटर मात्रै हो । यही कारणले गर्दा काठमाडौंमा पानीको सतह प्रत्येक वर्ष गहिरिँदै गएको हो ।
काठमाडौं उपत्यकामा सर्वसाधारणको पानीको मुख्य श्रोत स्थानीयस्तरका ढुंगेधारा, इनार आदि इत्यादि थियो । तर, पनि ती पानीका परम्परागत श्रोतहरू सुकेका छन् ।

टोलटोलमा सार्वजनिक इनार भइभइकन पनि पानी अभाबमा इनारहरू फोहोर फाल्ने डम्पिंङ साइडमा परिणत भइसकेका छन् । सार्वजनिक ढुंगेधाराहरू बाँंकी त छन् तर पानी आउँदैन । यसो हुनुको मुख्य कारण जमिनमुनि पानी पुनर्भरण नहुनुका साथै श्रोत सख्खा हुनु हो । कहीकेही तरिकाले जमिनमुनि पानी पुनर्भरणको व्यवस्था मिलाउन सके दोहोरो फाइदा हुने थियो, एकातिर सहरी बाढी नआउने अर्काेतिर काठमाडौं उपत्यकामा भएका इनार, बोरिङमा पानी भएर खानेपानीको समस्या नहुने ।

काठमाडौं उपत्यकाभित्र जलबायु परिवर्तनबाट सृजित थोरै समयमा धेरै पानी पर्ने अतिवृष्टि, लामो समयसम्म पानी नपर्ने अनावृष्टि अनि थोरै दूरीमा पनि कही पानी पर्ने अनि कही नपर्ने खण्डवृष्टिलाई हामीले तत्कालै समाधान गर्न सक्दैनौँ ।

काठमाडौंको यो दुवै जल्दोवल्दो समस्याको समाधानको एउटै उपाय हो, पानीको पुनर्भरण अर्थात् आकाशबाट परेको पानीलाई जमिनमुनि पठाउने बन्दोबस्त । यसका धेरै तरिकाहरू छन् ।

क) आकाशे पानी संकलन : आकाशबाट परेको पानीलाई संकलन गरी प्रयोग गर्ने विधि नै आकाशे पानी संकलन विधि हो । आकाशबाट परेको पानी ट्यांकीमा भरेर आवश्यकताअनुसार प्रयोग गर्ने यो प्रविधि धेरै अगाडिदेखि चल्दै आएको छ ।

ख) भूमिगत पानी पुनर्भरण : भूमिगत पानी पुनर्भरण गर्ने अनेक तरिकाहरू छन् । आकाशबाट परेको पानीलाई पोखरीमा पठाउनु पुनर्भरणको एउटा सजिलो उपाय हुनसक्छ । अर्काे उपाय भनेको आकाशे पानीलाई भूमिगत ढलमा बग्न नदिई स्थानीयस्तरमै खाल्डो (पिट) खनेर पनि जमिनमुनि पठाउन सकिन्छ ।

ग) पेभरको प्रयोग : आकाशबाट परेको पानीको केही मात्रा जमिनमुनि पठाउनका लागि विदेशी मुलुकहरूमा विभिन्न प्रकारका पेभर (ब्लक)हरूको प्रयोग हुने गर्दै आएको छ । विदेशतिर बाटोको पेटी अनि खुला घर तथा कार्यालयका कम्पाउन्डहरूमा पानी सोस्ने पेभरहरू बिछ्याउँंदै आएका छन् । यस्तो पानी सोस्ने पेभरको विकास नेपालमा पनि भइसकेका छन् । यस्ता पेभरको प्रयोग सडक, पेटी, पोखरीको पिंढीलगायतमा गर्न सके आकाशबाट परेको पानीको केही मात्रा सिधै जमिनमुनि जाने थियो ।

घ) पोखरीको पुनर्भरण : तथ्यांकअनुसार काठमाडौं उपत्यकामा दुई सय ३३ वटा पोखरीहरू छन् । कमसेकम आकाशबाट परेको पानी यी पोखरीहरूमा पठाई जम्मा पार्न सकिए जमिन मुनि पानी हुने थियो । यसैबाट इनारका लागि पानीको श्रोत हुने थियो । तर, विडम्बना केही पोखरी सरसफाइ गरी जीर्णाेद्धार गर्दा सतहमा ढलान गर्ने गरेका देखिन्छन्, जसले पानी जमिनमुनि जान पाउँंदैन ।

यी र यस्ता विधिलाई अपनाउने हो भने आकाशबाट परेको पानी जमिनबाट खोला हुँंदै समुद्रसम्म पुग्न पाउने थिएन । यसले एकातिर सहरी बाढी नियन्त्रण हुनेछ भने अर्काेतिर काठमाडौं उपत्यकामा व्याप्त खानेपानीको हाहाकार केही मात्रामा भए पनि कमी हुने थियो ।

(लेखक ख्वप कलेज भक्तपुरमा एमएसी इन्भरामेन्टल साइन्सका उपप्राध्यापक तथा चीनको उहान युनिभर्सिटी अफ टेक्नोलोजीमा श्रोत तथा वातावरणीय इन्जिनियरिगमा विद्यावारिधि अध्ययनरत हुन् ।)

प्रतिक्रिया