निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गुल्मी । रोटरी क्लब अफ बुटवल डाउनटाउन र गुल्मीको छत्रकोट गाउँपालिकाको संयुक्त आयोजनामा श्रृंगामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा छत्रकोट गाउपालिकासँगै गुल्मीका आसपासका गाउँपालिका र अर्घाखाँचीबाटसमेत बिरामीहरू स्वास्थ्य परीक्षणका लागि आएका थिए । अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर समीर गौतमले प्रमुखअतिथि श्रेष्ठको स्वास्थ्य परीक्षण गरी शिविरको शुभारम्भ गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रदेश–५ का प्रदेशसभा सदस्य कमलप्रसाद श्रेष्ठले सहज स्वास्थ्य उपचारको पहुँचभन्दा टाढा रहेका बिरामीहरूलाई लक्षित गरी विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको भन्दै खुसी व्यक्त गरे । उनले नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने दायित्व राज्यको भए पनि समुदायस्तरबाट सञ्चालन गरिएको अस्पतालले राज्यको दायित्वसमेत पूरा गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा आएका बिरामीहरूको उपचार गर्ने मात्र नभई गाउँगाउँमा गई स्वास्थ्य शिविरमार्फत रोगको रोगथाम गर्ने उद्देश्यसहित अस्पतालको स्थापनाकालदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए । अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर समीर गौतमले दैनिक खानपान, आनिबानी र व्यवहारमा ध्यान दिनसके मुटु, मिर्गौलाजस्ता रोगहरू लाग्नबाट जोगिन सकिने बताए ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थको अध्यक्षता, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष पिताम्बर ज्ञवालीको स्वागत, सचिव शिव ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको शिविरमा गाउँपालिका–४ का वडाध्यक्ष डिलाराम न्यौपानेले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।  विशेषगरी मुटु, मिर्गौला तथा दमका विरामीहरूलाई लक्षित गरी आयोजना गरिएको शिविरमा आएका अधिकांश महिला तथा मुटुका बिरामीहरू रहेको डा। गौतमले जानकारी दिए ।

शिविरमा ७ सय १८ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुको साथै औषधिसमेत वितरण गरिएको थियो । त्यसैगरी सात सय जनाको सुगर परीक्षण, ५ सय ६९ जनाको इसिजी, ३५ जनाको पिएफटी, १ सय ७८ जनाको इको तथा २ सय १३ जनाको ल्याब परीक्षण गरिएको अस्पतालका प्रशासकीय अधिकृत कमल भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया