हाइड्रोपावर निर्माणले खोला नै पुरियो

दैलेख । जिल्लाको नौमुले गाउँपालिकामा सञ्चालित एक लद्युजलविद्युत् आयोजनाले वातावरणीय संरक्षणमा लापरवाही गरेको पाइएको छ । ४ दशमलव ५ मेगावाट क्षमताको पदमखोला साना जलविद्युत् आयोजनाले वातावरण संरक्षणमा लापरवाही गरेको पाइएको हो ।  आयोजना निर्माण कम्पनी डोल्टी पावरले पाइप लाइन खन्दा पदमखोला नै पुरिएको छ । पदमखोला कंक्रिटमा परिणत हुन थालेको छ । पदमखोला नै पुरिएर खोलाको नामनिसान नै नरहने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । खोला कंक्रिटमा परिणत भएसँगै खोला छेउका खेतीयोग्य जमिनसमेत जोखिममा परेको छ । आयोजना निर्माणस्थल भन्दा माथिल्लो भू–भागमा रहेको नौमुले गाउँपालिका–५ को नौ गाउँ बस्ती नै पहिरोको उच्च जोेखिममा परेको छ ।

आयोजनाले जीवजन्तु, वातावरण प्रभाव र मानव बस्तीको ख्याल नै नगरेको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । ‘असारे भेलले उर्वरभूमि बगाउने संकेत देखिएको छ,’ अध्यक्ष बुढामगरले भने, ‘माथिल्लो भागमा कृष्णभिर खसेजस्तै पहिरो आउने खतरा छ ।’ आयोजना निर्माणस्थल भन्दा माथिको बस्ती नै पहिरोको उच्च जोखिममा परेको अध्यक्ष बुढामगरले बताए । निर्माण कम्पनीले भविष्यमा हुनसक्ने जोखिमलाई कसरी रोक्ने भन्ने विषयमा सोच्नुपर्ने उनको भनाइ छ । खेतीयोग्य खेत नबग्ने गरी, बस्तीमा पहिरो नअनाउने गरी तटबन्ध निर्माण गर्नुपर्ने अध्यक्ष बुढामगरले बताए । विकासको नाममा विनास गर्न नहुने उनको भनाइ छ । ‘जलविद्युत् आयोजनाले स्थानीयलाई रोजगारी दिएको छ तर आयोजनाले वातावरण प्रभाव र मानव बस्तीको ख्याल गरेको छैन्,’ अध्यक्ष बुढामगरले भने ।

नौमुले गाउँपालिका–४ का वडाध्यक्ष गजबहादुर ढुंगामगरले आयोजनाबाट प्रभावित सरोकारवाला समिति र निर्माण कम्पनीबीच रोपनी अनुसार जग्गाको वर्गीकरण गरेर २ लाख ८० हजार, १ लाख ३० हजार, ८० हजार र भोगचलन गर्नेलाई ४० हजारका दरले मुआब्जा दिने सहमति भएको बताए ।

आयोजनाले क्षति पु¥याएको गुनासो आएपछि जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा सहितको टोलीले आयोजनास्थलको निरीक्षणसमेत गरेको छ । निरीक्षणपश्चात जिसस प्रमुख थापाले आयोजनाले पाइपलाइन खन्दा खोला पुरेको र मानव बस्ती नै जोखिममा पारेको बताए । ‘आयोजना निर्माणमा वातावरणलाई धेरै नै प्रभाव पारेको पायौँ’, उनले भने, ‘योजना निर्माण गर्दा हुने क्षति निर्माण कम्पनीले बेहोर्नुपर्छ ।’ आयोजनाबाट हुने क्षति र वातावरणीय प्रभावलाई कम गर्न निर्माण कम्पनीले चासो नदिए सरोकारवाला निकाय बोलाएर आयोजना निर्माणको काम रोक्ने प्रमुख थापाले बताए । आयोजना निर्माण कम्पनी डोल्टी पावरका सञ्चालन समितिका सदस्य कुमार कार्कीले खोलाका कंक्रिट हटाउने कार्य भइरहेको बताए । स्थानीयवासीको माग र आपसी सहमतिअनुसार नै काम गरेको उनको जिकिर छ ।

आयोजनाको काम अन्तिम चरणमा पुगेको बताउँदै सञ्चालक समिति सदस्य कार्कीले असार मसान्तसम्म निर्माणको काम सकिने बताए । आयोजना करिब ७३ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको कार्कीले बताए । नौमुलेमा ४ दशमलव ५ मेगावाटको यो तेस्रो आयोजना हो । नौमुले गाउँपालिका–४ मा बाँध बाँधेर ३२ सय मिटरको दुरीबाट नौमुले गाउँपालिका–५ मा पानी खसालिएको छ । हाल पदमखोला वरपरका खेतमा रोपाइँ सुरु भएको छ ।

प्रतिक्रिया