नेपाल चिकित्सक संघले गर्यो भारतीय डाक्टरको समर्थन

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले पेशागत सुरक्षाका लागि भन्दै भारतमा भइरहेको चिकित्सकहरूको आन्दोलनप्रति समर्थन जनाएको छ । एनएमएका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै पेशागत सुरक्षाका लागि इन्डियन मेडिकल एसोसिएसन पश्चिमबंगाल ब्रान्चले गरेको आन्दोलनमा समर्थन जनाएका हुन् ।

गत सोमबार कलकत्तास्थित एनआरएस मेडिकल कलेजमा उपचारत बिरामीको मृत्युपछि स्थानीय गाउँले आएर डिउटीमा रहेका चिकित्सकलाई मरणासन्न हुने गरी कुटेका थिए । कुटाईबाट गम्भीर घाइते भएका एक चिकित्सकको ज्यान गएको बताइएको छ । पश्चिम बंगालका जुनियर आवासीय चिकित्सकहरूले पाँच दिन अघि सुरु गरेको आन्दोलन अहिले देशव्यापी बनेको छ । इन्डियन मेडिकल एसोसिएसनले शुक्रबारदेखि नै देशव्यापी विरोधको कार्यक्रम सुरु गरिसकेको छ । समस्या समाधान नभए आगामी सोमबारदेखि देशव्यापी रूपमा सेवा बन्द हुने घोषणा गरिसकेको छ ।

यस्तो थियो घटना ?
कलकत्तास्थित एनआरएस मेडिकल कलेज शिक्षण अस्पतालमा गत सोमबार बेलुका हृदयघात भएका ७५ वर्षीय मोहम्मद सइदलाई परिवारले उपचारका लागि भर्ना गरेका थिए । राती उनलाई दोस्रो पटक हृदयघात भयो । रातीमा ड्युटिमा रहेका जुनियर डाक्टरले जीवन रक्षक इन्जेक्सन त दिए तर उनी बाँचेनन् ।

उनको हेरचाहमा बसेका परिवारका सदस्यहरूले ती जुनियर डाक्टरमाथि इन्जेक्सनबाट गलत औषधि दिएका कारण ज्यान गएको आरोप लगाए । उनीहरूले यो कुरा आफ्नो गाँउमा पनि सुनाए र अस्पतालमा बोलाए । त्यसलगत्तै गाँउबाट राती ११ बजे दुईवटा ट्रकमा युवाहरू आए र ड्युटिमा रहेका डाक्टर परिवह मुखर्जी र यश टेकवानीलाई पिटे ।

पिटाई खाएका डाक्टर मुखर्जीको टाउकोमा गम्भीर चोट लाग्यो, टाउकाको हड्डी फुट्यो । सहकर्मी डाक्टरहरूले उनलाई निजी नर्सिङ होममा लगेर जटिल शल्यक्रिया गरे । डिउटीमा रहेका आफ्ना सहकर्मीमाथि कुटपिट गरेपछि जुनियर डाक्टरहरूले आकस्मिक सेवासमेत ठप्प पारेर विरोधमा उत्रिए ।

अर्को दिन यो खबर कलकत्ताभरी फैलियो । अर्कोे मेडिकल कलेजमा पनि यस्तै किसिमको तनावको स्थिति सिर्जना हुन लाग्यो । गत बुधबार वर्दवान र मेदिनीपुर मेडिकल कलेजका डाक्टरले पनि घटनाको विरोधमा प्रर्दशन गरे । बिरामीको आफन्तसँग उनीहरूको पनि झडप भयो । त्यहाँ थप चार जना डाक्टर घाइते भए । यो घटनाको विरोधमा अधिकांश सरकारी डाक्टर आन्दोलनमा सहभागी भए । जसका कारण स्वास्थ्यसेवा प्रभावित भयो । पश्चिम बंगाल राज्यमा रहेको कुल १८ मेडिकल कलेजमध्ये १३ सरकारी छ । तर आन्दोलनका कारण सबै ठाउँमा बिरामीले दुख पाउन थालेका छन् ।

गत बुधबार नै नेसनल मेडिकल कलेजमा उपचारको अभावमा ३१ वर्षकी शिखा नाम गरेकी एक बिरामीको मृत्यु भयो । उसलाई स्वासप्रश्वासमा समस्या थियो । कोलकत्तामा उपचार नभएपछि परिवारले कैनिङ अस्पतालमै फिर्ता गरे तर त्यहाँ पनि उनको उपचार भएन अन्तमा उनको ज्यान गयो ।

आन्दोलनपछि गत बिहीबार अस्पतालको अनुगमनमा निस्केकी मुख्यमन्त्री ममता बनर्जीले घटना राजनीतिक रूपमा प्रेरित हुँदै गएको भन्दै डाक्टरलाई तत्काल सेवामा फर्कन चेतावनी दिइन् । उनले आन्दोलन छाडी सेवामा फर्किन चार घण्टाको अल्टिमेटम दिइन । यसले स्थिति थप तनावग्रस्त बन्यो । पश्चिम बंगालको डाक्टरको समर्थनमा दिल्ली, महाराष्ट, गुजरात, आन्द्रप्रदेश, उत्तरप्रदेश गरी सबैजसो भागबाट चिकित्सकहरूले विरोध जनाउन थाले ।

शुक्रबार दिल्लिमा सरकारी चिकित्सक तथा आवासीय चिकित्सकहरू आकस्मिकबाहेकका सेवा छाडेर प्रदर्शनमा उत्रिएका छन् । प्रर्दशनले दिल्लीमा रहेको अखिल भारतीय आयुर्वेद विज्ञान संस्थान (एम्स) बाहेक अधिकांश सरकारी अस्पतालमा बिरामीको बेहाल भएको छ । एम्सको रेजिडेन्टस डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. राजीव रञ्जनले भने, ‘बिहीबार डाक्टरहरूले कोलकत्ताको घटनाको विरोधमा मौन प्रर्दशन गरेका थिए । तर, अहिले भने हामी सडकमै उत्रिएर प्रदर्शन गर्दैछौँ ।’

यसैबीच एम्स अस्पतालका आवासीय चिकित्सकहरूले शनिबारै केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनलाई भेटी कोलकत्ता घटनाबारेमा छलफल गरेका छन् । सो क्रममा मन्त्री डा. हर्षवर्धनले मुख्यमन्त्री बनर्जीसँग राजनीतिसँग नजोडी हेर्न आग्रह गरेको बताए । उनले फेरि पनि माग सम्बोधन गर्न आफूले प्रयास थालिसकेको बताए ।

प्रतिक्रिया