काठमाडौं । जेठको अन्त्यसँगै देशका सबै क्षेत्रमा गर्मी अत्याधिक बढेको छ । राजधानी काठमाडौंमा पनि शनिबार यस वर्षकै उच्च तापक्रम पुगेको मौसमविद्ले बताएका छन् । अहिलेसम्म नेपालगञ्जको तापक्रम सबैभन्दा अत्यधिक रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालको सबैभन्दा गर्मी हुने ठाँउका रूपमा नेपालगञ्ज रहेको छ । गत वैशाखमा यहाँको तापक्रम ४३ डिग्रीभन्दा माथि पुगेको थियो । पानी नपर्दा सो क्षेत्रको तापक्रम निरन्तर उकालो लागिरहेको छ । यता, काठमाडौंको तापक्रम पनि यो वर्षकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ । शुक्रबार काठमाडौँको अधिकतम ३३ दशमलव ५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो । काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीन÷चार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ ।
शनिबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२ तथा दाङको ३९ डिग्री सेल्सियस रहेको छ । तराईका जिल्लामा अत्यधिक गर्मीका कारण केही जिल्लामा विद्यालय नै एकसातासम्म बन्द गरिएको छ । गर्मीले सर्वसाधारण छटपटिएका छन् । ४०÷४१ डिग्रीसम्म तापक्रम पुग्दा जनजीवन नराम्ररी प्रभावित बनेको हो । अहिलेको उच्च गर्मीमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन, स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् । प्रचण्ड गर्मीमा अनियमित रूपमा भैरहेको विद्युत् कटौतिले तराईवासी झन् हैरान भएका छन् ।
प्रतिक्रिया