क्यारिकेचर धेरै अगाडिदेखि प्रयोगमा आएको रूपविन्यासको एक सशक्त कला शैली हो । विश्वका धेरै मुलुकमा क्यारिकेचरको प्रयोग हुने गर्दछ । ठूला ठूला नेता, खेलाडी, सामाजिक व्यक्तित्व, साहित्यकार, कलाकार, उद्योगपतिको क्यारिकेचर बनाउने प्रचलन रहिआएको छ । अझ यस विधाको छुट्टै विकास गर्नका लागि इन्टरनेसनल क्यारिकेचर सोसाइटी नामक संस्था पनि स्थापना गरिएको छ । यसमा विभिन्न देशका ५ सयभन्दा बढी सदस्य छन्
मनोवैज्ञानिक प्रभाव बारे कुरा गर्दा क्यारिकेचरलाई हास्य प्रदानका रूपमा लिइन्छ । जब मानिस रिसाएर कोठाभित्र प्रवेश गर्दछ । तब उसले क्यारिकेचर चित्रलाई हेर्दछ अनि उसको रिस एकाएक कम हुँदै जान्छ । उ रिसबाट मुक्त हुन सक्छ । अतः क्यारिकेचर चित्रलाई सबै घर–घरमा राख्न सके यसले सकारात्मक माहोल सिर्जना गर्न सहयोग गर्दछ । क्यारिकेचरलाई रिस न्यूनीकरणको अचुक उपायका रूपमा समेत विश्वमा लिने गरिन्छ ।
हामीकहाँ क्यारिकेचरको थालनी महाभारत र रामायणकालीन समयदेखि नै सुरु भएको हो भन्दा अत्योयुक्ति नहोला । कृष्णलाई दूध चुसाएर मार्नका लागि कंशले पुतनालाई पठाएका थिए । पूतना स्वयंमा राम्री युवती थिइन् तर उनको शारीरिक रूपलाई अतिरञ्जना गरेर भीमकाय, डरलाग्दो पूतना बनाइएको थियो । पछि कृष्णले दूध चुसेर नै पूतनाको बध गरे । यस्तै, अनेक राक्षसलाई महाभारतमा पनि अनिरञ्जना गरेर सिर्जना गरिएको छ । यिनीहरूलाई सिर्जना गर्नुपर्ने कारण शक्ति, प्रदर्शन, भय दर्शाउनु नै हो ।
यता, प्रताप मल्ल पुत्रशोकबाट मुक्त गर्न लक्ष्य राखेर प्रहसन, जात्राहरू सुरु गरिएको इतिहास छ । जात्रामा घर–घरबाट निस्किएका व्यक्तिहरूको मुहार अतिरञ्जना गरेर मृतात्माको आत्मा शान्तिकामना गर्दै गल्ली, चोकचोक तथा सहरमा घुम्ने प्रचलन अहिलेसम्म जारी छ । अतिरञ्जना गर्नु भनेको हँसाउनु नै हो । हँसाएर रिस, शोक न्यूनीकरण गर्नु नै हो भन्ने कुरा त्यसबेला पनि बुझेका थिए र अहिलेको बुझाइसमेत यही नै छ ।
यस्तै, पञ्चायती शासन कालमा आवभाव, शब्द र रेखाको अतिरञ्जना गरेर क्यारिकेचर गरिन्थ्यो । कहिलेकाहीँ तिखो क्यारिकेचर भयो भने पकडेर थुनिदिन्थे । समयक्रममा कार्टुनबाट क्यारिकेचर विकसित हुँदै जानुपर्ने हो तर विशुद्ध क्यारिकेचर, कार्टुन बनाउन सकस हुनुपर्ने स्थिति आयो । अझ क्यारिकेचरका लागि चेतनाशील समाज हुनुपर्छ । क्यारिकेचर कुनै व्यंग्य होइन । क्यारिकेचर प्रतिष्ठित व्यक्तिको क्यारिकेचर चित्र बनाइँदै छ भने ती व्यक्तिले गर्व गर्नु पर्दछ । समाजमा चिन्दै नचिनेको व्यक्तिको क्यारिकेचर कसैले पनि बनाउँदैनन् । क्यारिकेचर बनाइदिनु भनेको इज्जत गरेको ठान्नुपर्दछ ।
समय त्यति टाढा छैन्, एउटा वेला त्यस्तो पनि आउने छ । जब सामाजिक प्रतिष्ठित व्यक्तिले कलाकारलाई बोलाए आफ्नो क्यारिकेचर बनाइदिन अनुरोध गर्नेछन् । त्यस्तो समय कसैले ल्याउने पनि होइन कलाकार स्वयंले ल्याउने हो । त्यसका लागि सबै प्रयासरत् रहनु पर्दछ । हामीले, क्यारिकेचरको महत्व पनि थाहा पाइराख्नु पर्छ ।
१. क्यारिकेचरले रिस न्यूनीकरण गर्न मद्दत गर्दछ ।
२. क्यारिकेचर एक मनोविज्ञान हो । यसले मनलाई प्रफुल्ल बनाउँछ ।
३. क्यारिकेचरले सामाजिक प्रतिष्ठा अभिवृद्धि गर्दछ ।
४. क्यारिकेचरले व्यक्तिलाई चिनाउन मद्दत पु¥याउँदछ ।
५. क्यारिकेचर भनेको सभ्य समाजको प्रतिष्ठा पनि हो ।
आम मानिसहरू ‘क्यारिकेचर’ भनेपछि हास्य कलाकारहरू मनोज गजुरेल, शिव पौडेल, जितु नेपाल, दीपकराज गिरी, दिपाश्री निरौला लगायतले रंगमञ्चमा उभिएर नेतालगायत, सिने कलाकारको नक्कल गरेर डायलग बोलेर, पेट मिचिमिची हँसाउने नै सम्झिन्छन् । वास्तवमा त्यो पनि क्यारिकेचर नै हो ।
तर, कार्टुन कलाभित्रको क्यारिकेचर चाहिँ अलिक भिन्न छ । कार्टुनकला भित्रको क्यारिकेचर भन्नाले कुनै पनि वस्तु वा व्यक्तिको वास्तविक रूपलाई आधार मानी त्यसलाई प्रभावकारी ढंगबाट अतिरञ्जना यसरी प्रस्तुत गर्नु हो । क्यारिकेचर जसको बनाइएको हुन्छ, उसको अनुहार चिनिनुपर्छ । मुहार नै क्यारिकेचरको महत्वपूर्ण पक्ष हो । मुहारमा भएका विशेषतालाई उतार्न जान्नु पर्दछ र त्यसलाई अतिरञ्जना गर्न सक्नुपर्छ तर अतिरञ्जना विकृतियुक्त हुनु हुँदैन । यस कुरामा कार्टुनिस्टहरू सधैँ सजग रहनुपर्छ ।
क्यारिकेचरमा स्वस्थ्य अतिरञ्जना हुनै पर्छ । ‘फोटोलाई तोडमोड गरी क्यारिकेचर गरेको छु,’ कसैले भन्छन् भने त्यसलाई क्यरिकेचर मान्न सकिन्न । क्यरिकेचरको आफ्नै व्याकरण छ । एउटै व्यक्तिको क्यारिकेचर थरिथरीका हुन सक्छन् । सबैले एउटै विशेषतालाई टिपेर क्यारिकेचर बनाउन पनि सक्छन्, नबनाउन पनि सक्छन् । अतः क्यारिकेचर बनाउने कार्टुनिस्टको आफ्नै दृष्टिकोण, आफ्नै विशेषता हुन्छ ।
क्यारिकेचर शब्दको प्रयोग होगार्थले इ.स. १७४८ मा अंग्रेजीमा गरेका हुन् । प्राचीन समयमा पनि व्यक्तिहरूको पोट्रेट माथि रूपविन्यास गरेर क्यारिकेचर गरिन्थ्यो । क्यारिकेचरका लागि एनिबेल कारास्सिलाई सधैं सम्झिने गरिन्छ । कारास्सिका तीन जना बोलोजिनेसी, लुडुभिसो र उसका काका अगोस्टिनो तथा एनिवेल दाजुभाइलाई क्यारिकेचरका लागि स्मरण गर्ने गरिन्छ । कलाकार एनिवेल (१५६०–१६०९) कलाकार लुडुभिसोका शिष्य थिए । एनिवेल र उसका दाजुभाइ मिलेर बोलोगनाको फाभा र मागनानी डेकोरेसन गरेका थिए ।
एनिवेलले बनाएका ड्रंइगहरू क्यरिकेचर हुन् भनिएका छन् । उनका क्यारिकेचर ड्रइगलाई क्लासिज्मका आर्दश हुन् पनि भनिएको छ । उनले बनाएका ड्रइग चित्रहरू एम्टरडम, बर्लिन, बोलोगना, बोस्टन, मिलान, म्युनिख, भियना, नेपल्स आदि सहरका कला संग्रहालयमा संकलनमा रहेका छन् । ‘Caricar’ (क्यारिकेचर) शब्द इटालियन हो । यसको अर्थ अतिरञ्जना अर्थात् Exaggerate/exaggration गर्नु हो ।
अतः क्यारिकेचर धेरै अगाडिदेखि प्रयोगमा आएको रूपविन्यासको एक सशक्त कला शैली हो । विश्वका धेरै मुलुकमा क्यारिकेचरको प्रयोग हुने गर्दछ । ठूला ठूला नेता, खेलाडी, सामाजिक व्यक्तित्व, साहित्यकार, कलाकार, उद्योगपतिको क्यारिकेचर बनाउने प्रचलन रहिआएको छ । अझ यस विधाको छुट्टै विकास गर्नका लागि इन्टरनेसनल क्यारिकेचर सोसाइटी नामक संस्था पनि स्थापना गरिएको छ । यसमा विभिन्न देशका ५ सयभन्दा बढी सदस्य छन् ।
नेपालमा कार्टुनकलाको विकास १९९७ सालतिर भएको हो । तर, रेखा र रङमा क्यारिकेचर विधाको विकास भर्खर भर्खर मात्र भएको हो । यस विधालाई उठाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको अहं भूमिका रहेको छ । अतः क्यारिकेचरको संस्थागत प्रयासको थालनी भने ०७४ सालदेखि नै भएको हो । क्यारिकेचरसम्बन्धी कार्यशाला आयोजना गरेर कलाकार एवं कार्टुनिस्टलाई शिल्पदक्ष बनाउने क्रममा कार्टुनिस्ट क्लब अफ नेपालको प्रयासको निकै प्रशंसा गर्नै पर्दछ । कार्टुन र क्यारिकेचर छुट्टाछुट्टै शैलीगत विधा हुन् । कार्टुन–क्यारिकेचर होइन र क्यारिकेचर कार्टुन होइन । तर, एउटै वृक्षका हाँगा भने हुन् । ती हाँगाहरूको विभेद कलाकारले छुट्टाउन सक्ने क्षमता राख्नुपर्दछ ।
यस क्रममा ०७४ सालको नेपाली क्यारिकेचर क्याटलगमा परेका क्यारिकेचरलाई एकै थलोमा समेटिएर प्रदर्शनीसमेत गरिएको पहिलो प्रयास निकै सार्थक भएको थियो । पच्चीस जना कलाकारका थरिथरीका क्यारिकेचर चित्र क्याटलगमा समेटिएका थिए । यस क्याटलगलाई अध्ययन गर्दै जाँदा कलाकार अविन श्रेष्ठले बनाएको अनुराधा कोइराला, वासु क्षितिजले बनाएको खगेन्द्र संग्रौला, दीपक गौतमले बनाएको मह जोडी, देवेन्द्र थुम्केलीले बनाएको तत्कालीन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, जीवन राजोपाध्यायले बनाएको लैनसिंह बांदेल, एनबी गुरूङले भुवन केसी, राजेश मानन्धरले बनाएको चिकित्सक प्रा.डा.गोविन्द केसी, सानुराज डंगोलले बनाएको अनुराधा कोइराला, उमेशचन्द्र अधिकारीले बनाएको झमककुमारी घिमिरे, रविन्द्र मानन्धर, रामकृष्ण थापालगायतका कलाकारले बनाएका रूपविन्यास क्यारिकेचरको प्रशंसा गर्नुपर्दछ ।
त्यसैगरी, ०७५ सालको नेपाली क्यारिकेचर क्याटलगमा रंगीन कलेवरमा ३२ जना कलाकारले बनाएका क्यारिकेचर समेटिएका थिए । अघिल्लो वर्षमा झैँ ०७५ सालमा पनि राजनेताबाहेक समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिको व्यक्तित्व झल्किने क्यारिकेचर दर्शकको रोजाइम परेका थिए । यस क्याटलगमा अविन श्रेष्ठले महावीर पुनको, वासु क्षितिजले अभि सुवेदी, देवेन्द्र थुम्केलीले भैरव रिसाल, कलाकार मनुजबाबु मिश्रले आफ्नै क्यारिकेचर, नविन नाल्बोले गोपाल कलाप्रेमी, राजेश मानन्धरले राष्ट्रकवि माधव घिमिरे, रामकृष्ण थापाले किशोर नेपाल, रमिला महर्जनले वसुन्धरा भुसाल, सन्तोष विष्टले अनुराधा कोइराल, सागर शाहले नीर शाह, सानुराज डंगोलले क्रिकेटर सन्दीप लामिछाने, शुभा जोशीले दिपाश्री निरौला, उमेशचन्द्र अधिकारीले राजेश हमाल, अविनाश मल्लले भुवन केसी, केशव राज खनालले रागिनी उपाध्याय, योगेशकुमार खपांगी लगायतका कलाकारले बनाएका चित्रमा रूपविन्यास राम्रो भएर क्यारिकेचरमा प्रगति भएको देखिन्छ ।
यस अध्ययनले के देखाउँछ भने क्यारिकेचर कलाकारलाई रूपविन्यासको विशेष प्रशिक्षण, तालिम दिनुपर्ने देखिन्छ । त्यसैगरी कलेजमा क्यारिकेचरको औपचारिक शिक्षा सुरु गर्नुपर्ने आवश्यकता महशुस भएको छ । त्यस्तै, कलेजमा समय समयमा थप कार्यशाला, विचार–विमर्श, चर्चा–परिचर्चा आयोजना गर्नुपर्ने हुन्छ । यस कामका लागि प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपाल दुवैले अझ सक्रिय भएर अगाडि बढ्नुपर्दछ ।
यस क्रममा ०७६ सालको नेपाली क्यारिकेचर प्रदर्शनी जेठ ३० गतेदेखि सुरु भएर ३२ गते अर्थात् आज सकिँदै छ । यसपटक ४० जना कलाकारले बनाएका नेपाली समाजमा विभिन्न क्षेत्रमा रहेर काम गरेका विभिन्न व्यक्तित्वका ६० वटा क्यारिकेचर प्रदर्शनीमा राखिएको छ । नेपाल आर्ट काउन्सिलमा गरिएको प्रदर्शनीमा राखिएका क्यारिकेचरले नेपाली कला क्षेत्रमै लामो समयसम्म प्रभाव देखिन्छ । गतवर्ष भन्दा गुणात्मक एवं संख्यात्मक रूपमा कलाकारले क्यारिकेचर बनाएको र अझ प्रभावकारी रूपमा काम गर्नुपर्दछ भन्ने जिम्मेवारी समेत सिकाएको छ । राजनेताबाहेक सामाजिक प्रतिष्ठित व्यक्तित्वका क्यारिकेचर कला प्रदर्शनीमा राखिएको छ । धेरै कलाकारको सहभागिता र व्यापक जनचासोले नेपालमा क्यारिकेचर कला फस्टाउँदै गएको प्रतित हुन्छ ।
प्रतिक्रिया