मुगु । जिल्ला अस्पताल मुगुमा सर्पदंशको औषधि अभाव भएको छ । सर्पले डसेर उपचार गर्न जिल्ला अस्पताल मुगुमा उपचार गर्न आउने बिरामी सर्पदंशको औषधि नपाएर रित्तो हात फर्कन बाध्य भएका छन् ।
त्यस्तै रित्तो हात फकिर्नु परेको छायाँनाथ रारा नगरपालिका–४ भामवाडा गाउँकी राममाया भामले गुनासो गरिन् । मंगलबार भामलाई घर नजिकै घाँस काट्ने क्रममा सर्पले डसेको थियो । उपचारका लागि जिल्ला अस्पताल आउँदै गर्दा अस्पतालका मेडिकल अधिकृत डबलबहादुर मल्लले जिल्ला अस्पतालमा सर्पदंशको औषधी अभाव छ भन्दै मेडिकलमा सामान्य उपचारपछि बाहिर जिल्ला जान सल्लाह दिएका थिए ।
तत्काल बाहिर जिल्ला लानुपर्ने मुगुमा सर्पदंशको औषधि अभावमा छ भनेपछि आफू छाँगाबाट खसेजस्तै भएको बिरामीले बताइन् । डाक्टरले तत्काल लानुपर्न भने पनि यातायाताको सहज पहुँच नहुँदा बुधबार मात्र उपाचारका लागि नेपालगञ्ज भेरी अस्पतालमा लगिएको र उपचार भइरहेको बिरामीका आफन्त धीरेन्द्र महतारले जानकारी दिए । यता जिल्ला अस्पताल मुगुका मेडिकल अधिकृत डबलबहादुर मल्लका अनुसार जिल्ला अस्पताल मुगुमा लामो समयदेखि सर्पदंशको औषधि अभाव भएको बताए । मुगुमा खासै सर्पदंशको औषधि नआउने र सर्पदंशका बिरामी पनि नआउने भएकाले यस्तो भएको हो ।
हिमाली जिल्लामा सर्पदंशको समस्या छैन भन्दै औषधि नपठाउने गरेको छ । आएका बिरामीलाई औषधि अभावले गर्दा बाहिर जिल्ला पठाउनुको विकल्प नभएको डाक्टर मल्लको भनाइ छ । भौगौलिक विकटता यातायातको सहज पहुँच नहुँदा मुगुका बिरामीले औषधि अभावमा अकालमा ज्यान गुमाइरहेका छन् । सुविधा सम्पन्न अस्पतालमा पुग्न हवाइजहाजको पखाईमा बस्नुपर्ने हुन्छ । कहिलेकाहीँ मौसम खराबीका कारण हवाइजहाज नआएको खण्डमा बिरामीको मर्नुबाहेक अरू केही विकल्प बाँकी रहँदैन ।
प्रतिक्रिया