चितवन । स्थानीय तहको निर्वाचनका वेला गणना गरिरहेको मतपत्र च्यात्ने दुई जनालाई चितवन जिल्ला अदालतले कसुर ठहर हुने आदेश गरेको छ । च्यातिएको दुई वर्ष पुरानो मुद्दामा बिहीबार अदालतले आदेश सुनाउदै दोषी ठहर गरेको हो ।
जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेले स्थानीय तह निर्वाचनका बेलामा मतगणना भइरहँदा मतपत्र च्यातिएको घटनामा कसुरदार ठहर हुने आदेश गरेका छन् । कसुर ठहर भए पनि उनीहरूको सजाय निर्धारण भएको छैन । ‘दुवैजना दोषी ठहर भएका छन् ।
उनीहरूलाई अब के कति सजाय गर्ने भन्ने बारेमा अर्को पेसीमा फैसला हुन्छ’ चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले भने । सजाय निर्धारणका लागि असार ५ गतेलाई पेसी तोकिएको छ । यो मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग गरेको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग भएको छ ।
मुद्दा दर्ता भएर थुनछेक आदेश भएको दुई वर्ष नाघेपछि बिहीबार उक्त मुद्दामा पहिलो पटक बहस भएको थियो । यसअघि २४ औं पटकसम्म पेसी तोके पनि सधैं स्थगित हुने गर्दथ्यो । शिवाकोटी र न्यौपानेविरुद्ध ७४ सालको जेठ १७ गते मुद्दा दायर भएको थियो । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्रहरू च्यातिएका थिए ।
प्रतिक्रिया