सल्यान । बालविवाहलाइ न्यूनीकरण गर्ने अभियान स्वरूप जिल्लाको एक विद्यालयले आफ्नाे विद्यालयमा अध्यनरत बालबालिकाले बालविवाह गरेमा विद्यालय प्रवेशमा निषेध गर्ने गरेको छ । जिल्लाको शिद्दकुमाख गाउँपालिकामा रहेको निराजन मावि ढोरचौरमा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले बालविवाह न्यूनीकरण अभियान थालिएको छ ।
पढ्ने लेख्ने उमेरमा बालविवाह गरी सानै उमेरमा विभिन्न समस्या भोग्दै आएका बालबालिकालाई लक्षित गरी बालविवाह न्यूनीकरण अभियान थालिएकोे विद्यालयका प्रअ धर्मराज घर्तीले जानकारी दिएका छन् । ‘कानुनले बालविवाह गर्नु गराउनु अपराध हो भने पनि जिल्लामा भने बालविवाह गर्ने क्रम नरोकिएपछि विद्यालयले नै बालविवाह न्यूनीकरणको अभियान थालेको हो’, उनले भने ।
आफ्नाे विद्यालयले बालविवाहसम्बन्धी थालेको अभियानले बालविवाह न्यूनीकरणमा मद्दत पुगेको विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले बताएका छन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुमा बुढाथोकीले बालविवाहबाट पर्ने असरका बारेमा जानकारी दिँदै यस कुराको जानकारी हुँदाहुँदै पनि बालविवाह भइरहेको अवस्थामा यस विद्यालयले राम्रो अभियान थालेको बताइन् ।
विद्यालयले अभियान थालेपछि भने हाल आएर बालविवाह गर्नेहरूको संख्या घट्दै गएको उनको भनाइ छ । ‘बालविवाह गैरकानुनी विवाह हो यस विषयमा हामीलाई विद्यालयमा शिक्षकले राम्रोसँग जानकारी गराउनु भएको छ’। उनले भनिन, ‘अहिले त कसैले जबरजस्ती बालविवाह गराउन लागेमा समेत हामी गएर त्यस्ता अभिभावकलाई सम्झाउन सक्नेसम्म भएका छौँ ।’
उनले बालविवाह न्यूनीकरण भएपछि बालबालिकाको आफ्नो विकासका साथै समग्र देशकोसमेत विकास हुने बताइन् । उमेर पुगेपछि विवाह गरेपछि आपूm आत्मनिर्भर हुनुका साथै अरूलाइसमेत सम्झाउन सक्ने यस विद्यालयमा अध्ययनरत बालबालिकाले बताएका छन् । ‘यस विद्यालयमा बालविवाह न्यूनीकरणको अभियान नभएको भए हामी पनि बाल विवाहमा फस्थ्यौँ होला’, उनले थपिन्, ‘हाम्रा धेरै सहपाठीहरूले दुःख पाउन सक्थे तर अहिले त्यस्तो छैन ।’
विगत चार वर्षदेखि निरन्तर बालविवाह न्यूनीकरण अभियानमा लागेको यस विद्यालयलाई जिल्ला अदालत सल्यानले पुरस्कृतसमेत गरेको छ । बालविवाह गर्नेहरूलाई पठनपाठनबाट वञ्चित गर्ने उद्देश्य नराखी विद्यालयमा मात्र नभई यस भेगमा हुने गरेका बालविवाहलाइ समेत न्यूनीकरण गर्ने उद्देश्यले यस अभियानको सुरुआत गरेको शिक्षक दुर्गाबहादुर बोहराले जानकारी दिए ।
केही वर्षअघिसम्म भयावह रूपमा वृद्धि भइरहेको बालविवाह गर्नेको संख्यामा अहिले आएर भने केही मात्रामा भए पनि कमी आएको शिक्षक बोहराको भनाइ छ । ‘यस क्षेत्रमा विगतको भन्दा अहिले बालविवाह गर्नेहरूको संख्यामा कमी आएको छ’, विद्यालयका शिक्षक बोहराले भने, ‘अहिले पनि छिटपुट रूपमा बालविवाह हुने गरेको भए पनि पहिलेको भन्दा धेरै कम भएको छ ।’
बालविवाह बढ्दै गइरहेको अवस्थामा जिल्लामा पछिल्लो समय बालविवाह न्यूनीकरणसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । जिल्लामा विद्यालयले मात्र नभई स्थानीय तहले समेत बालविवाह न्यूनीकरण सम्बन्धीका विभिन्न अभियानको थालनी गरेका छन् । जिल्लाको बागचौर नगरपालिका र दार्मा गाउँपालिकाले आफ्नाे क्षेत्रभित्र कसैले विवाह गर्न लाग्यो भने अनिवार्य रूपमा जन्मदर्ता सम्बन्धित गाउँपालिका वा नगरपालिकामा बुझाउनुपर्ने अभियान चलाएको छ ।
प्रतिक्रिया