कृषकलाई हाते ट्याक्टर वितरण

डोटी । जिल्लाको जोरायल गाउँपालिकाले वडा नं २ मा रहेको जनचेतना कृषक समूहलाई खेत जोत्न हाते ट्याक्टर वितरण गरेको छ ।

कृषकलाई खेत जोत्नमा सजिलो होस भन्ने उद्देश्यका साथ गाउँपालिकाको रु चार लाख तीन हजारको अनुदानमा उक्त कृषक समूहलाई ट्रली जडान सहितका दुई वटा हाते ट्याक्टर वितरण गरिएको वडा सदस्य महेन्द्र थापाले बताए । उनले भने, ‘स्थानीय किसानलाई खेत जोत्न समस्या भएका कारणले अहिले हामीले जनचेतना कृषक समूहलाई दुई वटा हाते ट्याक्टर दिएका छौँ, बाँकी क्रमिक रुपमा अरुलाई पनि दिने योजना छ ।’

गाउँपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेपछि अहिले सो वडाका किसानलाई खेत जोत्नमा निकै सहुलियत भएको समूहका अध्यक्ष तुलाराम साउदले बताए । तरकारी खेतीलगायत अन्य खेतीमा प्रविधिको प्रयोग गरी बढी उत्पादन गर्न सहयोग पुर्याउने उद्देश्यले हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

गाउँपालिकाको ७० प्रतिशत र कृषक समूहको ३० प्रतिशत लगानीमा ट्याक्टर वितरण गरिएको हो । हाते ट्याक्टर खरीदका लागि कृषक समूहले रु ८० हजार लगानी गरेको छ । उक्त समूहमा २५ जना सदस्य आबद्ध छन् । ट्याक्टर समूहका कृषकले आवश्यकताअनुसार समय मिलाएर प्रयोग गर्ने नियम रहेको उक्त समूहका कोषाध्यक्ष निर्मला विकले बताइन् ।

यसअघि गाउँपालिकाले आफ्नो वडामा रहेका विभिन्न कृषक समूहलाई बाख्रापालन तथा घाँस वितरण र प्लाष्टिक घर वितरण गर्नुका साथै, थोपा सिँचाइ, ‘मलचिङ’ प्रविधिको तरकारी खेतीसम्बन्धी तालीमसमेत प्रदान गरिसकेको छ । गाउँपालिकालाई नमूना तथा हरियाली बनाउन विभिन्न ठाउमा वृक्षरोपण गरिनुका साथै सरसफाइका लागि डस्टबिनसमेत गाउँपालिकाले वितरण गर्ने योजना बनाएको बताइएको छ ।

प्रतिक्रिया