नेपाली कांग्रेसको आह्वानमा ०३० सालमा विराटनगरबाट काठमाडाैंको लागि उडेको विमान अपहरणका मुख्यकर्ता हुन्, कांग्रेस नेता वसन्त भट्टराई । उक्त अपहरणको सम्पूर्ण योजनाकार थिए पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला । करिब २७ मिनेटका समयमा भएको उक्त अपहरणको मुख्य उद्देश्य राज्यको सम्पत्तिले राज्यसत्ताकै विरुद्ध संघर्ष गर्नुरहेको भट्टराई बताउँछन् । प्लेन अपहरणगरी ३० लाख भारतीय रुपैयाँ लिएर हिँडेका उनीहरूले त्यो पैसा क्रान्तिका लागि हतियार किन्नमा खर्चिएको उनको भनाइ छ । यसै सेरोफेरोमा वसन्त भट्टराईसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादः
पार्टीले क्रान्तिमा होमिने निर्णय गरेको थियो । क्रान्ति सहज थिएन, पार्टीमा पैसा हतियार केही थिएन । निरंकुश पञ्चायती व्यवस्थामा समयमा क्रान्तिजस्तो कुरा त्यत्तिकै हुने पनि भएन । क्रान्तिलाई टुंगोमा पुर्याउने र प्रजातन्त्र स्थापना गर्न आन्दोलन आवश्यकता पार्टीले महसुस गरेको थियो । त्यो पूरा गर्नका लागि हामी प्लेन अपहरणमा सहभागी भयौँ ।
भारतको फारबिसगञ्जमा पार्टी कार्यालय थियो । त्यहाँ गिरिजा कोइराला लगायतका नेताहरू बस्थे । म भने नेविसंघमा काम गर्ने भएकाले फारबिसगञ्जमा आउजाउ भइरहन्थ्यो । पार्टीको निर्देशनमा हतियार वा पर्चा सम्बन्धित ठाउँमा पुर्याउनुको साथै विराटनगरमा नेविसंघले गर्नुपर्ने राजनीतिक काम गर्थें ।
विराटनगरमा हाम्रा केही राजनीतिक समूह थिए । तर, एउटै पार्टीमा भए पनि एउटा समूहले के गर्दै छ अर्को समूहलाई थाहा हुँदैन थियो । सुरक्षाका कारण सबै काम गोप्य रुपमा हुने गथ्र्यो । माथिल्लो तहका नेतालाई मात्रै सबै कुरा थाहा हुन्थ्यो, हामी उहाँहरूकै निर्देशनमा चल्थ्यौँ । सबै कामको निर्देशन पारि (भारत) बाट हुने गथ्र्यो । यसैक्रममा एक दिन हामीलाई पारि बोलाइयो, सबै जम्मा भएपछि गिरिजा कोइरालाले प्रस्ताव गर्नुभयो, ‘क्रान्तिका लागि हतियार जम्मा गर्न पैसा चाहियो कसरी जम्मा गर्ने ?’ त्यति वेला प्लेन अपहरणको कुरै थिएन । कसरी पार्टीमा पैसा जम्मा गर्ने भन्ने मात्रै थियो ।
त्यसको केही समयपछि प्लेन अपहरणको कुरा आएछ । गिरिजाले भन्नुभयो, ‘प्लेन अपहरण सम्भव छ, ?’ सुरुमा केही साथीले प्लेन अपहरण गरी जेलमा रहेका साथीहरूको रिहाइको साथै सरकारसँग आर्थिक माग गर्ने भन्नुभयो । मैले त्यसमा सहमति जनाइनँ । प्लेन अपहरण गरेको भरमा पञ्चायतले हाम्रो माग पूरा गर्दैन, दमन मात्रै गर्छ सफलता हात लाग्दैन भनें । निकै छलफलपछि बैंक लुट्ने कुरा आयो, त्यसमा पनि टुंगोमा पुगिएन ।
छलफलकै बीचमा विराटनगरबाट प्लेनमा हालेर पैसा काठमाडौं जान्छ भन्ने कुरा बैठकमा चल्यो । त्यहीवेलामा प्लेन अपहरण गरी पैसा लुट्ने कुरो आयो । त्यसपछि गिरिजा आफैँले राष्ट्र बैंकका कर्मचारी मदन अर्याललाई बोलाएर कुरा गर्नुभयो । पैसा कहिले कहिले जान्छ, अवस्था कस्तो छ, भन्ने बारेमा जानकारी दिन सुरुमा उनी मानेनन् । निकै प्रयासपछि उनी सहयोग गर्न तयार भए ।
अपहरणमा को–को सहभागी हुने टुंगो लागेको थिएन । सुरुमा मेरो र दुर्गा सुवेदीको कुरा आएको थियो । गिरिजाले बिपी (सान्दाजु) लाई वसन्त भट्टराई र दुर्गा सुवेदीलाई पठाउने भन्नुभएछ । उहाँले वसन्त हुन्छ दुर्गालाई पठाउनु हुँदैन भन्नुभएछ । बिपीसँग मेरो स्कुल पढ्दादेखि नै भेटघाट हुन्थ्यो । त्यसपछि गिरिजाले मलाई बोलाएर भन्नुभयो, ‘हेर न दुर्गाको बारेमा सान्दाजुले मान्नु भएन, के गर्ने होला गाह्रो हुनेभयो ।’ योजनाका बारेमा उनले थाहा पाइसकेकाले टिममा सहभागी गराउनुपर्छ, नत्र कुरा बाहिर जान सक्छ भनेँ । उनको झुट र विवादास्पद कुरा बोल्ने बानीले बिपी गिरिजा सशंकित थिए ।
अपहरणमा को–को सहभागी हुने टुंगो लागेको थिएन । सुरुमा मेरो र दुर्गा सुवेदीको कुरा आएको थियो । गिरिजाले बिपी (सान्दाजु) लाई वसन्त भट्टराई र दुर्गा सुवेदीलाई पठाउने भन्नुभएछ । उहाँले वसन्त हुन्छ दुर्गालाई पठाउनु हुँदैन भन्नुभएछ । बिपीसँग मेरो स्कुल पढ्दादेखि नै भेटघाट हुन्थ्यो । त्यसपछि गिरिजाले मलाई बोलाएर भन्नुभयो, ‘हेर न दुर्गाको बारेमा सान्दाजुले मान्नु भएन, के गर्ने होला गाह्रो हुनेभयो ।’ योजनाका बारेमा उनले थाहा पाइसकेकाले टिममा सहभागी गराउनुपर्छ, नत्र कुरा बाहिर जान सक्छ भनेँ । उनको झुट र विवादास्पद कुरा बोल्ने बानीले बिपी गिरिजा सशंकित थिए
बल्लबल्ल दुर्गालाई सहभागी गराउन सबै सहमति भए । त्यसपछि मैले दुई जनाले हुँदैन अर्को पनि एक जना चाहिन्छ भनेँ । तर, त्यति नै वेला दुर्गाले मलाई शिक्षा नीतिको विरोधमा विज्ञप्ती निकाल्नु भने । त्यसो भए खेस्रा बनाउनु न त भनेँ । उनले पञ्चायत र राजालाई साह्रै गाली गरेको खेस्रा बनाएर ल्याएँ । मलाइ त्यो अलि बढी भएजस्तो लाग्यो । प्लेन अपहरणको वेला यस्तो विज्ञप्ती निकाल्दा सिधै पक्राउ परिएला भनेर फारबिसगञ्ज गएर गिरिजालाई देखाएँ । दुर्गाले यस्तो विज्ञप्ती निकाल्नु भन्छन्, यति वेला निकाल्दा अफ्ठ्यारो पर्दैन ? उहाँ रिसाउँदै वाइयात च्यात यसलाई भन्नुभयो ।
तेस्रो मान्छेका विषयमा दुर्गा र मैले पनि कुरा गर्यौँ, मान्छे मात्रै भएर नहुने आँटिलो र विश्वासिलो चाहिने । त्यसै क्रममा नरेन्द्र ढुंगेलको नाम आयो । सुरुमा उनी पनि तयार भएका थिएनन्, पछि माने । अपहरणका लागि पारिबाट हतियार ल्याइएको थियो । एक–एक थान पेस्तोल र एउटा ग्रिनेट बोक्ने भयौँ । तयारीका लागि फारबिसगञ्ज गएँ त्यहाँबाट काठमाडौंको टिकट काट्न ७ सय ५० भारतीय रुपैयाँ दिए । टिकट भने दुई जनाको मात्रै पाइयो । पारिको खबर मलाइ आउँथ्यो राष्ट्र बैंकले गिरिजालाई गथ्र्यो । २५ जेठमा पैसा जाने खबर आयो टिकट लिन गएको पाएनौँ । आरएनएसीको टिकट काट्नेलाई फकाएर टिकट लिँदा पनि क्यान्सिल हुन पुग्यो । हाम्रो टिकट पैसा जाँदाको दिनमा हुनु जरुरी थियो ।
अनेक प्रयासपछि २८ जेठका लागि टिकट पाइयो । त्यो दिन नै पैसा काठमाडौं जाँदै थियो । रिक्सामा चढेर एयरपोर्ट नजिकै रहेको मारवाडीको गद्दीमा गयौँ । टेलिफोनको सुविधा त्यहाँ मात्र भएकाले हाम्रो जाउआउ भइरहन्थ्यो । म र दुर्गा त्यहीँ बसेर नगेन्द्रलाई पहिला एयरपोर्ट पठायौँ । प्लेनबाट पैसा जाने भएको खण्डमा उनले फोन गरेर एस भनेपछि मात्रै हामी पनि जाने निधो भयो । उनी गएको आधा घण्टापछि राष्ट्र बैंकको गाडी पैसा लिएर गयो, उताबाट नगेन्द्रले फोनमा संकेत गरे त्यसपछि हामी गयौँ । संजोक के पनि थियो भने त्यही प्लेनमा काठमाडौं जानका लागि शेखर कोइरालाले पनि टिकट लिएका रहेछन् । उनलाई अपहरणको कुरा थाहा थिएन पछि प्रकाश दाइले टिकट क्यान्सिल गर दुई-चार दिनमा जानु भनेर रोक्नुभयो । अपहरणका बारेमा शेखरलाई थाहा थिएन ।
एयरपोर्टमा हामीलाई चिन्ने जतिले के कार्यक्रमका लागि काठमाडौं जान आँटेको सोध्न थाले । हामीले दुर्गाजी बिरामी भएकाले उपचारका लागि जान लागेको भन्यौँ । तीनै जना प्लेनमा चढ्यौँ । ढोका एउटै थियो । ककपिटको ढोका खुल्ला थियो । म र दुर्गा पाइलटको पछि तिरको सिटमा र नगेन्द्र हाम्रो पछि थिए । प्लेन उडेर कोसी देखिएपछि नहरैनहर फारबिसगञ्ज लाने योजना थियो । कोसी देखिने बित्तिकै दुर्गालाई हातले इसारा दिएँ । उनले गर्ने र ! भने, म दुर्गालाई लत्याएर ककपिटभित्र छिरेर पाइलटको कन्चटमा पेस्तोल राख्दै माइक्रोफोन हातमा लिएर साउन्ड बन्द गराएँ । उनीहरूको टावरसँग संवाद टुट्यो प्लेन त एकैपटक तल झर्यो, सुरुमा पाइलट आत्तिए । एकै छिनमा पाइलटले सम्हाले, पछाडि हेरेँ दुर्गालाई एक जनाले समातेको रहेछ उनलाई नगेन्द्रले छुट्याए ।
यति गर्दासम्म प्लेनले राजविराज कटिसकेको थियो । प्लेन घुमाउन लगायौँ पाइलटले कहाँ जाने ? इन्धन छैन भन्दै विराटनगरलाई तीन फन्का लगाए । दायाँबायाँ गरे उडाइदिन्छु भनेपछि पाइलट ठीक ठाउँमा आयो र दुर्गाले नक्सा देखाए । प्लेन फारबिसगञ्जमा अवतरण भयो । हामीले यात्रुलाई भनेका थियौँ, हामी कांग्रेसका कार्यकता हौँ, पैसाका लागि प्लेन अपहरण गरेका हौँ । तपाईंहरू नआत्तिनुस तपाईंहरूले सहयोग गर्नु भएन भने हामीसँग ग्रिनेट छ हामी सबै मर्छौं, नत्र केही हुँदैन । सुशीललगायत नेताहरू झण्डा हल्लाएर बसिरहनुभएको रहेछ । प्लेनबाट सुरुमा नगेन्द्र उत्रनुपर्नेे दुर्गा पो उत्रिएन खोजे । उनीहरू उत्रिएपछि म उत्रिएँ । उत्रदै गर्दा को–पाइलटले हात मिलाएर ‘अल द वेस्ट’ भने । २७ मिनट लाग्यो हामीलाई अपहरण र लुट पूरा गर्न । ल्यान्ड भएपछि भने ६-सात मिनेट जति लाग्यो बाहिर निस्कन ।
कांग्रेससँग त्यो भन्दा पहिला पनि केही हतियार थिए । ती हतियार भारतीय नेता जयप्रकाशको आग्रहमा गिरिजाप्रसाद कोइराला आफँैले बंगलादेश पुर्याएका थिए । पछि हामीलाई हतियार दिने कुरा थियो । बंगलादेश स्वतन्त्रता भयो, हामीले हतियार पाएनौँ । त्यसमा इन्दिरा गान्धीको पनि संकेत थियो भन्ने लाग्छ । भएको हतियार पनि गुमाएपछि कांग्रेस भुत्ते भएको थियो
गिरिजा त्यहाँबाट केही पर बस्नुभएको थियो, लगेको पैसाको एउटा बक्सा उहाँ चढेको गाडीमा, एउटा बक्सा सुशील चढेको गाडीमा र एउटा अर्को गाडीमा राखेर हिँड्यौँ । कहाँ जाँदै छौँ थाहा थिएन सोध्न पनि नमिल्ने । पानी पनि खान नपाई सिलगुडी हुँदै खर्स्राङ पुगिएछ । त्यहाँ गएर मात्रै चिया पानी खाएर दार्जिलिङ पुग्यौँ । दार्जिलिङमा लालप्रसाद शर्माको घरमा गएर दुई वटा बक्सा छोडेर हामी फर्कियौँ । ड्राइभरले त्यहाँ पुगेपछि मात्रै गाडीमा पैसा भएको थाहा पाए । त्यो पनि लुटेको, थाहा पाएर गाडी चलाउनै मानेन । अर्को ड्राइभर खोजेर सिलगुडी हुँदै बिहान बरौनी पुगेपछि प्लेन अपहरण र पैसा लुटेको समाचार पत्रिका हेर्यौँ । समाचार हेरेर साथीहरूलाई नेपाली नबोल्न भने । राती नौ बजे साजनाथमा सान्दाजु बस्ने ठाउँमा पुग्यौँ ।
हामीले त्यो आँट नगरेका भए आजको दिन आउँदैन थियो । मुलुकमा राजनीतिक परिवर्तन हुँदैन थियो । उती वेला बिपी गिरिजाको सादगीदेख्दा म छक्क परेँ । एक दिन उहाँलाई भेट्न बिहानै गएको थिएँ । फर्कने वेलामा ढिला भयो गिरिजाले खाना खाएर जाउँ भन्नुभयो । उहाँ पार्टीले बनाएको आर्मीको ब्यारेकमा बस्नुहुन्थ्यो खाना आयो, मोटो उसिनेको चामलको भात र दाल तरकारी पनि आउँला भनेको त प्याज र खुर्सानी आयो उहाँहरूले खाएपछि मैले पनि खाएँ । त्यो देखेर नेताहरू त यसरी लाग्नुभएको छ हामी पनि लाग्नुपर्छ भन्ने लाग्यो । उति वेला कांग्रेसले सुरु गरेको क्रान्तिको लक्ष जनतालाई दुःख दिने थिएन । सरकारी पैसा लुटेर सरकारकै विरुद्ध संघर्ष गरेका थियौँ ।
कांग्रेससँग त्यो भन्दा पहिला पनि केही हतियार थिए । ती हतियार भारतीय नेता जयप्रकाशको आग्रहमा गिरिजाप्रसाद कोइराला आफँैले बंगलादेश पुर्याएका थिए । पछि हामीलाई हतियार दिने कुरा थियो । बंगलादेश स्वतन्त्रता भयो, हामीले हतियार पाएनौँ । त्यसमा इन्दिरा गान्धीको पनि संकेत थियो भन्ने लाग्छ । भएको हतियार पनि गुमाएपछि कांग्रेस भुत्ते भएको थियो । अपहरणमा लुटेको पैसाले पार्टीले हतियार किनेको हो । तर, अपहरणमा सहभागी दुर्गाले त्यो पैसा कोइराला परिवारले मोजमस्तीमा सकाए भन्ने आरोप लागएका छन्, त्यो गलत हो ।
भारतले नेपाली कांग्रेसलाई बोर्डरदेखि ५० किलोमिटरभित्र गएर गतिविधि गर्न नदिने नीति लगाएको थियो । इन्दिरा गान्धी नेपालमा कांग्रेस असफल होस् भन्ने चाहान्थिन् । १७ सालमा बिपीलाई जेल हाल्दा नेहरू प्रधानमन्त्री थिए उनले त्यसमा महेन्द्रलाई साथ दिएका थिए । कारण थियो बिपीले युएनको एउटा कार्यक्रममा सम्बोधन गर्दा सबैको ध्यान तानिएको थियो । त्यहाँ बिपीलाई घेरेको सञ्चार माध्यमले नेहरूलाई वास्तै गरेन । त्यसले उनलाई अपमान बोध भएको हुनसक्छ ।
त्यति वेला जनतामा परिवर्तनको चाहना थियो । तर, सबै बोल्न सक्दैन थिए । हामीले राज्यको सम्पत्ति लुटेर परिवर्तनका लागि लगाएका हौँ, त्यसका भागीदार हामी हौँ । पार्टीको अघि अरू विकल्प थिएन । भारतको सबै तिरको बोर्डरतिर हाम्रा सेना थिए । उनीहरूलाई लठ्ठी दिएर लडाउन मिल्दैन थियो । सरकारी सेनाको हतियार खोस्न सक्ने अवस्थामा हामी थिएनौँ ।
अपहरण फारबिसगञ्जबाट जाने क्रममा गिरिजाले अपहरणका क्रममा के–के भयो भनेर सोध्नुभयो । सान्दाजुले चाहिँ दुर्गालाई सोध्नुभएछ । उहाँ दुई भाइ बसेर अपहरणको समीक्षा गर्दा दुई जनाले सुनेको कुरा मिलेनछ । एउटै अभियानमा सहभागीको दुई थरी कुरा आएपछि उहाँहरू हामी बसेका कोठामा आउनुभयो । त्यो बनारसमा सान्दाजु बस्ने ठाउँ थियो । सान्दाजुले सोध्नुभयो, प्लेनमा दुर्गाबाबु वा कोही विदेशी थिए ? मैले अहँ थिएनन् भने । दुर्गाले प्लेनमा भाषण गरेको थियो ? म छक्क परेर नगेन्द्रतिर हेर्दै, गरेनन् भने । नगेन्द्रले पनि वसन्तले भनेजस्तै हो भने र त्यसपछि उहाँले हात प्याट्ट पार्दै दुर्गाले किन झुट बोलेको भन्नुभयो ।
दुर्गाले अपहरणबाट लिएको केही पैसा निकालेका रहेछन्, पैसा गन्दा पुगेन । शंका लागेको थियो । हामी बम्बैमा बस्थ्यौँ उनी बिरामी थिए । त्यस्तो अवस्थामा पनि बनारस जान्छु भनिरहन्थेँ । जान हुँदैन भन्यो मान्दैन थिए । जँचाउन लगेको जन्डिस भएको रहेछ । भर्ना गरेर बस्न पर्यो, त्यहीँ वेला सुशीलदाहरूले उनको सामान चेक गर्दा २०-२५ हजार जति भारु भेटियो । त्यसपछि उनको पार्टी सम्पर्क टुट्यो । उनीसँग कसैले सम्पर्क नगर्न पार्टीले निर्देशन गर्यो ।
भारत रहँदा हामी दिल्लीबाट पक्राउ पर्यौँ । दुर्गा पनि पक्राउ परे । पक्राउ गरी नेपाल ल्याउला भन्ने डर हामीलाई थियो । पक्राउ परिए पनि भारतीय जेलमा राखोस् भन्ने हाम्रो चाहना थियो । जब पक्राउ गरी लोदी थानामा लग्यो म ढुक्क भएँ । त्यहाँ सोधपुछ ग¥यो, प्लेन अपहरण पार्टीको निर्देशनमा गरेको हो भनेर यथार्थ बताएँ । त्यहाँबाट पूर्णे जेलमा लग्यो । दुर्गा पनि त्यहीँ रहेछन् । एउटै जेलमा भएर पनि हाम्रो एक महिनासम्म भेट भएन । पछि थाहा भयो उनलाई खाना पनि डाक्टरले चेक गरेर मात्रै दिँदो रहेछ ।
एक दिन गिरिजा दाजु र नोनाआमा भेट्न आउनुभयो । जेलर गिरिजा, नोना र हामी सबै थियौँ नोनाले दुर्गालाई पनि बोलाउनु भनेपछि बोलायो । त्यसपछि चिया ल्याए, टेबलमा राखिएको दुर्गा र गिरिजाको चिया जेलरले साट्यो । हामीले आश्चर्य मान्दै के गरेको भन्यौँ । जेलर भित्र गएर एउटा चिठी ल्याएर गिरिजालाई दियो उहाँले पढेर जेलरलाई दिए । हामीले के लेखेको छ सोध्यौँ, चिठीमा दुर्गाले कांग्रेसले मलाई मार्न सक्छ मेरो सुरक्षा छैन, सुरक्षा पाउँ भनी लेखेका रहेछन् ।
एउटै आन्दोलनमा लागेका हामी एउटै जेलमा भएर पनि त्यसपछि भेट्न पाएनौँ । यति मात्रै होइन हामी छुटेको ६ महिनापछि सोर्सफोर्स लगाएर मात्रै उनी जेलबाट छुटे ।
त्यसपछि सत्याग्रहका लागि हामी नेपाल आउन पटना एयरपोर्टमा जाँदा हामीलाई प्लेन चढ्न दिएन । सिबिआईको नियन्त्रणमा राखियो । उल्टै दुर्गा खोइ भनेर सोधे, उनले त पार्टी छोडिसके भन्यौँ । त्यति गरे पनि मानेनन् । गिरिजा नेपाल आउनुभयो नोना हामीसँगै बस्नुभयो त्यहाँबाट रातीराती गाडीमा आयौँ विराटनगर हुँदै काठमाडौं आयौँ । दुर्गाका कारण हामीले पनि दुःख पायौँ । उनले प्लेन अपहरणका बारेमा किताबमा लेखेको ८० प्रतिशत झुट हुन् । यो पाठकले थाहा पाउनुपर्छ ।
प्रतिक्रिया