मातृभूमि रक्षाका लागि माटोसहित अपिल

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई मातृभूमि रक्षाका लागि अपिल पत्र दिइएको छ । पहिचान पक्षधर आदिवासी जनजाति, खस र दलित सिल्पी संयुक्त मोर्चाका प्रतिनिधिहरूले पूर्वउपप्रधान तथा रक्षामन्त्री समेत रहेका नेकपा नेता भीम रावललाई माटो सहितको अपिल पत्र दिएका छन् ।

रावललाइ खसान राष्ट्रिय संघर्ष समिति केन्द्रिय उपाध्यक्ष रघुवीरसिंह ठगुन्ना सहितको प्रतिनिधिहरूको टोलीले सोमबार उक्त अपिल पत्र दिएका हुन् । नेकपा जिल्ला कमिटी घोषणाका लागि दार्चुला पुगेका नेता रावललाई भारतद्वारा अतिक्रमित दार्चुलाको कालापानी र लिम्पियाधुराको माटो सहितको अपिल पत्र दिइएको हो ।

केही दिनअघि अनुमति पत्र बनाएर भारतीय बाटो हुँदै कालापानी र लिम्पियाधुराबाट माटो लिएर आएको खसान राष्ट्रिय संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीरसिंह ठगुन्नाले बताएका छन् । उनका अनुसार भारतद्वारा अतिक्रमण भएको दार्चुलाको कालापानी र लिम्पियाधुराको ३० हजार हेक्टर जमिन फिर्ताको माग भने नरहेको बताएका छन् । ‘हाम्रो माग शासकहरूले बेचेको भू–भाग फिर्ताको माग भने होइन, बाँकी रहेको नेपाली माटोको रक्षाका लागि माग गरिरहेका छौँ’, खसान राष्ट्रिय संघर्ष समिति उपाध्यक्ष ठगुन्नाले भने ।

उनले भारतले अतिक्रमण गरेको तथा शासकहरूले सुम्पिएको भू–भाग फिर्ता नभई बाँकी रहेको नेपालको रक्षाका लागि अपिल गर्ने अभियान सुरु भएको उनको भनाइ छ । उनकाअनुसार अब नेपालका राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई कालापानी र लिम्पियाधुराको माटो सहितको अपिल पत्र दिने कार्यक्रम रहेको छ । पहिलोपटक नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भएकाले नेकपा नेता रावललाई मातृभूमि रक्षाका लागि अपिल पत्र दिएको बताए ।

अपिल पत्रमा कालापानी र लिम्पियाधुराको विषयमा सधैँ विवाद उठिरहँदा सीमा क्षेत्रमा बसोवास गर्ने दार्चुलाका नागरिकले तनावपूर्ण जीवन व्यतित गर्न बाध्य रहेको संकेत गरिएको छ । दार्चुला जिल्लाको उक्त सीमा विवाद समाधानका लागि पहल गरिदिन नेकपा नेता रावलाई तीन बुँदे मागसहित अपिल पत्र प्रदान गरिएको छ ।

भारत र चीनका सुरक्षा फौज राख्न र व्यापारिक नाका खोल्न दशकौँदेखि नियन्त्रणमा लिइएको वा दिएको भू–भागबाहेक बचेको नेपाली भूमिको रक्षाका लागि त्री–पक्षीय सहमतिमा नयाँ सीमा रेखा निर्माणको माग गरिएको छ । सोही बुदाँमा बाँकी रहेको नेपाली भूमिका रक्षाका लागि सीमा क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरी बल तैनाथ गर्न माग गरिएको छ ।

दोस्रो नम्बर बुँदामा दार्चुला तिंकर सडक र देथला–खार–खलंगा सडक नेपाली सेनामार्फत निर्माण गर्न माग गरिएको छ । अपिल पत्रको अन्तिम बुँदामा अपीनाम्पा संरक्षण क्षेत्रको कार्यक्रम उपलब्धीविहीन भएकाले उक्त कार्यक्रम व्यास र अपीहिमाल गाउँपालिका मात्रै पाइलटिङको रूपमा लागू गरी सुरु गर्न माग गरिएको छ । अन्य हचुवाको भरमा समेटिएको क्षेत्र संरक्षण क्षेत्रबाट हटाउन माग गरिएको छ ।
अतिक्रमित भूमिको यात्रा कस्तो थियो ?

भारतद्धारा अतिक्रमित भूमि दार्चुलाको कालापानी क्षेत्रमा विनाअनुमति जान भारतीय सुरुक्षाकर्मी दिँदैनन् । भारतको उत्तरी महाकाली नदी किनार छियालेकभन्दा माथि भारतले नोटिफाइड एरिया घोषणा गरेको छ ।

नोटिफाइड एरियामा विनाअनुमति प्रबेश गर्नमा निषेध गरिएको छ । उक्त क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) भारत तिब्बतीयन बोर्डर पुलिस लगायतका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । कालापानी क्षेत्रमा पुग्नका लागि नेपालको बाटो भएर जाने बाटो नभएकाले भारतको बाटो जानुपर्ने अवस्था छ । कालापानी क्षेत्र पनि नोटिफाइड एरियाभित्र पर्ने भएकाले त्यो क्षेत्रमा पुग्न त्यति सजिलो भने छैन ।

तर, खसान राष्ट्रिय संगठनका उपाध्यक्ष लगायतका केही दार्चुलाका स्थानीयहरू सर्वसाधारणहरूको भेषमा कालापानी र लिम्पियाधुरा पुगेर माटो लिएर आएका छन् । नोटिफाइड एरिया भएकाले विभिन्न पोस्टमा आफूहरूलाई भारतीय सुरक्षाकर्मीहरूले चेकजाँच गरेको कालापानीमा पुगेको खसान केन्द्रीय उपाध्यक्ष ठगुन्नाले अनुभव सुनाए ।

उनका अनुसार अनुमति बनाएर कालापानी र लिम्पियाधुरा जाने वेला पहिलो पोस्ट छियालेकमा भारतीय सुरक्षाकर्मीहरूले चेकजाँच गरेको बताएका छन् । त्यसपश्चात् गब्र्याङमा भारतीय सुरक्षाकर्मीहरूले सोधपुछका साथै चेकजाँच गरेका थिए भने अन्तिम विन्दुका रूपमा सीतापुलमा भारतीय सुरक्षाकर्मीहरूको चेकजाँच पार गरी कालापानी पुगेको ठगुन्नाले बताए ।

प्रतिक्रिया