बाल यौन दुराचारमा युएनका पूर्वकर्मचारी दोषी

काभ्रे । बाल यौन दुराचार गरेको अभियोग लागेको सयुक्त राष्ट्रसंघका एक पूर्व कर्मचारीलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । जिल्ला अदालत काभ्रेपलान्चोकले ६० वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई दोषी ठहर गरेको हो । उनलाई अदालतले दोषी ठहर गरेपनि सजाय भने केही दिनपछि मात्र सुनाउने भएको छ ।

जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले युएनका पूर्व कर्मचारीसमेत रहेका डालगिल्सलाई बाल यौन दुराचारमा कसुरदार ठहर गरेको हो । विपन्न परिवारका बालबालिकालाई पढाइदिने भन्दै आश्वासन देखाएर जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने गरेको आरोप लागेपछि प्रहरीले २०७४ चैत २५ गते पक्राउ गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले डालगिल्सलाई काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरेको थियो । पक्राउ परेका डालगिल्सको साथबाट २ जना बालकको उद्धार गरिएको थियो । डालगिल्सले सन् २०१० देखि २०१४ सम्म सयुक्त राष्ट्रसंघमा काम गरेका थिए ।

डालगिल्सले नेपालमा हिमालयन कम्युनिटी फाउण्डेसन नामक संस्था खोलेर शिक्षा र खानेपानी क्षेत्रमा काम गर्दै आएका थिए । डालगिल्सले १५ जनाभन्दा बालकलाई यस्तो धन्दामा लगाएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । बाल यौन दुराचारी आरोपमा पक्राउ परेका डालगिल्स द्वन्द्वपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै ३ वटा मानार्थ विद्यावारिधि समेत प्राप्त गरेका व्यक्ति भएको खुलेको छ ।

प्रतिक्रिया