लत्रेको तारले महिलाको ज्यान लियो

सल्यान । जिल्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । करेन्ट प्रवाह भइरहेको विद्युत्को तारमा लट्पटिएर एक महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेमा बागचौर नगरपालिका–२ शेराचौरमा ३६ वर्षीया भुमी ओली रहेकी छन् । उनको बिहान खेतमा घाँस काट्न गएको वेला करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

विद्युत्को तार जमिन छुनेगरी भुइँमा झरेको र हिँडिरहेको वेला एक्कासी तारमा लट्पटिएर करेन्ट लागेको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी प्रमुख लिलाभक्त बादेले बताए । ‘विद्युत् प्राधिकरणले क्षतिपूर्ति दिने सहमतिमा शव उठाइएको छ’, उनले भने, ‘पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ । स्थानीय वासिन्दाले विद्युत् प्राधिकरणले करेन्ट प्रवाह भएको तार भुइँमा लत्रिँदासमेत ध्यान नदिएको आरोप लगाए ।

स्थानीयको लापरवाहीले महिलाकाे ज्यान गयोः विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधीकरण सल्यानका प्रमुख अर्जुन घिमिरेले भने बिजुलीको तार भुइँमा झरेको स्वीकार गर्दै घटना हुनुमा स्थानीय दोषी रहेको बताए । हामीले थोरै दुरीका लागि पठाएको पोल धेरै दुरी बनाएर स्थानीय उपभोक्ता समितिले तार तानेकाले तार भुइँमा झरेको हो उनले भने, ‘कम पोल दिएका ठाउँमा पनि गाउँभरी बत्ती लैजान खोज्छन् अनि समस्या हुन्छ ।’ स्थानीयले राजनीतिक पावरमा टाढाटाढा पोल राखेर विद्युत् सुचारु गरेकाले घटना हुनपुगेको उनले बताए ।

पछिल्लो समय उक्त ठाउँमा तार माथि उठाउनका लागी एउटा पोल थप गरेर कार्यालयबाट पठाइसकेको तर सो पोल गायब भएको समेत उनले खुलासा गरे । उक्त पोल कहाँ गयो भन्नेबारे अनुसन्धान भइरहेको समेत उनले बताए । उनले आफ्नो नियम कानुन लत्याएर राजनीति पावरमा उपभोक्ता समिति र ठेकेदारले आफूखुसी काम गरेको बताए ।

विद्युत्का पोल कम भएका, तार लत्रेकोे र शंकास्पद ठाउँ भएमा तत्काल आपूmहरूलाई खबर गर्नसमेत उनले आग्रह गरे । प्राधिकरणको नेपालगञ्ज शाखाले मृतकको विवरण बुझेर क्षतिपूर्ति दिने उनले बताए । विद्युत् दुर्घटनामा ज्यान गुमाउनेलाइ पाँच लाखसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको छ ।

प्रतिक्रिया