संघमा खड्का

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको १७औँ साधारणसभाबाट अध्यक्षमा कलाकार रवीन्द्र खड्का चुनिएका छन् । राजधानीमा शनिबार भएको निर्वाचनमा उनले २ सय १८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कलाकार सरिता लामिछानेले १ सय ६१ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा अभिनेत्री रजिता उप्रेती र सानुकुमार ताम्राकार निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सहकोषाध्यक्षमा पवित्रा आचार्यले २ सय २० मत ल्याएर विजयी भइन् ।

यस्तै, १० जना सदस्यमा जयकिशन बस्नेत, उद्धव भट्टराई, जीवन थापा, शितल केसी, गोपाल ढकाल, पवनप्रसाद खतिवडा, शारदा नेपाल, धर्मानन्द आचार्य, धनराज केसी र रोहित रुम्बा विजयी भएका छन् ।

विजयी भएपछि अध्यक्ष खड्काले आफूले गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताए । उनले आफूले राजनीतिलाई अलग राखेकै कारण जितेको जिकिर गरे । उनले भने, ‘मैले चलचित्र कलाकार संघको हक हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

पराजित भएकी सरिता लामिछानेले चलचित्र कलाकार संघमा गैह्रकलाकार नआएको भन्दै रवीन्द्रलाई बधाइ तथा शुभकामना व्यक्त गरिन् । संघको निर्वाचनमा ३ सय ८७ कलाकारले मतदान गरेका थिए ।

प्रतिक्रिया