क्यानभासमा भोटेकोसी सभ्यता

ललितपुर । भोटेकोसी सभ्यतालाई चिनाउने लक्ष्यका साथ तीन दिने कला प्रदर्शनी सुरु भएको छ । श्री जैमिन थैपी नारायण परोकार केन्द्र र भोटेकोसी गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीको आइतबार पाटन संग्रहालयमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले एक समारोहका बीच उद्घाटन गरे ।

उनले भोटेकोसी सभ्यतालाई क्यानभासमा उतारेर कलाकारले निकै राम्रो काम गरेको बताए । उनले भने, ‘कला संस्कृतिको विकासबिना राज्य समृद्ध बन्न सक्दैन । तसर्थ यसको विकासका लागि आयोजक र कलाकार गरेको काम सराहनीय रहेको छ ।’

कार्यक्रममा श्री जैमन थैपी नारायण मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर खडकाले सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक रूपमा फुल्पिङकट्टीस्थित नारायण मन्दिर र यसको सेरोफेरो निकै महत्वको रहेको बताए । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४, फुल्पिङकट्टीस्थित नारायण मन्दिरलाई आधार बनाइ वैशाख ९ देखि ११ गतेसम्म चित्र कार्यशाला गरिएको थियो ।

भोटेकोसी सभ्यतालाई देश विदेशमा प्रचार प्रसार गर्ने उद्देश्यका साथ कार्यशाला तथा प्रदर्शनीको आयोजना गरिएको जैमिन थैपी नारायण परोपकार केन्द्रका अध्यक्ष अनेश नेपालले बताए । उनले भने, ‘प्रताप मल्लका पालामा बनेका मूर्ति तथा सम्पदा फुल्पिङकट्टी क्षेत्रमा भेटिएकाले यसको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेर कला कार्यशाला तथा प्रदर्शनी गरेका हौँ ।’ उनले प्रदर्शनीपश्चात् भोटकोसी सभ्यताको गहन खोजबिन हुने अपेक्षा समेत राखेको बताए ।

कलामार्फत समाजमा रहेका सांस्कृतिक वैभवलाई बाहिर ल्याउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलाकारको संयोजन गरेका कलाकार दिवेश प्रधानले बताए । उनले समृद्ध नेपाल बनाउने अभियानमा कलाकारले योगदान दिनुपर्छ भन्ने ध्येय राखेर कार्यशाला तथा प्रदर्शनी गरिएको जिकिर गरे ।

प्रदर्शनीमा सहभागी कलाकार राकेशचन्द्र श्रेष्ठले चित्रमा भोटेकोसी सभ्यताका महत्वपूर्ण स्थल र सम्पदालाई उतारिएको बताए । कार्यशाला तथा प्रदर्शनीका संयोजक प्रकाश खडकाले भोटेकोसीको सभ्यताको उत्खनन्मा सहयोग पुगोस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको बताए । प्रदर्शनीमा विकास बिसुंखे, विक्रम प्रजापति, चन्द्रा श्रेष्ठ, देवेन्द्र थुम्केली, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, दिवेश प्रधान, कान्छाकाजी भासिमा, लक्ष्मीप्रसाद खोटेजा, प्रकाश मानन्धर, राधेश्याम कर्माचार्य, राजेन्द्रप्रसाद याकामी, सुर्यराम सुवाल, अनत्त श्रेष्ठाचार्यले तयार पारेका कलाकृति राखिएको छ ।

प्रतिक्रिया