एचआइभी संक्रमितको सगरमाथा आरोहण

कतिपय मान्छेलाई गम्भीर प्रकारको रोग लागेपछि निराशाले झनै कमजोर बनाउँछन् । भनिन्छ रोगले भन्दा शोकले मान्छे कमजोर बन्छ । अझ प्राणघातक रोग एड्स लागेको थाहा पाएको मान्छे निकै कमजार र हीनताबोधले पिरोलिएको हुन्छ । कयौँलाई त आफन्त र परिवालेसमेत सहयोग गर्नुको सट्टा उल्टै घृणाको दृष्टिले हेर्ने गरेको थुप्रै उदाहरण छन् । तर, त्यसरी ठूलै रोग लागेर पनि हिम्मतका साथ समाजमा खुलेर बाँचेका पनि केही उदाहरण छन् त्यसमध्येका एक हुन् पोखराका गोपाल श्रेष्ठ ।

दश वर्षसम्म लागुपदार्थको दुव्र्यसन अनि प्राणघातक रोग एचआइभी र एड्सको संक्रमणको कहालीलाग्दो परिस्थिति हुँदाहुँदै श्रेष्ठ आफ्नो र अरूको जीवनलाई सुन्दर बनाउने अभियानमा लागे । मान्छे सुन्दै तर्सन्छ, कमजोर मुटु भएकाले त आफूमा एचआइभी एड्स भएको सुन्न पनि सक्दैन । तर, उनी त्यति ठूलो अप्ठेरो अवस्थाबाट बाहिर आएर विचार र जीवनशैली नै परिवर्तन गरेका छन् । बाँचुञ्जेल समाज र आफू जस्ताका लागि सकारात्मक काम गर्नुपर्छ भनेर सक्रिए छन् । यति मात्रै होइन उनी केही हप्ताअघि सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।

विश्वको सर्वोच्च शिखरमा पुगेर घर फर्किएपछि ५६ वर्षीय श्रेष्ठले बिबिसीसँग भने, ‘सगरमाथा आरोहणको मेरो प्रमुख उद्देश्य विश्वभरि रहेका एचआईभी संक्रमितहरू कोही पनि लुकेर नबसुन, खुलेर समाजमा आऊन, यसको उपचार निःशुल्क छ, भन्ने सन्देश प्रवाह गर्नु हो ।’ उनले आफ्नो धारण राखे । सगरमाथा आरोहण समान्य होइन, उनले त्यसलाई पूरा गरेका छन् । यस्तै रोग लागेका कयौँ बीरामी आफू र आफन्तसँग पनि खुल्न सक्दैनन् । भित्रभित्रै पिल्सिन्छन् । तर, उनले सबैलाई समाजको अघि खुल्न प्रेरित गरिरहेका छन् ।

उनी आफूलाई विगत २५ वर्षदेखि एचआइभी संक्रमित भएको बताउँछन् । यही जेठ ८ गते श्रेष्ठ सगरमाथाभन्दा अग्लो हुन सफल भएका हुन् । दश वर्षअघि नै सगरमाथा आरोहण गर्ने इच्छा उनी भित्र पलाएको भए पनि यसपालि त्यो पूरा भएको उनी बताउँछन् । यतिवेला आफू सफल भएकोमा दंग छन् उनी ।

चार वर्षअघि गएको भूकम्पका कारण उनले पहिलो प्रयास त्याग्नु परेको थियो । सगरमाथा आधार शिविरमा हिउँ पहिरोमा परेर उनको टोलीका चारजनाको मृत्यु भएको थियो । उनले भने आफ्नो लामो समयअघिदेखिको इच्छा सफलतापूर्वक पूरा गरेका छन् ।

आफू सगरमाथाको आरोहण गर्ने एचआइभी र एड्स संक्रमण भएको पहिलो व्यक्ति भएको उनको दाबी छ । आफ्नो कीर्तिमानलाई अब गिनिज बुकमा नाम लेखाउन पहल गर्ने उनले बताए । उनले दाबी गरेर अनुसार सगरमाथाको चुचुरोमा अहिलेसम्म एचआइभी र एड्स भएको कोही पनि पुग्न सकेको छैन ।

सगरमाथाको चुचुरोमा पुगेपछि कस्तो लाग्यो त भन्ने प्रश्नमा उनले पहिले आफ्नो परिवारलाई सम्झेको तथा अब सुरक्षित फर्कनुपर्छ भन्ने आत्मविश्वास जागेको प्रतिक्रिया दिएका छन् । उनले आरोहणका आफ्नो अनुभव सुनाउँदै खुम्बु आइसफल र हिलरी स्टेपमा सबैभन्दा कठिन महसुस गरेको सुनाए ।

उनका अनुसार यसपटक पनि सगरमाथा आरोहण गर्न मौसम त्यति प्रतिकुल थियो । तर, उनले त्यो प्रतिकुलतालाई चुनौती दिँदै सगरमाथा चुमेर छाडे । मौसम छिनछिनमा परिवर्तन भइरहेकाले निकै अन्योल भइरहेको श्रेष्ठले बताए । उसो त सगरमाथा आरोहण गर्न शारीरिकरूपमा स्वस्थ्य मान्छेका लागि पनि सहज भने छैन । सबैले चाहना गरेर मात्रै पनि सगरमाथाको आरोहण गर्न कठिन छ ।

दाहिने घुँडा ठोकिएर लिगामेन्ट च्यातिएका कारण हिमाल चढ्न र फर्कन कठिन भएको तथा सगरमाथा पुग्न झन्डै १५ मिनेट बाँकी हुँदा डेढ घन्टा जति ‘ट्राफिक जाम’ मा परेको घटना उनले सुनाए । सर्वोच्च शिखरमा पाइला राखेपछि हिउँ र प्रकाशका कारण आँखा राम्ररी हेर्न नसकिने भएको उनले बताए । वास्तवमा सगरमाथा चुम्ने सपना जति सुन्दर छ त्यो पूरा गर्न उत्तिकै कठिन ।

सगरमाथाबाट ओर्लेर पछि लुक्ला आइपुग्दासम्म दृष्टिमा धमिलोपन बाँकी भइरहेका उनले सुनाए । गोपाल श्रेष्ठ सगरमाथाको चुचुरोमा पुगेकै बिहान उनकी श्रीमती मीनाकुमारी श्रेष्ठले त्यसबारे सूचना पाइन ्। आरोहणको बन्दोबस्त गरेको ड्रिमर डेस्टिनेसन ट्रेक एन्ड एक्स्पिडिसनका प्रबन्धकले आफूलाई त्यो समाचार सुनाएको उनी बताउँछिन् । श्रीमान् सगरमाथाको चुचुरोमा पुगेको सुन्दा अत्यन्त खुसी लागेर आँखाबाट आँसु आएको स्मरण गर्दै उनी भन्छिन्, ‘संसार जितेजस्तो लाग्यो ।’

पहिलोपटकको प्रयास भूकम्पका कारण अवरुद्ध भएपछि दोस्रोपटक नजान आफू र परिवारका सबै सदस्यले अनुरोध गरे पनि चढेरै छाड्छु, गरेरै छाड्छु भन्ने अडानका साथ आफ्ना श्रीमान्ले प्रयास नछाडी निरन्तर प्रयास गरी रहेको उनले बताइन् । श्रीमती श्रेष्ठ पनि एचआइभी एड्स संक्रमित हुन् । तर, उनीहरूका एक मात्र छोरा भने एचआइभीमुक्त छन् ।

गोपाल श्रेष्ठ पहिला फुटबलका राष्ट्रिय खेलाडी थिए । तर, समय क्रममा उनी दुव्र्यसनमा फसे । दुव्र्यसनको संसारबाट मुक्त गरेर आफूलाई यो अवस्थामा ल्याउने कामको जस आफ्नी श्रीमतीलाई दिन्छन् उनी । हिजोआज उनको दिनचर्या पूरै फेरिएको छ । उनी सामान्य नागरिकजस्तै भएका छन् । । अहिले उनी सर्वसाधारणलाई योग सिकाउँछन् । संक्रमितहरूलाई सघाउने संघसंस्थामा काम गर्छन् र जनचेतना जगाउने अभियानमा सक्रिय छन् ।

आगामी दिनमा ग्रामीण क्षेत्रमा एचआइभीबारे जनचेतना जगाउने व्यावहारिक शिक्षा दिने एवं संक्रमित र प्रभावित बालबालिकालाई सहयोग गर्ने उनको योजना छ । सगरमाथा आरोहणका लागि जनस्तरबाट सहयोग पाए पनि सरकारबाट कुनै किसिमको सहयोग र प्रोत्साहन नपाएको उनको गुनासो छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया