कालिकोट । जिल्लाको रास्कोट नगरपालिका –७ मा बलात्कारको घटना लेनदेनमा मिलापत्र भएको खुलासा भएको छ । पीडित, दुई जना वडाध्यक्ष र प्रहरी चौकीसमेतले लेनदेन गरेर सो घटना मिलापत्र गराएको खुलासा भएको हो ।
रास्कोट –७ का कल फस्र्यालले मिलापत्र गराउन पीडितलाई ९० हजार, २ वडाध्यक्षसहित ४ स्थानीयलाई एकमुष्ट ७० हजार र प्रहरी चौकीलाई १० हजार दिएका थिए । रास्कोट –७ का फस्र्याललाई छिमेकी सन्नीत्रिवेणी गाउँपालिकाकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो । पीडितले प्रहरी चौकी पोतमारामा उजुरीसमेत दिएकी थिइन् ।
प्रहरीमा जबर्जस्ती करणीको उजुरी परेपछि फस्र्यालले पीडित बस्ने सन्नीत्रिवेणी गाउँपालिकाका वडाध्यक्षहरू गुहारेका थिए । पीडिकको सोही अनुरोधमा सान्नीत्रिवेणी गाउँपालिका–८ का वडाध्यक्ष जनक खत्री, ९ का वडाध्यक्ष दुर्ग केसी, वडासदस्य मन बहादुर बुढासहित र गाउँका मुखिया अमरसिंह केसीको बैठकले सो मिलापत्र गराएको हो । पीडकले सो रकम सोही बैठकको निर्णयअनुसार बुझाएको स्वीकार गरेका छन् ।
यो लेनदेनको घटनापछि पीडित फस्र्यालकी पत्नी कौराले वडाध्यक्षले घुस लिएकोभन्दै नेकपा रास्कोट नगर कमिटीमा निवेदन दिएकी थिइन् । नगर कमिटीले सबै पक्षलाई बोलाएर छलफल गर्दा मिलापत्र गराएवापत रकम लिएको स्वीकार गरे पनि बलात्कार गरेको भने स्वीकार गरेनन् ।
छलफलमा, आफूहरू साली–भेना नाता पर्ने भएकाले भेनाले जिस्क्याउँदा आफ्नो गहना हराएकाले सोही गहनावापत ९० हजार लिएको पीडितले बताइन् । वडाध्यक्षद्वयले भने आफूहरूले रकम लिएको स्वीकार गर्दै आत्मआलोचना गरेको बताइएको छ । प्रहरी चौकीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
कालिकाेट
प्रतिक्रिया