हुम्ला । हुम्लामा पहिलो पटक स्थानीय तहले भूकम्प प्रतिरोधी संरचना निर्माण कार्यको थालनी गरेको छ ।
सरकारी तथा गैरसरकारी तवरबाट निर्माण हुने भौतिक संरचना भूकम्प प्रतिरोधी नहुँदा राष्ट्रले भोग्नु परेको विपत्ती, आर्थिक नोक्सानलाई ध्यान दिँदै आगामी दिनमा जोखिमको न्यूनीकरण गर्न यो तालिम सर्केगाड गाउँपालिकाले प्रदान गरेको छ । पालिकाको सबै वडामा कार्यरत दक्ष ज्यामीलाई यो तालिम दिईएको हो ।
हालसम्म हुम्ला जिल्लामा नै स्थानीय तहले भूकम्प प्रतिरोधी भवन निर्माण र यससँग सम्वन्धित तालिम, सीप र ज्ञान प्रदान नगरेको भए पनि सर्केगाड गाउँपालिकाले पहिलो पटक यस्तो सीप विकासको लागि तालिमको आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेले बताए । पालिकामा कार्यरत १५ जना दक्ष ज्यामी र १५ जना उपभोक्ता समितिका पदाधिकारीलाई पहिलो चरणमा तालिम दिईएको, जसबाट आगामी दिनमा निर्माण हुने संरचना भूकम्प प्रतिरोधी हुने विश्वास इन्जिनियर शोभनसिंह रोकायाले व्यक्त गरे ।
यस आर्थिक वर्षमा भूकम्प प्रतिरोधी ४ वटा वडा कार्यलयका भवन, ४ वटा विद्यालयका कक्षाकोठा, स्वास्थ्य चौकीका भवन २ वटा र एउटा बर्थिङ सेन्टरको संरचना बन्न लागेको अध्यक्ष कृष्ण रोकायाले बताए । यसअघि आफू दक्ष कामदार भए पनि प्राविधिक ज्ञानको अभाव भएको उनले स्वीकार गरे । गाउँमा बन्ने भवन र घरलाई भूकम्प प्रतिरोधी बनाउन नसकेको पछुतो गर्दै उनले यस पटकको तालिमले आफूमा अझ सीप वृद्धि भएको बताए । आगामी दिनमा सोही ज्ञानलाई उपयोग गरी संरचना निर्माणमा आफुहरू लाग्ने सर्केगाड गाउँपालिका–२ का ज्यामी भीम बहादुर वि.क.को अठोट छ ।
निर्माण कार्यमा माटोको परीक्षण, स्थानीय स्तरमा रहेका साधन स्रोतको भरपुर उपयोग, पुराना चलन, कुनै उपयोगीलाई प्रयोग गर्ने र केही नयाँ सीप सिकेर नयाँ खालको बलियो संरचना निर्माणमा जोड दिने प्रतिवद्धता तालिमका सहभागिले बताएका थिए । तालिममा झ्याल र ढोका विचको दुरी, पर्खालको बन्धन लगायतका ज्ञानको कमी हुँदा धेरै संरचना बलियो बनाउन असमर्थ भएको र आगामी दिनमा यसलाई सुधार गर्नु पर्ने सहभागीको भनाइ थियो । निर्माण सामग्रीको उचित प्रयोग, उपयोग गरिने औजारको सही उपयोग, ज्यामीको दक्षताको कारण संरचना बलियो हुने देखिएको छ । तालिमको अवधि छोटो भए पनि अति नै उपयोगी रहेको थियो ।
तालिममा सहभागिलाई प्रमाणपत्र पनि प्रदान गर्नु पर्ने र आउने वर्षमा अझ विस्तृत तालिम दिनु पर्नेे वडा नं. १ जैरका ज्यामी कर्ण बहादुर रोकायाले बताए ।
कतिपय उपभोक्ता समितिले सरकारी कार्यालय र स्थानीय तहमा काम सम्पन्न गरेको भए पनि कागजात बनाउन नसकी रकमको बेरुजु आउने समस्यालाई बुझेर कागजात निर्माण सम्वन्धी ज्ञान पनि प्रदान गरिएको थियो । उपभोक्ता समितिमा निरक्षर सदस्य हुनु, साक्षर भए पनि भुक्तानी लिँदा कागजात बनाउन देखिएको समस्यालाई मध्यनजर गर्दै सो सम्बन्धी तालिम पनि प्रदान गरिएको थियो । असार मसान्तमा एकै योजनाको लागि उपभोक्ताले हप्तौँ दिनसम्म भुक्तानी लिन नसक्ने अवस्था यस तालिमबाट निमिट्यान्न हुने विश्वास इन्जिनियर शोभनसिंह रोकायाको छ ।
हुम्ला जिल्लामा हालसम्म भूकम्पको कुनै जोखिम भोग्नु नपरेको भए पनि यहाँका अधिकांश संरचना भूकम्प प्रतिरोधी नभएको पाईएको छ । माटो, ढुँगा र काठबाट निर्माण हुने यहाँका संरचना निर्माणमा स्थानीयको चासो रहनु पर्ने अवस्था रहेको छ । पुरातन तवरबाट निर्माण भएका संरचनालाई थोरै भूकम्पको धक्काले पनि ठूलो क्षति पु¥याउने अवस्था छ ।
वेला वेलामा हुम्लाको केन्द्रविन्दु भई भूकम्प जाने गरेको भए पनि अहिलेसम्म भूकम्पबाट ठूलो क्षति व्यहोर्नु परेको कुनै घटना छैन । कथं कदापि यस्तो भएमा सरकारी भवन, निजी घर, कार्यलय पनि यसबाट अछुतो नरहने स्थानीयको भनाइ रहेको छ । अझ सदरमुकाममा निर्माण भएका अधिकांश घर र भवन भूकम्पीय जोखममा रहेका छन् । प्रर्याप्त मात्रामा काठको बन्धन नहुने, पर्खालमा ढुंगाको अभावको कारण ठाडो चिनाइले गर्दा अझ बढी जोखिममा रहेका छन् ।
प्रतिक्रिया