काठमाडौं । बसाइँसराई र वैदेशिक रोजगारीले गाउँ खाली बन्दै गएपछि ‘चिलगाडी’ लोकगीतमार्फत चर्चामा आएका गायक हुन् लक्ष्मण चापागाईं । स्याङजाको अर्जुनचौपारी गाउँपालिका–४ ओख्लेमा जन्मिएका लोकगायक चापागाईंलाई सानो छँदा कलाकार नै बन्छु भन्ने मनमा सोच आएको थिएन । मेलापात, चाडपर्व, घाँसदाउरा तथा रोधीमार्फत गायकी लयमा स्वर मिलाउन उनी अग्रसर हुन्थे ।
गाउँमा छरछिमेकका युवायुवती मिलेर रोधी बस्ने चलन थियो । गुरुङ गाउँ नजिकै भएकाले उनी पनि रोधीमा गाइने गीतको रमाइलोपनका कारण घरबाट लुकिछिपी धाउन थाले । रोधीमा गाइने गीतमा रस बस्दै गएपछि उनमा पनि गाउने हुटहुटी बढ्दै गयो । त्यसवेला बाहुनक्षेत्रीका छोराछोरी रोधी बस्न हुन्न भन्ने मान्यता थियो । रोधी बसे इज्जत जान्छ भन्ने मान्यताका कारण लक्ष्मणलाई पनि आफ्ना बुबाले पढाइ बिगारेको भन्दै गाली गरेको अहिले पनि सम्झना छ । उनले विगत सम्झँदै भने, ‘पढाइ बिगारेको भन्दै कतिपटक कुटाइसमेत खाइयो ।’ पढाइमा ध्यान नदिएर रोधीमा मात्रै हिड्यो भनेर बुबाले एकफेरी मज्जाले पिट्नु पनि भयो । त्यो घटना हिजोजस्तो ताजै लाग्छ । तर, पनि मैले रोधी धाउन छाड्न सकिनँ । सायद त्यो मेरा लागि भगवानकै वरदान भयो । त्यही रोधीबाट गीत गाउन सिकेर यहाँसम्म फड्को मार्न सकेको छु ।’
गाउँघरमा रातको समयमा रोधी बसेर युवायुवतीबीच गाइने झ्याउरे र कौडा भाकाका गीतबाट गायन सिकेका उनको आवाजले बिस्तारै चर्चा पाउँदै गयो । एसएलसी सकेपछि कलाकार बन्ने र उच्चशिक्षा पनि अध्ययन गर्ने ध्येयका साथ उनी ०५७ सालमा काठमाडौं आए । उनले ‘क्याली डिस्कोप’ र ‘अभिनव कला मञ्जरी’ संगीत विद्यालयमा तीन वर्षसम्म संगीत सिके । त्यस्तै, उनले पाटन क्याम्पसबाट एमएसम्मको अध्ययन पूरा गरे ।
त्यसपछि गायक चापागार्इंले शिक्षकको काम र लोकदोहोरी गायन, शब्द लेखन साथै संगीतको काममा आफूलाई सक्रिय बनाए । उनले ०६४ सालमा पहिलोपटक ‘पाएँ तिम्रो साथ’ ल्याए । ०६५ सालमा रेडियो नेपालबाट स्वर परीक्षणमा पास भएपछि अझै कलाकारितामा अघि बढ्न उत्साहित भएको उनले सुनाए । त्यसपछि उनले क्रमशः चिलगाडी एल्बम ल्याएर पनि धेरै चर्चा पाए ।
०६६ सालमा ‘झिम्काउँदै आँखा’ गीत ल्याएर ०६९ सालमा ‘अन्तिम धोको पु¥याइदेउ’ बजारमा ल्याए जुसले निकै चर्चासमेत कमायो भने सिआरबिटीको पनि पहिलो नम्बरमा पर्न सफल भयो । त्यस्तै उनका ‘बित्यो जीवन आँसुको भेलैमा’, ‘बदमास माया’ (रोइला), ‘न पत्याउने खोलाले बगायो’, (बाजाको गीत), ‘गैरी खेतमा धान झुलेको’ ‘अलि वर सर’ जस्ता दर्जनौँ गीत बजारमा आइसकेका छन् । करिब ५ दर्जन बढी गीतमा आवाज दिइसकेका कलाकार लक्ष्मणले सयभन्दा बढी गीतमा शब्द रचना साथै संगीत पनि भरेको जानकारी दिए । उनको युगल गायन रहेको पछिल्लो गीत ‘हामी बोलिन्न’ सार्वजनिक भएको छ ।
शिक्षकको जागिर छोडेर गीत संगीतको महासागरको यात्रामा निस्केका उनमा नेपालको मौलिक लोकगायनलाई संरक्षण, प्रवद्र्धन गर्ने र त्यसबाट संस्कृतिको जर्गेना गर्ने हुटहुटी छ । स्वर र लोकगायनको नेपाली क्रेजले उनमा कलाकारितामै आफू जम्न सक्छु भन्ने आत्मविश्वास जागेर उनले शिक्षकको जागिर त्यागेको र यही क्षेत्रमा निरन्तर अघि बढ्ने जिकिर गरे ।
पछिल्लोपटक मौलिक गीतले स्थान नपाएको र यस क्षेत्रमा विकृति विसंगति बढेकाले उनी लोकसंस्कृतिको मौलिकपन जोगाउन कलाकार नै सचेत बन्नुपर्ने धारणा व्यक्त गर्छन् । मौलिकभन्दा पनि अन्य विषयले बढी चर्चा बटुलेकोमा उनले लोकगीतका क्षेत्रमा चुनौती थपिएको गुनासो गर्दै नै सचेत ढंगले अघि बढ्नुपर्ने तर्क गर्छन् । कलाकार युट्युबमा भ्युअर्स बढाउन र पैसा कमाउनका लागि मात्रै अघि सरेर मौलिक लोक संस्कृतिको विकास हुन नसक्ने उनले दाबी गरे ।
उनले भने, ‘मौलिक लोक संस्कृतिलाई बिगारेर आफ्नो व्यवसायमा लाग्ने कलाकारले गर्दा पछिल्लो समय नेपाली लोक संस्कृतिमा विकृति विसंगति बढेको हो । यसले लोकगीत क्षेत्रको मानहानी भएको छ । आफ्ना कला र गलाले भन्दा पनि पैसा फालेर युट्युबमा कसरी भ्युअर्स बढाउँ, बुस्ट हानेर हुन्छ कि चर्चा कमाउनतर्फ लाग्ने कलाकारको आगमनले नै यस्तो अवस्था सिर्जना भएको हो ।’
उनले जेजस्तो अवस्था आए पनि आफू भने निरन्तर मौलिक लोक संस्कृतिकै जर्गेना गर्ने अभियानमा लाग्ने बताए । कलाकारले मौलिकतासँगै आफ्नो पहिचान बनाउन मिहिनेत गर्नुपर्ने तर्क गर्दै उनले समाज रूपान्तरणको अभियानमा लोकगीतले महत्वपूर्ण भूमिका खेलेको भनाइ व्यक्त गरे । समाजलाई सचेत बनाउने र मौलिकतामार्फत आफ्नो पहिचानलाई देश विदेशमा चिनाउने कलाकारलाई राज्यले उचित सम्मान गर्न नसकेको उनले दुखेसो पोखे । उनी भन्छन्, ‘कला, साहित्य तथा संस्कृतिको विकासबिना राज्य समृद्ध बन्न सक्दैन । राज्यले संस्कृतिको क्षेत्रलाई विशेष सम्मान गर्दै यसको उन्नयनमा ध्यान दिनुपर्छ ।’
कलाकारलाई राष्ट्रको गहना भनेर सोकेसमा सजाउने सामग्रको रूपमा नलिई समाज रूपान्तरणका अभियन्ता र संस्कृतिका संवाहकका रूपमा लिनुपर्ने उनको भनाइ छ । कलाकारले आममानिसका मनोभावनालाई निस्वार्थ रूपमा गीतमार्फत पस्किनुपर्ने कर्तव्य भएको उनले बताए । ‘कलाकार भनेको आममानिसको साझा व्यक्तित्व भएकाले उनीहरूको चाहना र मनोभावनालाई आफ्नो सिर्जनामार्फत प्रभावित पार्न सक्नुपर्दछ ।’ उनले गायिका देवी घर्ती, विष्णु माझी, पूर्णकला विसी, शान्तिश्री परियारलगायतका दर्जनौँ कलाकारसँग गाएका युगल गीतका एल्बम बजारमा आएका छन् ।
प्रतिक्रिया