पाँचखाल नगरपालिकास्थित लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन्का क्रममा ढुंगाको गारो भेटिएको छ । पुरातत्व विभागको एक टोलीले पाँचखाल नपा–७ श्रीरामपाटीस्थित दरबार क्षेत्र भनिएको स्थानमा वैशाख १५ गतेदेखि उत्खनन् कार्य सुरु गरिएको छ । उत्खनन्का क्रममा २४ इञ्चका गारो भेटिएको हो ।
विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले उत्खनन्का क्रममा ढुंगाको गारोको केही भाग भेटिएको जानकारी दिए । उनले भने, ‘स्थानीयवासीको भनाइअनुसारका कल्चरल सिक्वेन्स मिल्छ कि मिल्दैन, अध्ययन र परीक्षणपछि मात्र थाहा हुन्छ ।’ उनले दरबार क्षेत्र भनिएको स्थानमा ढुंगाको गारो भेटिएकाले कति कोठाका कस्तो दरबार थियो भन्नेबारे केही दिनपछि मात्रै थाहा हुने बताए ।
स्थानीयवासीले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानांक), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग गर्दै आएका थिए । विभागको टोलीले यही वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय तथा पाँचखाल नपा कार्यलयलाई सम्पदा उत्खनन्सम्बन्धी जानकारी दिई उत्खनन् थालेको थियो ।
पाठक नेतृत्वको टोलीमा पुरातत्वविज्ञ उद्धव आचार्य तथा इञ्जिनियरलगायत ६ जनाको टोली दुई हप्ता पाँचखालमै बसेर अध्ययन अनुसन्धान गर्नेछ । स्थानीय बुढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुंगेधारा र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको जस्ता विषय भन्दै आएका थिए । स्थानीय प्रकाश ढकालको खेतको गरा खन्ने क्रममा २६ इन्चको पुरानो, खण्ड–खण्डमा कोठा रहेको जस्तो घरको गारो तथा पर्खालसमेत भेटिएको थियो ।
उत्खनन्का क्रममा ढकालकै खेतभन्दा माथि रहेको स्थानमा ढुंगाको गारो भेटिएको हो । प्रारम्भिक अध्ययनका क्रममा भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । विज्ञ आचार्यका अनुसार भोगिनी पाली भाषा हो । रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयवासीले सोही स्थानमा खेतीपाती गर्दै आएका छन् भने त्यस क्षेत्रमा एक इँटा उद्योग सञ्चालित छ । स्थानीय नवराज ढकालले आफ्नो खेत खनजोत गर्दा माटोको घैँटोमा केही सिक्का भेटिएको समेत बताए ।
गत वर्ष चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, सिक्का (मानांक), घरको जग, भाँडाका टुक्रा फेला परेपछि पुरातत्व विज्ञ आचार्यसहितको टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । उनका अनुसार स्थानीयवासीको भनाइमा पाँचखालमा तत्कालीन राजा मानदेव र अंशुबर्माको दरबार तथा रानीपोखरी लगायतका संरचना छन् । प्रारम्भिक अध्ययनका क्रममा पाँचखालमा ऐतिहासिक सामग्री, घरको जग, पँधेरो, शिवलिंग, ढुंगेधारालगायत भेटिएको र ती लिच्छवीकालीन नै भएकाले स्थानीयवासीको मागका आधारमा विभागले टोली खटाई वैशाख दोस्रो साताबाट उत्खनन् कार्य सुरु गरिएको अधिकृत पाठकले बताए । विभागले गत चैत अन्तिम साता उत्खनन्विज्ञ आचार्यसहितको एक टोली पाँचखालमा भेटिएका केही ऐतिहासिक प्रमाणको अध्ययन गरेको थियो ।
आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा जति ऐतिहासिक प्रमाण भेटिएका छन्, ती लिच्छविकालीन हुन् । उनका अनुसार भेटिएका प्रमाण लिच्छविकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् । उनले भने, ‘हामीले यसअघि विभागलाई पाँचखालका सम्पदाको थप अध्ययन एवं उत्खनन् गर्न सुझाव दिएका थियौँ ।’
प्रतिक्रिया