काठमाडौं । चित्रमा मौलिक पहिचान खोज्दै कलाकार मन गुरुङ यतिवेला सिद्धार्थ आर्ट ग्यालरीमा झुल्किएका छन् । परम्परादेखि चलिआएका सामाजिक मान्यता हराउँदै जान थालेपछि उनले त्यसलाई क्यानभासमार्फत बाहिर ल्याएका हुन् ।
गाउँघरमा दैनिक जीवनका लागि उपयोगमा ल्याइएका काठ तथा अन्य हस्तकलाका सामग्रीको प्रयोगमा कमी आउँदै गएपछि र तिनको स्थानमा प्लास्टिकका बोटलले ठाउँ ओगट्न थालेको सन्दर्भलाई कलाकारले निकै आकर्षक रूपमा प्रस्तुत गरेका छन् । काठका सामानको स्थानमा कोक या यस्तै बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने प्लास्टिकका बोटलको प्रयोग बढिरहेको छ ।
यसले परम्परागत मूल्य र मान्यता हराउँदै जान थालेको भन्दै कलाकारले चित्रमा भूमण्डलीकरणले समाजमा पारेको प्रभावलाई देखाएका छन् । भूमण्डलीकरणको रापमा गाउँघरबाट पछिल्लो समय हराउँदै गइरहेका मौलिक पहिचान र संस्कृतिलाई उनले चिनाउने जमर्को गरेका छन् ।
तेल रङमा बनाइएका १३ चित्र र १० ड्रइङले कलाकार गुरुङको जन्मस्थान गोरखाको खोर्ला गाउँको कोलाजलाई उधिनेको पाइन्छ । चित्रले विषयमात्रै होइन गाउँमा हराउँदै जान थालेको परम्परा र संस्कृतिलाई समेत दृश्य भाषामार्फत बाहिर ल्याउने काम गरेको छ ।
चित्रमा धर्म परिवर्तन, सांस्कृतिक संक्रमण, गाउँले जीवनका दुःख, सामाजिक परिवेश र तिनका आँखा रहेको निर्दोषपनलाई कलात्मक रूपमा उनेको पाइन्छ । हेर्दा नै पुरानो कालखण्डलाई चिनाउने तस्बिरजस्तो लागेको पनि विषय र प्रस्तुति समसामयिक परिवेश सुहाउँदो छ । उनले चित्रमार्फत पुरानो जमानाको परिवेशलाई पुनर्ताजगी गर्ने जमर्को गरेका छन् ।
‘मौलिक विषय बचाउनु हामी सबैको दायित्व हो । यसमा हामी विविध परिवेश र परिवर्तनको आकांक्षाबाट थिचिएका छौँ । हाम्रा परम्परा, धर्म–संस्कृति, सामाजिक परिवेश, रहनसहन आदिको संरक्षणमा ध्यान दिने उद्देश्यले कलाकृति बनाएको हुँ,’ कलाकार गुरुङले भने । उनका चित्रले दुःखका पहाड छिचोल्दै आएका गाउँलेका सपनालाई परम्परा र आधुनिकताले चेपेको विषयलाई उठान गरेको पाइन्छ । अर्थात् सांस्कृतिक संक्रमणमा गाउँले परिवेश गुज्रिरहेको छ ।
चित्रमा पुराना जमानाका कपडासँगै नयाँ फेसनका कपडा लगाइरहेका गाउँलेलाई कलाकारले पुरानो तथा नयाँ परिवेशलाई समात्न नसकेको र बीचमै रुमल्लिरहेको अवस्थालाई चित्रण गर्न खोजेका छन् । उनी भन्छन्, ‘चित्रमा इतिहासलाई चिनाउने र देखाउने काम गरेको हुँ । हामीले अहिले नै हाम्रा परम्परा र मान्यताका बारेमा नसोच्ने हो भने भोलि यी रहेका सम्पदा र संस्कृति पनि हराउने खतरा छ ।’ सामाजिक संस्कार तथा मनोरञ्जनाका रूपमा प्रयोग गरिने ढ्यांग्रो च्यातिँदै गएको र त्यसको स्थानमा नयाँ सांगीतिक औजारले प्रभाव जमाइरहेको विषय चित्रका देखाइएको छ ।
२६ वैशाखदेखि चलिरहेको गुरुङको ‘लस्ट इन ट्रान्जिसन’ दोस्रो कला प्रदर्शनीको आइतबारसम्म रहने ग्यालरीले जनाएको छ । उनले यसअघि ‘शक्ति, राजनीति र युद्ध’ विषयमा प्रदर्शनी गरेका थिए । फरक विषयमा चित्र बनाउन रुचाउने गुरुङको यस प्रदर्शनीमा सामाजिक परिवर्तन र त्यसको संक्रमणलाई उतारिएको छ ।
बसाइँसराई र अध्ययनका लागि सहर झर्ने युवापुस्ता गाउँ नफर्कने र गाउँघरमा बुढापाका मात्रै रहेको सामाजिक समस्यालाई उनले चित्रमार्फत सचेत गराएका छन् । उनका चित्रमा मादलको ठाउँमा बक्स स्पिकर, रोधीलाई एमपिथ्रीले बिस्थापित गरेको विषय निकै मार्मिक रूपमा आएका छन् । उनले हातले बुनेका झोलाको स्थानमा प्लास्टिकका झोला, काठका सामानको स्थानमा प्लास्टिकका सामग्रीले सांस्कृतिक रूपमा नेपाललाई खोक्रो बनाउँदै लगेको बताए । उनले भने, ‘हामी बिस्तारै पुराना पुस्तासँगै सयौँ वर्षअघिदेखिका पहिचान, परम्परा तथा संस्कृति गुमाइसकेका छौँ ।’
प्रतिक्रिया