बझाङ । जिल्लाको एक विद्यालयमा पहिलोपटक कृषि जेटिए विषयमा पढाइ सञ्चालन हुँदा विद्यार्थीहरू निकै हर्षित भएका छन् । जयपृथ्वी नगरपालिकास्थित श्री सुनिपीपल चौर माविमा यसै शैक्षिक सत्रदेखि १८ महिने कृषि जेटिए विषय पठनपाठन हुन थालेपछि अध्यनरत विद्यार्थीहरू हर्षित भएका हुन् ।
घरदैलोमै कृषि जेटिए विषय सञ्चालनमा आएपछि विगतभैmँ उक्त विषय पढ्न जिल्ला बाहिर जानुपर्ने अवस्था अब नरहेको स्थानीय अविभावकहरू बताउँछन् । आर्थिक अभावका कारण जिल्ला बाहिर गएर जेटिए विषय पढ्न नसकेका विद्यार्थीहरू आजकल घरदैलोमा नै उक्त विषय पढ्न थालेका छन् ।
कृषिको माध्यमबाट विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्षदेखि कृषि जेटिए विषय सञ्चालनमा ल्याइएको श्री सुनिपीपल चौर माविले जनाएको छ । विद्यालय तथा अविभावकको अथक प्रयासपछि कृषि जेटिए विषय अध्यापन गराउन सिटिइभिटीबाट अनुमति पाएसँगै उक्त विषयमा पढाइ सञ्चालन गरिएको प्रअ विष्णुभक्त जोशीले जानकारी दिए ।
सुनिपीपल चौर माविले कृषि जेटिए विषय पठनपाठन सञ्चालन गरेपछि आजकल जिल्लाका ११ वटा स्थानीय तहमा रहेका दुर्गम बस्तीका ३७ जना विद्यार्थी सो विषयमा अध्ययन गरिरहेका छन् । कम लगानीमा घरदैलोमै कृषि जेटिए विषय अध्ययन गर्न पाउँदा आफूहरूलाई निकै खुसी लागेको अध्ययनरत विद्यार्थीहरू बताउँछन् ।
कृषि जेटिए विषय अध्यापन गराउन आर्थिक स्रोत्तको अभाव देखिएपछि विद्यालयले यतिखेर प्रत्येक विद्यार्थीबाट एकमुस्ठ ५० हजार शुल्क लिने गरेको जानकारी प्राप्त भएको छ । आर्थिक अभावका कारण जिल्ला बाहिर गएर प्राविधिक विषय पढ्न नसक्ने भएकाले यहाँका अधिकांश विद्यार्थी नेपाली तथा सामाजिक विषयमा अध्ययन गर्ने गर्दछन् । सुनिपीपल चौर माविमा कृषि जेटिएमा अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मकशैलीमा अध्यापन गराउने गरेको शिक्षक विकास सिंहले जानकारी दिए ।
जेटिए विषयमा अध्ययनरत विद्यार्थीहरूले आजकाल टर्निलहाउस निर्माण गरी विभिन्न खाले तरकारीबालीहरू उत्पादन गर्दै आएका छन् । जेटिए अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक रूपमा उत्पादन गरेका तरकारीहरू आजकल सुपथ मूल्यमा विद्यालय नजिकैका बजारमा बिक्री वितरण हुने गरेको छ । ०१४ सालमा स्थापना भएको उक्त विद्यालय ०४९ मा निमावि हुँदै ०५३ मा मावि र ०६८ मा ११ र १२ कक्षा सञ्चालन गरेको थियो ।
प्रतिक्रिया