काठमाडौं । वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक तथा नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य चैतन्य सम्मानित हुने भएका छन् । उनलाई साहित्य सदन नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान गर्न लागिएको हो ।
मार्क्सवादी कला साहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा राजनीतिक वृत्तमा ‘किरण’ उपनामले चिनिन्छन् । उनलाई साहित्यमा ‘चैतन्य’ नामबाट चिनिन्छ ।
नेपालको मार्क्सवादी तथा प्रगतिवादी सौन्दर्य चिन्तनमा गम्भीर अध्येता तथा व्याख्याताका रूपमा उनलाई चिनिन्छ । गत वर्ष उनको ‘हिमाली दर्शन’ पुस्तक मदन पुरस्कारको उत्कृष्ट कृतिमा परेपछि निकै चर्चामा आएको थियो । उनका ‘मार्क्सवादी कलादृष्टि र समीक्षा’, ‘क्रान्ति र सौन्दर्य’, ‘समीक्षा र सौन्दर्य’ ‘मार्क्सवाद र संस्कृति’ र ‘माक्र्सवादी सौन्दर्य चिन्तन’ तथा दर्शनका क्षेत्रमा ‘संघर्षको दर्शन’ र ‘हिमाली दर्शन’ लगायतक पुस्तक प्रकाशित भएका छन् । त्यस्तै उनका दर्जनौँ पत्रपत्रिकामा माक्र्सवादी कला साहित्य तथा दर्शनका विषयमा लेखिएका लेखरचना प्रकाशित भएका छन् ।
यसैगरी यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ साहित्यकार कविता पौडेललाई प्रदान गरिने भएको छ । समाजमा रहेका रुढिवादी चिन्तनका विरुद्ध आवाज उठाउँदै आएकी आख्यानकार तथा कवि पौडेलका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् । उनी हलो जोत्ने, मलाम जाने, घर छाउने तथा खसी काट्ने जस्ता काम गरी समाजमा व्याप्त रुढिग्रस्ततालाई ठाडै हाँक दिने साहसी महिलाका रूपमा चिनिएकी छन् । उनले महिला सशक्तिकरण र समाजमा व्यप्त विकृति विसंगति विरुद्ध समेत सशक्तरूपमा आवाज उठाउँदै आएकी छन् ।
उनका ‘काँडाघारीको यात्रा’ संस्मरण, ‘बाल चित्कार’, ‘छोरीको चिठी’, ‘हिरा’, ‘छाउपडी’ र ‘मुना’ उपन्यास र ‘नयाँ बिसाउनी’ खण्डकाव्य प्रकाशित छन् ।
प्रतिक्रिया