अपांगलाई गुडिया बनाउने तालिम

सल्यान । शारीरिक अपांगताका कारण हिँडडुल गर्दा हुने समस्याबाट पीडित कपुरकोट गाउँपालिका–५ की सरिता विक घरमै बसीबसी पैसा कमाउन सकिने गुडिया तालिम लिन पाएपछि यतिखेर दंग छिन् ।

अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउनका लागि प्रदान गरिएको गुडिया तालिम लिन पाएकी सरिताले अहिले कुसन, खरायो, बाँदरजस्ता विभिन्न प्रकारका गुडियाहरू मज्जाले बनाउन सक्ने भएकी छन् ।

सरिता मात्रै होइन उनीजस्ता २० जना विभिन्न प्रकारको अपांगता भएकाहरूले अहिले यो तालिम पाएका छन् । तालिम लिएपछि केही गरौँ भन्ने उत्साह आएको एन्जिला केसीले बताइन् । अनुभवका हिसाबले तालिम अति राम्रो भएको र आपूmहरूले पनि अरू जस्तै गर्न सक्ने भन्दै सिकेको सीप व्यवहारमा लगाउने बताइन् । उनले भनिन्, ‘हामीले सिकेको सीप अब घरमा गएर पनि काममा लगाउँछाँै, सीप जति प्रयास ग¥यो त्यति जानिन्छ ।’

कल्याणकारी अपांग सेवा संघ सल्यानको आयोजना तथा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय सुर्खेतको आर्थिक सहयोगमा भएको तालिममा सल्यान जिल्लाका महिला पुरुष गरी २० जना सहभागी थिए । १५ दिनसम्म चलेको तालिममा प्रशिक्षक लोककुमारी रोकाले सबैले सिकेको सीपअनुसार काम गरेमा अहिले सिकेको सीप जीवनको सहारा बन्ने बताइन् ।

कार्यक्रमका शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले सीप सिकेर व्यवहारमा लगाएमा मात्रै सार्थक हुने भएकोले तालिमपछि व्यावसायिक रूपका सिकेको सीपसम्बन्धी काम गर्न आग्रह गरेका थिए । हामी अपांगता भएकाहरूले गरेका कामको सधैँ प्रोत्साहन गर्छौं मेयर अधिकारीले भने नगरपालिकाले उत्पादित सामग्रीको बजार व्यवस्थापनको जिम्मा लिन्छ । मेयर अधिकारीले बरु परिणाममुखी उत्पादनमा जोड दिन उनीहरूलाई अनुरोध गरेका थिए । उनले नगरभित्र व्यावसायिक रूपमा काम अघि बढाएमा आपूmहरूले हौसला स्वरूप सहयोग गर्ने बताए ।

कल्याणकारी अपांग संघ सल्यानका अध्यक्ष कृष्ण बुढाले अहिले सिकेको सीपले गर्दा अपांगता भएकाहरूले पनि घरमै बसीबसी आम्दानी गर्न सक्ने देखिएका भन्दै खुसी व्यक्त गरे । अपांगले पनि कसैको भर नपरेर घरमै बसीबसी पैसा कमाउन सक्छन् भन्दा त्यो भन्दा खुसीको कुरा के हुन सक्छ उनले भने ।

प्रतिक्रिया