प्रदेश पाँचको यात्रा समाप्त

काठमाडौं । प्रदेश नम्बर पाँचले दोस्रो जित निकाले पनि उसको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको यात्रा समाप्त भएको छ । समूह ए को अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेपनि यात्रा अगाडि बढाउन सकेनन् । समूह ए बाट पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर तीन र विभागीय क्लब एपीएफले अन्तिम चारमा स्थान बनाइसक्दा प्रदेश पाँच १ अंकले पछि परेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २ सय ३५ रनको लक्ष्य पछ्याएको प्रदेश पाँच १ बल बाँकी छँदै ७ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो । प्रदेश पाँचको जितमा सौरभ खनालले सर्वा्धिक ९० रन बनाए । प्रधानमन्त्री कपबाटै चम्किएका सौरभले लामो समयपछि फेरि प्रधानमन्त्री कपमा ९० रन बनाएका हुन् । १ सय १२ बल खेलेका उनले १२ चौका प्रहार गरेका थिए ।  प्रनित थापा मगरले ४५ रन बनाउँदा निश्चल चौधरीले ३३ रनको योगदान दिए । गण्डकी प्रदेशका किशोरी महतोले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले २ सय ३४ रन बनाएको थियो । गण्डकीका लागि अनिल गुरुङले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । ५ चौका र १ छक्काको मदतमा अनिलले १ सय १५ रन बनाएका थिए । कप्तान गोविन्द प्रधानले २६ रन बनाउँदा दिपेश श्रेष्ठले २८ रन बनाएका थिए । किशोरी महतोले २० रन बनाएका थिए ।  प्रदेश पाँचका अनिल खरेलले ५ विकेट लिएका थिए । विक्रम भुसाल र कृष्णा कार्कीको नाममा २–२ विकेट रह्यो । समूह बी बाट विभागीय क्लब नेपाल पुलिस समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ । यस्तै त्रिभुवन आर्मी उपविजेता बनेको छ ।

प्रतिक्रिया