गुञ्जिए पण्डित भवल्कर

काडमाडौं । लाइभ म्युजिक भन्नासाथ हार्मोनियम तबला या गितार र पियानो प्रायः मुख्य सूचीमा पर्छन् । यस्तो लाग्छ, हार्मोनियमविना गीत कसरी गाउन सकिएला ? हार्मोनियमविनाको संगीत कस्तो होला ? तर, शास्त्रीय गायनको प्राचीन शैली ध्रुपद गायनले हार्मोनियम र तबलालाई चिन्दैन । ध्रुपद गाउनेहरूलाई यी बाजाको आवश्यकता पनि पर्दैन ।

यी बाजाविनाको सुर शुक्रबारको साँझ जमलस्थित सांस्कृतिक संस्थानमा गुञ्जियो । भारतका चर्चित ध्रुपद गायक पण्डित उदय भवल्करको स्वरले शास्त्रीय गायनमा हार्मोनियम र तबलाको आवश्यकतालाई बिर्साइदियो । सांस्कृतिक संस्थानको मिनीहलको सानो तर निकै सुन्दर मञ्चमा उनको आवाजको आरोह अवरोहले स्रोतालाई मन्त्रमुग्ध बनायो । पशुपतिनाथको दर्शन उनका लागि महत्वपूर्ण थियो ।

शुक्रबार बिहानै दर्शन गरेपछि साँझमा भगवान शिवको स्तुति नगरी रहन सकेनन् । कार्यक्रमको सुरुआत राग गावतीबाट सुरु भए पनि अन्त्य राग अडानामा शिवस्तुतिबाट कार्यक्रम समापन भएको थियो । राग गावती र मारवामा उनले आलाप, जोड, झालासहित दुई÷दुई रचना प्रस्तुत गरे । दर्शक दीर्घामा एकातिर थिइन् गायिका जोनिशा पौडेल, अर्कातिर थिए ललितकला क्याम्पसका प्रमुख डा.रमेश पोखरेल । तानपुराको धुन र पखावजको तालमा पण्डित भवल्करको स्वरको मिठासले दुवैलाई स्पर्श गरिरहेको प्रस्टै देखिएको थियो ।

तालको समसँगै रमेश ‘वाह’ भन्दै हात झट्कारिरहेका थिए । छेउकी गायिका पौडेल निःशब्द थिइन् । केवल अनुभूत गरिरहेकी थिइन् पण्डित भवल्करको सुरलाई । अगाडिको पंक्तिमा बसेका कलानिधि संगीत विद्यालयका संगीत गुरु धनबहादुर गोपालीका आँखा पण्डित भवल्करबाट हटेका थिएनन् । विश्वका थुप्रैै मुलुकमा ध्रुपद गायनका लागि कहलिएका पण्डित भवल्करको यो पहिलो नेपाल भ्रमण हो । आफ्नो धार्मिक आस्था मिल्ने सबैभन्दा निकटतम् छिमेकी नेपाल आउन पाउँदा भवल्कर आनन्दित छन् । भन्छन्, ‘स्रोता सबै ठाउँका उस्तै हुन्, म पनि उस्तै हुँ, तर पहिलो भ्रमण भएकाले नेपाल विशेष लागिरहेको छ, खुसी छु ।’

ध्रुपद सेन्टर नेपालले शुक्रबार पण्डित भवल्करको एकल गायन कार्यक्रम र शनिबारदेखि पाँचदिने ध्रुपद गायन कार्यशाला आयोजना गरेको हो । कालिकास्थानस्थित फलैँचा स्पटमा ३५ जना प्रशिक्षार्थीको सहभागितामा कार्यशाला भइरहेको छ । संगीतकर्मी तथा ध्रुपद सेन्टर नेपालका संस्थापक श्री केसी नेपालका संगीतका विद्यार्थीमा ध्रुपद गायनसम्बन्धी ज्ञानको दायरा फराकिलो बनाउन कार्यशाला आयोजना गरेको बताउँछन् । उनी भन्छन्, ‘विश्वमै नाम स्थापित गरेका यस्ता कलाकारको अनुभवले राग संगीतको विषयमा हाम्रो अध्ययनलाई गहन बनाउन सहयोग गर्छ ।’

प्रतिक्रिया