शाहीलाई यातना नदिइएको प्रहरीको भनाइ

सुर्खेत । आफूलाई भ्रष्टाचार विरोधी अभियानकर्मी बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई हिरासतमा नराखेको प्रहरीले जनाएको छ । शाहीलाई पक्राउ पूर्जीबिना पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिँदै शाहीलाई हिरासतमा नराखेको बताएको हो ।

पक्राउ परे लगत्तै शाहीलाई हिरासतमा नराखेर काठमाडौँ पठाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक महेशविक्रम शाहले जानकारी दिए । गत वैशाख १८ गते सुर्खेतमा आयोजित आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै कर्णालीका पत्रकारलाई गालीगलौज गरेको भिडियो पोष्ट भएको थियो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र सुर्खेत शाखाका तर्फबाट प्रहरीमा जाहेरी दिइएको थियो ।

पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तरवार्ता दिएका शाहीलाई यही जेठ १५ गते सुर्खेत वीरेन्द्रनगरको खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो । खुल्लामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भए लगत्तै पक्राउ पूर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकले प्रहरीमाथि ढुङ्गामुडा गरेको प्रहरी नायब निरीक्षक शाहले बताए ।

शाहीका समर्थकले प्रहार गरेको ढुङ्गा लागेर छ जना प्रहरीसहित शाही पनि घाइते भएको प्रहरीले जनाएको छ । शाहीलाई खुल्लामञ्चबाट पक्राउ गरेर ल्याएपछि प्रहरी निरीक्षकको कक्षमा राखेर सोधपुछ गरिएको तर कुनै किसिमको यातना नदिइएको उनले बताए । पक्राउ गरे लगत्तै शाहीलाई मेडिकल जाँचपछि सिधै काठमाडौँको रात्रि बसमा राखेर आवश्यक कारवाहीका लागि पठाइएको शाहले जानकारी दिए ।

शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हबल्दार प्रकाश बुढा र जवान रामसागर बर्मा, जीतबहादुर बोहरा, पवन सुवेदी र हस्तसिंह घाइते भएको प्रहरीले जनाएको छ । शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ सुर्खेतका प्रेम विक, दीपक शाही, सिंजा जुम्लाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भुषाल र रजिना परियारलाई पक्राउ गरेको थियो । शाहीसँगै पक्राउ परेकाहरुलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया