जनतासँग सम्बन्ध सुधार नगरे कांग्रेस झन् कमजोरः नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताएका छन् । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उनले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताए ।

‘अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व कांग्रेसले पूरा गरे पनि जनताले किन कांग्रेसलाई विश्वास गर्न सकेन, ‘उनले भने । पार्टीका पूर्व महामन्त्री सिंहले पार्टीले विधि र विधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दी आफूखुशी निर्णय गर्दै जाँदा पार्टी झन् कमजोर हुँदै गएको बताउनुभयो । पार्टी विधिसम्मत् रुपमा अगाडि नबढे गुट मौलाउँदै जाने उनको भनाइ थियो ।

उनले पार्टीलाई संघीय स्वरुपमा लान नसक्दा जागरण अभियानमा उत्साह नआएको उल्लेख गरे । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संघीयता कमजोर पार्न खोजेको आरोप लगाए । सरकारले भर्खरै प्रस्तुत गरेको बजेट संघीयता मजबुत बनाउने खालको नभएको उनको जिकिर छ ।

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरासियाले पार्टीलाई बलियो बनाउन पार्टीले विधानको पालना गर्नुपर्ने बताए । जागरण अभियानलाई गाउँ गाउँसम्म लैजानुपर्ने उनको भनाइ थियो । उनले वर्तमान सरकार जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप समेत लगाए । सोही क्रममा कांग्रेस रौतहटका सभापति कृष्ण यादवले कांग्रेस नेतृत्वले जागरण अभियानमार्फत आएका सुझावलाई आत्मासाथ गरेर अगाडि बढेमात्र भविष्यमा कांग्रेसको सङ्गठन बलियो हुने उल्लेख गरे ।

प्रतिक्रिया