ताप्लेजुङ । पत्रकार कृष्ण सेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसमा सोमबार प्रेस संगठन नेपाल ताप्लेजुङले बाँजोगरा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
विद्यालयका सय जना विद्यार्थीलाई कापी र डटपेन÷पेन्सिल प्रदान गरिएको प्रेस संगठनको जिल्ला समितिले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोको प्रमुख आतिथ्यता तथा नेकपा जिल्ला अध्यक्ष विजयप्रकाश वनमेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमका बीच विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक खड्गबहादुर थापाले सदरमुकाम छेवैको विद्यालय भएर पनि भौतिक पूर्वाधारको अभाव झेलिरहेको र बढी मात्रामा विपन्न समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्ने प्रेस संगठनको योजनाले विद्यालय प्रशासनलाई उत्साहित गरेको बताए । प्रमुखअथिति तथा विशिष्ट अथिति दुबैले विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
कार्यक्रममा प्रेस संगठनका केन्द्रीय सदस्यद्वय खगेन्द्र अधिकारी र चन्द्र पन्दाक (प्रयास), पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, संस्थापक जिल्ला सभापति मनमणि काफ्ले, पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई, तत्कालीन प्रेस चौतारीका केन्द्रीय प्रतिनिधि सुवास आचार्य, प्रेस युनियनका जिल्ला सचिव सीताराम गुरागार्इं सहितको उपस्थिति रहेको थियो ।
करिव १० हजार रकम खर्च गरेर वितरण गरिएको शैक्षिक सामग्रीका लागि केही रकम सहयोग र केही संगठनका सदस्यहरू भित्रबाट संकलित रहेको तत्कालीन प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिए । तत्कालीन प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष दिनेश लिङ्खिमले विद्यार्थीको पढाइमा सहयोग गर्ने मनशायले शैक्षिक सामग्री प्रदान गरिएको जानकारी दिए । पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष भट्टराईले करिब तीन हजार मूल्य बराबरको शैक्षिक सामग्री प्रेस संगठनलाई सहयोग गरेका थिए ।
प्रतिक्रिया