मुगु । जिल्लामा पनि शुक्रबारदेखि स्वास्थ्य बिमा दर्ता कार्य सुरु भएको छ । नेपाल सरकारको उद्देश्यअनुसार सबै नागरिकले सहज, सुलभ तथा गुण स्तरीय स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने लक्ष्यका साथ ४६ औँ जिल्लाका रूपमा मुगु जिल्लामामा पनि स्वास्थ्य बिमा दर्ता कार्य सुरु भएको हो ।
स्वास्थ्य बिमा बोर्डको आयोजनामा सदरमुकाम गमगढीमा आयोजना गरिएको बिमा सदस्यता दर्ता कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायालाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले पहिलो स्वास्थ्य बिमा परिचय पत्र प्रदान गरी कार्यक्रमको सुभारम्भ गरेका हुन् । पाँच जना परिवार सदस्य रहेको घर परिवारले तीन हजार पाँच सय रकम तिरेर बिमा गर्दा एक लाखसम्मको उपचार प्राप्त गर्न सक्ने छन् ।
असार मसान्तसम्म स्वास्थ्य बिमा दर्ता परिचय पत्र लिनेले भदौ १ गतेबाट सरकारले तोकेका स्वास्थ्य सेवा लिन सक्ने राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले बताए । संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा उल्लेख गरे बमोजिम स्वास्थ्य बिमा कार्य सुरु गरिएको र यसलाई नतिजामुखी बनाउनु पर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
मुगु जिल्लाका चारवटै स्थानीय तहका सबै वडाबाट स्वास्थ्य बिमा दर्ता सहयोगी छनौट गरि अभिमुखीकरण तालिम दिइएको छ । चार वटा स्थानीय तहका गाउँ गाउँमा स्वास्थ्य बिमा गर्नको लागि ४२ जना दर्ता सहयोगीका लागि अभिमुखीकरण तालिम दिई परिचालित गरिएको छ । चार स्थानीय तहका ४५ वडामा ४२ जना दर्ता सहयोगी परिचालित भई स्वास्थ्य बिमाका बारेमा जानकारी ,स्वास्थ्य बिमा गर्दा हुने फाइदाका बारेमा जानकारीसँगै स्वास्थ्य बिमा गराउने छन् । दर्ता सहयोगीलाई तीन दिनसम्म स्वास्थ्य बिमाका बारेमा तालिम दिई जानकारी गराइएको र त्यसै अनुरूप गाउँ गाउँमा गहेर स्वास्थ्य बिमा गर्ने स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
प्रतिक्रिया