बेहोसीमै जुस खुवाइयो

काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा आमरण अनशन बसेकी डिकी शेर्पाले सम्झौताको केही घण्टामै अनशन नतोडेको जिकिर गरेकी छन् ।

आइतबार अस्पताल प्रशाशनसँग १० बुँदे सम्झौता गरी अनशन तोडेकी उनले सोमबार अनशन नतोडेको बताएकी हुन् । केन्द्रका नर्स तथा कर्मचारी आबद्ध ‘नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन’का तर्फबाट आन्दोलनरत तीन जना नर्सको हस्ताक्षरसहित भक्तपुरका सिडिओ, नेपाल नर्सिङ संघ र नेपाल शेर्पा महिला संघसमेतको रोहबरमा अस्पताल प्रशाशनसँग लिखित सम्झौता गरी आफन्तसमेतको उपस्थितिमा जुस पिएर अनशन तोडेको केही घण्टामै शेर्पाले यस्तो भनेकी हुन् ।

आफू अर्धचेत अवस्थामा भएका वेला चालबाजी गरी आफ्ना मागको पूर्ण सम्बोधन नै नभई अनशन तोडाइएकाले आफूलाई मान्य नहुने र अनशन जारी रहने बताएकी छन् । ‘आइतबार मेरो मुटुको चाल बढेपछि निद्रा लाग्ने औषधि खाएर बसेकाले म अर्धचेत अवस्थामा थिएँ, उनले भनिन्, ‘मलाई सुनाइएको अस्पताल प्रशाशनसँगको सम्झौता र पिलाइएको जुसबारे मलाई केही थाहा छैन ।’

उनले आइतबार राति केन्द्रमा नर्सिङ संघका केही पदाधिकारी आएर पत्र पढ्दा आफूलाई केही थाहा नभएको तर सबैले ताली पिटेर जर्वजस्ती जुस पिलाएको जानकारी दिइन् । उनले थपिन्, ‘राति अचेत अवस्थामा भएकाले केही थाहा भएन, बिहान उठेर पत्र पढ्दा थाहा पाएँ कि सम्झौता हाम्रो माग सम्बोधन गर्ने किसिमको छैन, जुन मलाई मान्य हुँदैन ।’

आन्दोलन नर्स र केन्द्र प्रशासनबीच वार्ता, सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेकी तथा सम्झौताको रोहबरमा हस्ताक्षरसमेत गरेकी नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले आन्दोलनरत नर्सहरूका सबै माग पूरा भएको र पूर्णहोसमै अनशन तोडाइएको बताइन् । उनले भनिन्, ‘शेर्पाका आमा, मामालगायत आफन्त तथा नातेदारसमेतको उपस्थिति र सहमतिमा पूर्ण होसमै सम्झौताका बुँदा पढेर सुनाएर मात्र अनशन तोडाएका हौँ ।’ आज आएर पुनः सम्झौता मान्य हुँदैन भन्नु ठीक होइन ।

यसअघि आइतबार साँझ कर्मचारी युनियनका तर्फबाट आन्दोलनरत ३ जना नर्स रविता सितिखू, प्रविना कार्की र सजना देउलाले हस्ताक्षर गरी अस्पताल प्रशाशनसित १० बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतापछि शेर्पाले जुस पिएर अनशन तोडेकी थिइन् तर सोमबार एक्कासि उनले आफूलाई अर्धचेत अवस्थामा झुक्याएर अनशन तोडाइएको बताएकी हुन् । यता सम्झौताका हस्ताक्षरकर्ता नर्सहरू आफ्ना माग पूरा भएकाले आफ्नो राजीखुसीमै सम्झौता भएको बताउँदै आएका छन् ।

हस्ताक्षरकर्ता नर्सका अनुसार अनशनकारी शेर्पाले आइतबार सम्झौतालाई स्वीकार गरेरै अनशन तोडको बताइन् । ‘हामीले वार्तामा बसेर हाम्रा मागको अधिकतम सम्बोधन हुने गरी सम्झौता गरेका हौँ, त्यसलाई हिजो (अनशनकारी शेर्पा) ले पनि मान्नुभएको थियो, तर आज मानिरहनुभएको छैन,’ सजना देउलाले भनिन् ।

प्रतिक्रिया