बीएनए र ग्रिनल्यान्ड च्याम्पियन

काठमाडौ । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र ग्रिनल्यान्ड चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन् । बीएनए जुनियर ब्वाइज तथा ग्रिनल्यान्ड सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा पहिलो भए ।

बसुन्धारास्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा बीएनएले लालीगुराँस नेसनल एकेडेमीलाई २५–२० ले पराजित ग¥यो । बीएनएका सन्देशजंग खड्काले २० अंक जोडे । इडेन ब्रिज एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो । सिनियर ब्वाइज उपाधि भिडन्तमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई २१–१४ ले हरायो । ग्रिनल्यान्डका राजीव आलेले ९ स्कोर गरे। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्देश र राजीव आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

जुनियर ब्वाइजमा इबिएका सुनील मल्ल (५० अंक) तथा सिनियर ब्वाइजमा ग्रिनल्यान्डका मिङगुर शेर्पा (२५ अंक) प्रतियोगिताकै सर्वाधिक स्कोर कर्ता बने । जुनियर ब्वाइजमा अक्षर तथा सिनियर ब्वाइजमा अमृत बोर्डिङ स्कुल ‘इमर्जिङ टिम’ चुनिए । जुनियर ब्वाइजमा मनासलु तथा सिनियर ब्वाइजमा सिद्धार्थ मोडेल स्कुलले अनुशासित टिमको उपाधि हात पारे । जुनियर ब्वाइजमा लालीगुराँसका रोशन घले ‘इमर्जिङ प्लेयर’ ठहरिए ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका कार्यापालिका सदस्य कल्पना घिमिरे, प्याब्सन प्रदेश ३ का अध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौं प्याब्सनका उपाध्यक्ष प्रेम राई, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख २६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइजमा २४ टिम सहभागी थिए ।

प्रतिक्रिया