अनसन बसेका नर्स पक्राउ

काठमाडौं । आफ्ना विभिन्न माग राखेर अनसनसहितको आन्दोलनमा उत्रिएका भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रका ११ जना नर्सलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । शान्तिपूर्ण धर्नामा बसेका ११ जना नर्सलाई महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीले पक्राउ गरेको हो ।

आन्दोलनको नेतृत्वकर्ता नर्स त्रजिना जतीले बिरामीको सेवा सुरु राख्दै शान्तिपूर्ण धर्नामा बसेका नर्सलाई अस्पताल प्रशासनले प्रहरी लगाई पक्राउ गरेको बताइन् । उनले भनिन्, ‘अनसनमा बसेकाका अवस्था गम्भीर भयो, हामी शान्तिपूर्ण धर्नामा बसेका थियौँ, प्रहरीले माथिको आदेश भन्दै हट्न भने, हामीले मानेनौँ, त्यसपछि आन्दोलनमा रहेका नर्सलाई लछारपछार गर्दै भ्यानमा हालेर लगियो ।’

जतीकाअनुसार शुक्रबार आन्दोलनरत नर्सले राति ड्यिुटीमा रहेका नर्सलाई भित्रबाट बाहिर आउन नदिएको र बाहिरबाट नर्सलाई भित्र जान नदिई धर्नामा बसेका थिए । जतीले भनिन्, ‘हामीले बिरामीको सेवा रोकेका थिएनौँ, भित्र रहेका नर्सहरूलाई बाहिर नआई भित्रै बसेर बिरामीको सेवा गर्न भनेका थियौँ, बाहिर रहेका नर्सलाई भित्र नजान भनेका थियौँ । तर, बिरामी र कुरुवालाई जान रोकेका थिएनौँ, सेवा बन्द गराएका पनि छैनौँ । तर, अस्पताल प्रशासनले प्रहरी लगाएर पक्राऊ गर्यो ।’

पक्राउपर्नेमध्ये शान्ति कुमाल, अनु शाही, शर्मिला लामा, मिना गर्बुजा, रविता सुवाल, सजिना मान्नधर, मुना श्रेष्ठलाई प्रहरीवृत्त जगातीको हिरासतमा र सविता श्रेष्ठ, संगीता मंग्र्राती, सजना देउला र त्रजिना जतीलाई प्रहरीवृत्त थिमिको हिरासतमा राखेको छ । गत वैशाख ११ गतेदेखि आन्दोलनमा उत्रिएका नर्सलाई अस्पताल प्रशासनले पक्राउ गर्न लगाई तेस्रोपटक हिरासतमा पु¥याएको हो ।

आन्दोलनरत नर्समध्ये केन्द्रमा कार्यरत स्टाफ नर्स डिक्की शेर्पा र पोखराकी नर्स जिता बराल विगत आठ दिनदेखि आमरण अनशनमा बस्दै आएका छन् । उनीहरूको स्वास्थ्य अवस्था जटिल बनेको छ । अनशनमा बसेका नर्सको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै जाँदा पनि माग सम्बोधन गर्ने चासो नदिएपछि नर्सले अस्पतालमै धर्ना दिन शुरु गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

केन्द्र स्थापनादेखि कार्यरत नर्स तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्ने, काम गर्दै आएका नर्सलाई प्रोत्साहन गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने सम्मेलनमा कार्यरत कर्मचारीलाई अवसर दिनुपर्नेलगायतका माग राख्दै नर्स आन्दोलनमा उत्रिएका हुन् ।

आफ्ना मागविपरीत स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगले खुला प्रतिस्पर्धामा दर्खास्त आह्वान गरी केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र पहुँचवालाका व्यक्तिलाई स्थायी गर्ने र स्थापनाकालदेखि कार्यरत नर्सलाई निष्काशन गर्ने षडयन्त्र गरेको उनीहरूको आरोप छ । आन्दोलन र अनशनका कारण बिहीबार केन्द्रले लोकसेवा आयोगलाई पत्र पठाई परीक्षा स्थगन गर्न आग्रहसमेत गरे पनि दर्खास्त फाराम बुझाउने शुक्रबार अन्तिम दिनसम्म पनि लोकसेवाको सूचना रद्द नभएपछि शुक्रबारदेखि नर्स धर्नामा बसेका थिए ।

केन्द्रमा हाल ९६ जना स्टार्फ कार्यरत छन् भने नर्सको स्थायी पदपूर्तिका लागि गत वैशाख १३ गते लोकसेवा आयोगले ९६ पदमै स्थायी दरबन्दीको सूचना प्रकाशित गरेको थियो । यता अस्पताल प्रशासनले भने नर्सको आन्दोलनले शुक्रबारदेखि सबै सेवा ठप्प भएको जनाएको छ । आन्दोलनका कारण डायलासिस लगायतका अधिकांश सेवा ठप्प हुँदा बिरामी मर्कामा परेको प्रशासनको भनाइ छ ।

मिर्गौलापीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीको नेतृत्वमा गएको मिर्गौलापीडित बिरामी तथा नर्सले आज जिल्ला प्रशासन कार्यालय भक्तपुर घेराउ गरी नाराबाजी गरेका छन् । अस्पतालको शैय्यामा डायलासिस गराउनुपर्ने बिरामीहरू आफ्नो स्वास्थ्य रक्षाको माग गर्दै प्रशासन कार्यालय घेराऊ गरी नाराबाजी गरेका हुन् ।

समाजका अध्यक्ष सुवेदीसहितको टोलीले घेराउ गर्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रको स्थायी दरबन्दीको दर्खास्त आह्वानको सूचना रद्द गर्नुपर्ने, अस्थायी एवं करारमा नियुक्ति पाई कार्यरत कर्माचारीको उचित व्यवस्था गर्न र आन्दोलनका कारण रोकिएको मिर्गौला डाइलासिस लगायतको सेवा सञ्चालन गर्न माग गरेका छन् ।

उनीहरूले प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई भेट गरी तत्काल समस्या समाधान गर्नसमेत माग गरेका छन् ।

प्रतिक्रिया