माङसेबुङमा ‘एक वडा एक नमुना विद्यालय’

राम योङहाङ, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम सुरु गरेको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नमुना विद्यालय बनाउन गाउँपालिकाले यो कार्यक्रम अघि बढाईएको हो । चालू आर्थिक वषर्् २०७५/०७६ को नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाका ६ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगोले बताए ।

प्रत्येक वडाका एक विद्यालय छनौट गरी कार्यक्रम सञ्चालन गरिएको छ । तीनवटा माध्यमिक विद्यालय र तीनवटा आधारभूत विद्यालयमा सो कार्यक्रम लागू भएको छ । चालू आवमा वडा नम्बर १ को महेन्द्रोदय मावि, वडा नम्बर २ को जनताकल्याण आधारभूत विद्यालय, वडा नम्बर ३ को जीवनज्योति मावि, वडा नम्बर ४ को सरस्वती आवि, वडा नम्बर ५ को सरस्वती माविर र वडा नम्बर ६ को चन्द्रेश्वरी आविमा कार्यक्रम लागू भएको हो ।


कार्यक्रम अन्तरगत प्रत्येका विद्यालयलाई पाँच लाख रुपैयाँका दरले ३० लाख रुपैयाँ अनुदान दिईएको छ । कार्यक्रम अन्तरगत छनौट भएका विद्यालये अनिवार्य अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्नुपर्ने, नर्सरीका विद्यार्थीलाई पोसाकको व्यवस्था, पाठ्यपुस्तकको व्यवस्था, फर्निचरको व्यवस्था तथा गुणस्तरीय शिक्षाका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो रहेकाले विद्यालयमा विद्यार्थी आकर्षित गराउने र गुणस्तरीय शिक्षा प्रदान गर्न कार्यक्रम सञ्चालनमा ल्याईएको अध्यक्ष इधिङगोले बताए । ‘गुणस्तीय शिक्षाका लागि अंग्रेजी माध्यममा पठनपाठन, विद्यालयलाई आवश्यक फर्निचर र शैक्षिक सामग्रीको व्यवस्थापन तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण गराउने विभिन्न क्रियाकलाप संचालन हुनेछन्’ अध्यक्ष इधिङगोले भने, ‘यसले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई गाउँमै गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्ने हाम्रो अपेक्षा छ ।’


यसअघि ‘एक गाउँपालिका, एक नमुना विद्यालय’ कार्यक्रम अघिल्लो वर्षदेखि नै सञ्चालित छ । वडा नम्बर ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा सञ्चालित सो कार्यक्रमले चालू आवमा समेत रिन्तरता पाएको छ ।  कार्यक्रम अन्तरगत अघिल्लो वर्ष १५ लाख पाएको विद्यालयले यस वर्षमा १० लाख रुपैयाँ पाएको छ । कार्यक्रमबाट विद्यालयको भौतिक र शैक्षिक क्षेत्रमा सुधार भएको प्रधानाध्यापक तिलबिक्रम सुब्बाले जानकारी दिए । कार्यक्रम अन्तरगत बालमैत्री भौतिक पूर्वाधार निर्माण, बालमैत्री शिक्षण सिकाई क्रियाकलाप, पुस्तकालय व्यवस्थापनको कार्य गरिएको छ । साथै नर्सरीदेखि कक्षा ४ सम्म कम्प्युटिर कक्षासहितको अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको छ ।

प्रत्येक वर्ष अंग्रेजी माध्यमको कक्षा वृद्धि गर्दै लैजाने प्रधानाध्यापक सुब्बा बताउँछन् । कक्षा ५ सम्म अािवार्य अंग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठनको व्यवस्था गरिने योजना रहेको प्रधानाध्यापक सुब्बाले बताए ।

कार्यक्रम लागू भएपछि विद्यालयको समग्र शैक्षिक अवस्था सुधारोन्मुख रहेको प्रधानाध्यपाक सुब्बा बताउँछन् । ‘कार्यक्रम लागू भएपछि विद्यालयको समग्र क्षेत्र सुधारोन्मुख छ अभिभावकको चासो बढ्नका साथै विद्यार्थी संख्या समेत बढ्न थालेको छ’ प्रधानाध्यापक सुब्बाले भने, ‘यो देन गाउँपालिकाको हो । आगामी दिनमा समेत गाउँपालिकाबाट यस्तै सहयोगको अपेक्षा गर्दछौं ।’ चिसोपानी माविमा नर्सरीदेखि कक्षा १० सम्म ४ सय ७२ विद्यार्थी छन् । कक्षा ११ मा ५१ र १२ मा ५७ जना थिए ।

आगामी वर्ष पनि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिईने गाउँपालिका अध्यक्ष इधिङगो बताउँछन् । ‘दक्ष जनशक्ति उत्पादनको पहिलो आधार नै शिक्षा हो । तसर्थ हामी बजेट बनाउँदा शिक्षालाई विशेष प्राथमितामा राख्नेछौं’ अध्यक्ष इधिङगोले भने ।

माङसेबुङ गाउँपालिकामा ३२ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालय छन् । सामुदायिक विद्यालयमा २ वटा मावि (कक्षा १२), ४ वटा मावि (कक्षा १०), १५ वटा आवि (कक्षा ८) र १० वटा आवि (कक्षा ५ सम्म) रहेका छन् । त्यस्तै संस्थात विद्यालय मावि ३ वटा र आवि एउटा रहेका छन् ।

प्रतिक्रिया