न्याय माग्दा रामप्रवेशलाइ नालामा फालिदिने धम्की

काठमाडौं । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन् । आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदापनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे । उनले भने,‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’
शल्यक्रिया गर्नुपुर्व विरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि बुवाले सुनाए । उनले भने,‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेरपनि न्याय पाउँ भनि हारगुहारसमेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे । उनले भने,‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन् ।’

उनले भने,‘अब हामी कहाँ जाने ? हामीलाई कहिले न्याय दिनुहुन्छ ?
कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । उनले भने,‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ ।’

शल्यक्रियापुर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा विरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको थियो । तर, निधनपछि सोही ठाउँमा टिपेस लगाएर २० देखि ३५ प्रतिशत बनाईएको छ ।’

प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदापनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाए । उनले थपे,‘कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छौं । तर, हाम्रो उजुरी दर्ता गराउन कोहीपनि तयार छैनन् ।’

आफूहरु शल्यक्रियामा संलग्न चिकित्सक र ल्याबका व्यक्तिको नाम उल्लेख गरेर मुद्दा दर्ता गराउन गएको भएपनि मुद्दा दर्ता नभएको पनि उनले सुनाए ।
उनले प्रहरी वृत्त महाराजगन्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको पनि जनाए । त्यस्तै, उनले पछिल्लो समय आफूहरुलाई ज्यानको पनि असुरक्षा महशुस भैरहेको जानकारी दिए ।

उनले भने,‘स्वास्थ्य मन्त्रालयमा पुग्दा त्यहाँ अस्पतालका निर्देशक जोतेन्द्र शर्मा, जो बालिकाको शल्यक्रियामा संलग्न थिए, उनी पनि मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र सचिव पुष्पा चौधरीपनि सँगै थिए ।’ मन्त्रालयले उजुरी दर्ता गरेको तर अहिलेसम्म कुनै कारबाही नगरेको उनले सुनाए ।
यस्तो लापरवाही गर्ने डाक्टरलाई जागिरबाट हटाउनुपर्ने र उनको प्रमाणपत्र नै रद्द गर्नुपर्ने यादवको माग छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ ।

तर, बालिकाका बुवा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ ? भन्ने कुरा अहिलेसम्म थाहा नभएको सुनाए । उनले भने,‘मलाई त ईन्साफ चाहिएको छ। तर, खुरुक्क लाश लिएर जान, बढि बोलिस भने तलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन् ।’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भयो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ताद्धय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घट्नामा लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । भण्डारीले मृत्तकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिनेपनि जनाए ।

भण्डारीले आफुहरुले पीडित परिवारलाई सहयोग गर्ने विश्वास दिलाए । उनले भने,‘कानूनको शासनलाई धज्जी उडाउने काम भएको छ ।’ प्रहरीले अनुशन्धान गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनले जोड दिए । नेपालका लागि नेपालीका अभियन्ता अधिवक्ता घिमिरेले यो घट्नाको अनुशन्धानको दायरा अघि बढ्नुपर्ने माग गरे । उनले भने,‘प्रहरीले उजुरी लिनुपर्छ ।’

उनले भने,‘उपचारको क्रममा गलत प्रवृत्ति, गलत उपचार र गलत ग्रुपको रगत दिएर गलत उपचार गरेर लापरवाहीको कारण निधन भएको भन्ने कुरा आएको छ । एउटा अस्पताल, जहाँ नागरिकहरु उपचार गर्न बसेको छ । उनीहरुको लापरवाहीको कारण कसैको ज्यान जाने अवस्था आउँछ भने उनीहरुले उन्मुक्ति पाउने अवस्था हुँदैन् । यसले दुई चार वटा कुरा र फौजदारी आचारसंहिता आकर्षण हुन्छ ।’

प्रतिक्रिया