विद्यालयमा यौनजन्य दुर्व्यवहारविरुद्ध अन्तरसंवाद

दैलेख । जिल्लाको पश्चिमको आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित जनज्योति माध्यमिक विद्यालयका बालिकाहरूले यौनजन्य दुर्व्यवहार न्यूनीकरणका लागि सचेतनामूलक सामग्रीलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न जोड दिएका छन् ।

दैलेखमा स्वयंसेवक रूपमा सञ्चालित बालिका बचाउ आत्मरक्षक अभियानद्वारा उक्त विद्यालयमा आयोजित यौनजन्य दुव्र्यवहार तथा बलात्कारविरुद्ध अन्तरसंवाद कार्यक्रममा सहभागी बालिकाहरूले यस्तो सुझाव दिएका हुन् । मुलुकभर बालिकाहरूमाथि यौनजन्य दुर्व्यवहारका घटनाहरू बढ्दै गएको बताउँदै विद्यालयमा अध्ययनरत बालिकाहरूले यस्तो घटना अन्त्यका लागि सचेतनामूलक सन्देश सहितका सामग्री विद्यालयस्तरका पाठ्यक्रममा समेट्न सुझाव दिएका हुन् । त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनसमेत उनीहरूले आग्रह गरेका छन् ।

अन्तरसंवादमा अभियानका संयोजक सजना सुनारले यौन हिंसा तथा दुव्र्यवहारबारे जानकारी गराउनुका साथै यौन हिंसा तथा दुव्र्यवहार न्यूनीकरणका लागि अभिभावक, शिक्षक, प्रहरी प्रशासन लगायतका निकायको भूमिकाबारे छलफल गराएका थिए । उनले त्यस्ता घटना हुनसक्ने सम्भावित अवस्थामा कसरी बच्नेबारे सहभागीलाई जानकारी गराएका थिए ।

संयोजक सुनारले बालिकाहरूलाई आत्मरक्षाको अभ्याससमेत गराए । सोही अवसरमा पत्रकार एवं अभियानका सल्लाहकार विशाल सुनारले बालविवाहको असर, कानुनी प्रावधानबारे विद्यालयका बालिकाहरूलाई जानकारी गराएका थिए । अन्तरसंवादमा इलाका प्रहरी कार्यालय राकमकर्णालीका इन्चार्ज विष्णु गिरीले यौनजन्य हिंसा, बलात्कार, बालविवाह लगायतका सामाजिक कुरीति र कुसंस्कारमा कानुनी व्यवस्थाबारे सहभागीलाई जानकारी गराएका थिए ।

त्यसअघि आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले हाम्रो घरछेउका महिला तथा बालिकाहरू हिंसामा परेको भए पनि पीडितलाई पैसामा खरिद गर्ने परिपाटीकै कारण त्यस्ता घटनाहरू बाहिर आउन नसकेको बताइन् । यस्ता घटनाका पीडितहरूलाई आफूले पनि कानुनी उपचारमा अघि बढाएको उनको भनाइ छ । युवा हेमन्त दशौदीले विद्यार्थीलाई कमजोर नहुन आग्रह गरे । विद्यार्थी मुलुकका भविष्यका कर्णधार भएको बताउँदै सामाजिक कुसंस्कार, कुरीतिविरुद्ध सशक्त भएर लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खड्गराज शर्मा, अभियानका सदस्य रेखा थापालगायत सहभागी थिए । ‘यौनजन्य दुव्र्यवहार र बलात्कारविरुद्ध ऐक्यबद्धता, बालिका बचाउन हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित ‘बालिका बचाउ’ आत्मरक्षक अभियानले दैलेखका विभिन्न विद्यालय र समुदायमा बलात्कार र यौनजन्य दुव्र्यवहारको बारेमा जानकारी गराउनुका साथै सुरक्षा निकायको सहयोगमा आत्मरक्षाको अभ्यास गराउँदै आएको छ ।

प्रतिक्रिया