काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट दुई विद्यार्थी संगठनले शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका छन् । आर्थिक वर्ष ०७६/७७ को बजेटमा शिक्षा क्षेत्रमा २५ प्रतिशत छुट्याउन उनिहरूले माग गरेका हुन् ।
शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले सो माग गरेका हुन् । सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियू (क्रान्तिकारी )का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियूका कार्यवाहक अध्यक्ष रश्मि आचार्य सहितको टोलीले कँडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा किटानी गरेको छ । संविधानले कक्षा १२ सम्मको शिक्षा निशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेको छ । विगतमा शिक्षामा १७ प्रतिशतसम्म बजेट विनियोजन भएकोमा अहिले १० प्रतिशत हाराहारीमा झरेको भन्दै नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षा सुदृढीकरण दशक मनाउन लागेको सन्दर्भमा बजेट बढाउनुपर्ने माग गरेका हुन् । विद्यार्थी संगठनहरूले सरकारले माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्नुपर्ने माग गरेका छन् ।
साधारण धारको वर्तमान शिक्षालाई क्रमशः विस्थापित गर्दै प्राविधिक धार बढाउनका लागि दुबै शिक्षालाई आधाआधी हिस्सा ओगट्ने विन्दुमा पु¥याउनु नै उपयुक्त बाटो भएको ज्ञापनपत्रमा उल्लेख छ । उनीहरूले सोही रोडम्यापका लागि शिक्षामा बजेटको प्रतिशतमा वृद्धि अनिवार्य शर्त भएको उल्लेख गरेका छन् । शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेको अनेरास्ववियू (क्रान्तिकारी ) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
प्रतिक्रिया