हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा रहेको धर्मोदय माविमा अध्ययनरत छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै शौचालय पनि छैन । विद्यालयमा भएको शौचालय पनि जीर्ण अवस्था र पानी पनि नहुँदा विद्यार्थीहरू लामो समयदेखि समस्यामा रहेका छन् भने महिनावारी भएका छात्राहरू झनै समस्यामा पर्ने गरेका छन् ।
हाल ३ सय १८ जना विद्यार्थी अध्ययनरत छन । जसमध्ये १ सय ९२ जना छात्राहरूको संख्या छ । प्रायः गरेर कक्षा ६ देखि माथिका छात्राहरूमा महिनाको एकपटक रजस्वला हुन्छ । महिनाको करिव चार दिन उनीहरू विद्यालयमा आउँदैनन् । महिनावारीका कारण महिनाको चार दिनका दरले वर्षमा ४८ दिन छात्राहरू विद्यालय नआउने गर्दा उनीहरूको अध्ययनसमेत प्रभावित हुने गरेको छ ।
प्रधानाध्यापक गंगादत्त जोशीले आजभोलि पनि प्रायःजसो छात्रा महिनावारी भएका वेला विद्यालय नआउने गरेको बताएका छन् । धर्मोदय माध्यमिक विद्यालयमा पानीको व्यवस्था नहुँदा महिनावारी भएका छात्राहरू समस्यामा पर्ने गरेका छन् । विद्यालय सञ्चालनका वेला घरमै महिनावारी भएमा छात्राहरू विद्यालय नै आउँदैनन् भने विद्यालयमा आउँदा महिनावारी भएमा समस्या हुने गरेको छात्रा किसीन बस्यालले बताइन् । विद्यालय आइरहेका वेला शौच गर्नुप¥यो अथवा महिनावारी भइहालेमा छात्राहरूका लागि छुट्टै शौचालयसमेत नहुँदा दौडेर टाढा जानुपर्छ उनले बताएकी छन् ।
कक्षा आठमा पढ्ने केशमी थापाले महिनावारी भएका वेला आफूहरू विद्यालयमा नआउने गरेको र तीन÷चार दिनपछि आउँदा पनि अरू साथीहरू भन्दा छुट्टै बस्ने गरेको बताइन् । महिनावारीका कारण आफूहरूको पढाइसमेत छुट्ने गरेको उनले बताएकी छन् । उनले महिनावारी भएका वेला विद्यालय आउनका लागि विद्यालयमा छात्राहरूका लागि प्याड, शौचालय र शौचालयमा पानीको व्यवस्था गर्नसके मात्र सहज हुने बताइन् ।
विद्यालय भवन पनि जीर्ण अवस्थामा रहेको सो विद्यालयमा बस्नका लागि कक्षाकोठा, डेस्क बेन्च र खानेपानीको समेत सुविधा नहँुदा विद्यार्थीहरूलाई समस्या भएको हो । ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विद्यालयमा शिक्षक दरबन्दी अनुसारका शिक्षक नहँुदा गाउँपालिकाबाट करार शिक्षकको व्यवस्था गरेको बताए । विद्यालयमा हाल पानीको समस्या भइरहेको बताउँदै प्रशासकीय अधिकृत शाहीले पानीको व्यवस्थाका लागि पहल भइरहेको बताएका छन् ।
स्थापनाको ३९ वर्ष पार गरेको विद्यालयमा हालका गाउँपालिकाका अध्यक्ष बागदल मल्ल, नेकपा प्रदेश कमिटी सदस्य शिवराज शर्मा, नेकपा जिल्ला अध्यक्ष लालकेश जैसी, नेविसंघका जिल्ला अध्यक्ष धर्मराज जैसी लगायतका नेताले समेत अध्ययन गरेको यो विद्यालय आफू भने थला परेको छ । हाल गाउँपालिकाका अध्यक्ष बागदल मल्लले यस गाउँपालिकामा बृहत् खानेपानी योजना लागू भइसकेको, विद्यालयको भवन निर्माण यसै वर्ष हुने अवस्थामा रहेकाले अब त्यो समस्या समाधान हुने बताएका छन् ।
प्रतिक्रिया